काठमाडौं महानगरले फुटपाथ व्यापारको दीर्घकालीन व्यवस्थापनतिर ध्यान दिएको छैन। केन्द्र सरकार पनि पटक-पटक फेरबदल भइरह्यो तर फुटपाथ व्यापारीको समस्या भने ज्यूँकात्यूँ रहिरह्यो।
काठमाडौं- गत शुक्रबार काठमाडौं महानगरपालिका-४ महाराजगञ्जमा मकै बेच्दै हिँडेकी एक महिलाको ठेलालाई नगर प्रहरीले नियन्त्रणमा लियो। आफ्नो ठेला प्रहरीले उठाएपछि महिलाले हार गुहार गरिन्। तर, नगर प्रहरीले उनलाई नै सडकमा लछारपछार गर्यो। यस घटनाबाट काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन)को लोकप्रियता ह्वात्तै घटेको छ। सामाजिक सञ्जालमा आलोचनाको पात्र बनेका छन्, बालेन अहिले।
त्यस घटनामा एक पुरुष नगर प्रहरीलाई रोक्न खोज्छन्। तर, नगर प्रहरीले ठेला र केही मकै गाडीमा हालेर लगिछाड्छन्। उल्लेखित दृष्य रहेको भिडियो पत्रकार सृष्टि काफ्लेले ट्विटरमा पोस्ट गरेपछि सामाजिक सञ्जालमा भाइरल बनेको छ। नगर प्रहरीले गरेको ज्यादतीको चौतर्फी आलोचना भइरहेको छ।
सिन्धुपाल्चोक मेलम्ची-१० का चेतेन्द्र आचार्य र उनकी पत्नी सीताले प्रधानमन्त्री निवास बालुवाटारबाट दुई सय मिटर उत्तरको चोकस्थित सडक किनारमा मकै पोल्न र मौसमअनुसारका फलफूल बेच्न थालेको १४ वर्ष भइसक्यो । अरू दिनजस्तै शुक्रबार बिहान पनि प्रधानमन्त्री निवासनजिकै पवित्र वर्कसप चोकमा चेतेन्द्रले चार सय मकै झारे। उनले बिहानभर काँचै मकै बेचे। सानो घोगालाई आठवटाको एक सय र ठूलोको २० रुपैयाँमा बेचे। १२ बजेसम्म एक हजार सात सय रुपैयाँको मकै बेचिसकेका थिए, उनले। भन्छन्, ‘बिहानभरि काँचो मकै बेचे पनि दिउँसो १२ बजेपछि पोलेर बेच्छौं। यहाँ सबै बिक्री नहुने भएकाले पोलेर बेच्न टिचिङ र कान्ति अस्पताल वरिपरि जान्छौं। आजचाहिँ श्रीमती आगो बाल्दै थिइन्, आगो राम्ररी सल्किएको थिएन। त्यही बेला नगर पुलिस आए। पुलिस देखेपछि हस्याङफस्याङ गर्दै गाडा दौडायौं। उनीहरूले लखेटिरहे। हामी बूढाबूढी मात्रै थियौं। नगर प्रहरी र हामीबीच गाडा तानातान भयो। हाम्रो केही सीप लागेन। १२ हजार रुपैयाँमा किनेको गाडा र सबै मकै लिएर गए। परसम्म दौडिँदै गयौं तर पार लागेन।’

प्राण जोगाउन फुटपाथको सहारा
३५ वर्षीय आरती श्रेष्ठले नयाँ बानेश्वरको छक्कुबक्कु पार्क किनारको फुटपाथमा कपडा बेच्न शुरु गरेको करिब १० वर्ष भयो। उनी हरेक बेलुकी ५-६ बजेको आसपासमा कपडा ल्याएर फुटपाथमा पाल ओछ्याई बेच्न बस्छिन्।
आरती तीन सन्तानसहित सासु र श्रीमानका साथ शान्तिनगरमा बस्छिन्। स्थायी घर धादिङ भएकी आरतीले सम्पूर्ण परिवारको खर्च काँधमा बोकेकी छन्। भन्छिन्, ‘बूढी सासु हुनुहुन्छ। श्रीमान् अशक्त। तीन केटाकेटीको लालनपालन सबै जिम्मेवारी आफैंले बेहोरिरहेकी छु। यही फुटपाथकोे सहारा छ। त्यसैमाथि सधैंजसो नगर प्रहरी आएर दुःख दिन्छन्। फुटपाथमा किन पसल चलाएको भन्दै सामान पनि लैजान्छन्। दुःख गरेर फुटपाथमा पसल चलाउनु बाध्यता हो।’
कुनै ठाउँमा सटर भाडामा लिएर पसल चलाउन उनको आर्थिक अवस्थाले दिँदैन। आरती भन्छिन्, ‘फुटपाथमै पसल चलाएर आम्दानी पनि राम्रै भइरहेको छ। केटाकेटीसहित परिवारको सबै आवश्यकता यही फुटपाथले सजिलो बनाइदिएको छ। अब त यही फुटपाथ प्यारो लाग्न थालिसक्यो।’
तपाईंलाई सरकारले फुटपाथ व्यवसायलाई के गरिदियोस्जस्तो लाग्छ भन्ने नेपाली हेडलाइनको प्रश्नमा उनी भन्छिन्, ‘सरकारले फुटपाथ व्यापारीलाई कुनै सुरक्षित ठाउँमा व्यवस्थापन गरिदिए धेरै सजिलो हुन्थ्यो। दिनहुँको नगर प्रहरीको दमन त सहनु पर्दैनथ्यो। हामी फुटपाथ व्यापारीले सधैं प्रहरीको डर र त्रासमा व्यापार गर्नुपरेको छ। कतिबेला प्रहरी आउँछ र सामान जफत गर्छ भन्ने सधैं पिरलो हुन्छ।’
आरतीझैं बर्दियाका राजु बिष्ट पनि बानेश्वर फुटपाथमा ब्यागहरू बेच्छन्। उनी पनि हरेक साँझ ब्याग बोकेको बोरा ल्याएर चोकनजिक राख्छन् र ‘सस्तोमा सस्तोमा ब्यागहरू, छानी छानी लिनुहोस्’ भन्दै ग्राहकको ध्यान आफूतिर तान्न सक्दो ठूलो स्वर निकालेर चिच्याउँछन्। उनले फुटपाथमै व्यापार गरेको करिब १२ वर्ष भइसकेको छ।

