वासिङ्टन- एलन मस्क, जेफ बेजोस, मार्क जुकरबर्गसहितका पाँच सय अर्बपति धनाढ्यहरूले १.४ ट्रिलियन डलर गुमाएका छन्।
एलन मस्कले मात्रै ६२ अर्ब डलर गुमाएका छन्। बेजोसले ६३ अर्ब डलर गुमाएका छन् भने जुकरबर्गले आफ्नो खुद नाफाको आधा सम्पत्ति गुमाएका छन्।
सबै गरी संसारभरका पाँच सयजना धनाढ्यहरूले सन् २०२२ को अर्धवार्षिक कारोबारमा १.४ ट्रिलियन डलर गुमाएका छन्।
कोभिड-१९ महामारी शुरु भएयताका दुई वर्षमा विश्व अर्थतन्त्रको तीव्र गिरावटको यो पछिल्लो कडी हो। सबैजसो मुलुकका सरकार र केन्द्रीय बैंकहरूले अर्थतन्त्र जोगाउन गरेका अनेकौं प्रयासका बावजुद अर्थतन्त्रको ओरालो गति थामिएको छैन। टेक कम्पनीहरूदेखि क्रिप्टोकरेन्सीसम्मका उपाय यसबीचमा अवलम्बन गरिएको छ।
बढ्दो मुद्रास्फिति नियन्त्रणमा राख्न नीति निर्माताहरूले व्याजदर बढाउँदै लगेका छन्। तथापि, अर्बपतिहरूले आम्दानी गुमाउने क्रम जारी छ। एलन मस्कको टेस्लाले जुनसम्मका तीन महिनामा सबैभन्दा बढी आम्दानी गुमाएको छ। अमेजन डट कमको आम्दानी पनि ह्वात्तै घटेको छ।
ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार टेस्लाका सह–संस्थापक मस्कसँग अझै पनि दुई खर्ब आठ अर्ब ५० करोड डलर सम्पत्ति छ। र, उनी संसारका पहिलो धनी व्यक्ति हुन्। यस्तै, एक खर्ब २९ अर्ब ६० करोड डलरसहित अमेजनका मालिक बेजोस दोस्रो स्थानमा छन्।
यस्तै, फ्रान्सका सबैभन्दा धनी बर्नार्ड आर्नोल्ट एक खर्ब २८ अर्ब ७० करोड डलरको सम्पत्तिसहित तेस्रो स्थानमा छन्। चौथो स्थानमा बिल गेट्ससँग एक खर्ब १४ अर्ब ८० करोड डलर सम्पत्ति छ। फेसबुकका संस्थापक जुकरबर्ग ६० अर्ब डलर सम्पत्तिसहित विश्वका धनी व्यक्तिको १७ औं नम्बरमा छन्।
क्रिप्टो पायनियर चाङपेङ चाओले डिजिटल सम्पत्तिमा आएको उथलपुथलका कारण ८० अर्ब डलर गुमाएका छन्। विश्वका अर्बपतिहरूले कोभिड महामारीअघि यति ठूलो धनराशि आर्जन गरेका थिए, जुन पछिल्ला ६ महिनामै भारी परिमाणमा गुमाएका छन्। यो सन् १९७० यताकै ठूलो गिरावट हो।