काठमाडौँ । इजरायल र विद्रोही लडाकू समूहका बीचमा युद्ध विराम गर्ने सहमति भएको छ । सोमबार मध्यरातदेखि लागू हुने गरी युद्ध विरामको सहमति भएको इजरायलका प्रधानमन्त्री याइर लापिडले पुष्टि गरेका हुन् ।
लामो समयदेखि उनीहरूका बीचमा युद्ध चलिरहेको भए पनि पछिल्लो तीन दिन लगातार भिडन्त भएको थियो । भिडन्तमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको थियो । ठूलो क्षति र सर्वत्रको दबाबपछि युद्ध विराम गर्न दुवै पक्ष सहमत भएका हुन् ।
इजिप्टका मध्यस्थकर्ताको सहयोगमा युद्ध विराम भएको खबर थाहा पाएपछि स्थानीय बासिन्दाले खुशीयाली मनाएका छन् । इजरायलबाट भइरहेको आक्रमण रोक्न इजिप्टले पहल गरेर युद्ध विरामको वातावरण बनाएकोमा इस्लामिक जिहादका प्रवक्ताले खुशी व्यक्त गरेका छन् ।
इजरायलले गत सोमबार राति इस्लामिक जिहादका प्रमुख भनिएका बसिम सादीलाई पक्राउ गरेपछि तनाब बढेको थियो । इरानले समर्थन गरेको इस्लामिक जिहाद समूह गाजामा सक्रिय सबैभन्दा बलियो विद्रोही समूह मानिन्छ ।