काठमाडौं– युक्रेनमा शुक्रबार पुनः रुसी क्षेप्यास्त्र आक्रमण भएको छ ।
युक्रेनमा पछिल्लो समय लगातार रुसी क्षेप्यास्त्र आक्रमणका घटना भइरहेका छन् । पछिल्लो घटनामा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ ।
युक्रेनको ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा त्यहाँ रहेका २१ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । घटनामा परी अरु केही घाइते भएको र उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

सेर्हीभ्का भन्ने ठाउँमा रहेको नौ तले भवनमा आक्रमण भएको हो । आक्रमण भएको भवनमा झण्डै एक सय जना बस्दै आएका थिए । त्यो भवन अहिले क्षतिग्रस्त अवस्थामा छ ।
स्थानीय समय अनुसार शुक्रबार राति १ बजे आक्रमण भएको हो । घटनास्थलमा उद्धार तथा खोजी कार्य भइरहेको अधिकारीहरूले जनाएका छन् ।
गत फेब्रुअरीदेखि रुसले युक्रेनमाथि आक्रमण गर्दै आएको छ । आक्रमणका कारण ठूलो जनधनको क्षति भएको छ भने आर्थिक तथा राजनीतिक रुपमा विश्वभरि नै असर परेको छ ।