‘सटर भाडामा लिएर व्यापार गर्न सक्ने हैसियत भए किन रोडमा कराउँदै बेच्नुपथ्र्यो र,’ राजु जंगिन्छन्, ‘काम नगरी खान पुग्दैन, काम गरौं भने यही फुटपाथको व्यापार छ। यहाँबाहेक कहाँ जानु ? कि सरकारले कुनै ठाउँमा व्यवस्थापन गर्नुपर्यो कि यही फुटपाथमा व्यापार गर्न दिनपर्यो। बाँच्नु त पर्यो नि हामीले पनि।’ राजुको पनि एउटै गुनासो छ, नगर प्रहरीको दमन, अव्यवस्थित सरकार। सरकारले कुनै निश्चित स्थानमा व्यवस्थापन गरिदिए आफूहरू खुशीखुशी उक्त स्थानमा जाने राजुको भनाइ छ।
चेतेन्द्र, आरती र राजु त फुटपाथ व्यापारी प्रतिनिधि पात्र मात्र हुन्। उनीहरू जस्ता कैयौं काठमाडौंका फुटपाथ ढाकेर व्यापार गरिरहेका छन्। र, फुटपाथमा व्यापार गर्ने चलन अहिले समस्या नभएर वर्षौंदेखिको हो। देशकै राजधानी मानिने मुख्य सडकमा रात्रिकालीन फुटपाथ व्यापारले गर्दा सर्वसाधारणलाई हिँडडुलमा सास्ती हुन्छ। हरेक साँझ काठमाडौंको बानेश्वर चोक, आरएनएसी, मैतीदेवी, अनामनगर, कोटेश्वर, गौशाला, कलंकीलगायत क्षेत्रमा रात्रिकालीन व्यापार हुँदै आएको छ। महानगरपालिकाले कागजी रूपमा उपत्यकाभित्र ठेला, डोको, क्रेट र नाङ्लोमा व्यापार गर्न रोक लगाएको भए पनि व्यवहारमा भने उक्त कुरा लागू गरेको देखिँदैन।
नजरअन्दाज गर्दै नगरपालिका
पछिल्लो समय काठमाडौं महानगर सौन्दर्यविहीन बन्दै गइरहेको छ। विगतमा स्वस्थ, सफा हराभरा, खुला काठमाडौं महानगर पछिल्लो समयमा अस्तव्यस्त छ ।
विश्वमा कलाकौशल सांस्कृतिक सम्पदाले भरिपूर्ण भनेर चिनाउने गरेको काठमाडौं पछिल्लो समयमा फुटपाथ पसलको शहर भनेर चिनिन थालेको छ। काठमाडौंको टोल-टोलमा सम्पदाहरू छन् तर पछिल्लो समयमा ती सम्पदा क्षेत्रहरूमा फुटपाथ पसलहरूले अतिक्रमण गरिरहेका छन्। महानगरपालिकाले फुटपाथ पसलहरू हटाउन सकेको छैन। महानगरले पटक-पटक फुटपाथ पसल हटाउन दबाब दिने गरेको भए पनि फुटपाथ व्यापारको दीर्घकालीन व्यवस्थापनतिर ध्यान पुर्याउन सकेको छैन। सरकार समय-समयमा फेरबदल भइरह्यो तर फुटपाथ व्यापारीको समस्या भने ज्यूँकात्यूँ रहिरह्यो।

‘यसभन्दा पहिलेको महानगरले रात्रिकालीन व्यापारको सोच ल्याएको थियो,’ महानगरका प्रवक्ता ईश्वरमान डंगोल भन्छन्, ‘उनीहरूलाई शुक्रबार र शनिबार रात्रिकालीन व्यवसाय गर्न दिने भन्ने योजना थियो। कसरी र कुन स्थानमा व्यवस्थापन गर्दा उपयुक्त हुन्छ भनेर अध्ययन पनि गरिएको थियो। तर, कोरोनाकालका कारण त्यो प्रक्रिया अगाडि बढ्न सकेन।’
उनका अनुसार शुक्रबार र शनिबार दिउँसो २ बजेदेखि ८ बजेसम्म रात्रिकालीन व्यवसाय शुरु गर्ने योजना थियो। कोरोनाभन्दा अगाडि वसन्तपुर आसपास, स्वयम्भु, बौद्ध, चाबहिल स्थानमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने योजना बनेको भए पनि त्यसले पूर्णता नपाएको डंगोलले जानकारी दिए।
एकीकृत समाजवादीबाट काठमाडौं महानगर-१५ का वडाध्यक्ष आफ्नो वडामा छिट्टै रात्रिकालीन व्यवसाय शुरु गराउने योजना बनाएका छन्। ‘पहिले आफूले शुरु गरेपछि अन्यत्र पनि फैलिने अपेक्षा छ। काठमाडौं-१५ को वडाध्यक्षको हैसियतमा स्वयम्भूमा छिट्टै रात्रिकालीन व्यवसाय शुरु गराउँदै छौं,’ डंगोल भन्छन्।