काठमाडौँ । भारतको पञ्जाब प्रहरीले पञ्जाबी गायक सिद्धु मूसेवाला हत्या प्रकरणमा पुणेका दुई शार्प शुटरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धेश हिरामण काम्बले उर्फ सौरभ महाकाल र सन्तोष जाधव रहेका छन् ।
महाकाललाई गत हप्ता पुणेको ग्रामीण प्रहरीले शहरबाट ९० किलोमिटर टाढा अहमदनगर सीमाबाट पक्राउ गरेको थियो । यसै क्रममा जाधवलाई आइतबार गुजरातको कच्छबाट पक्राउ गरिएको हो ।
उनीसँगै नवनाथ सूर्यवंशी नामका एकजना अपराधीसमेत पक्राउ परेका छन् । हाल तीनै जनालाई जुन २० सम्म पुणे प्रहरीको हिरासतमा राखिएको छ ।
पुणे ग्रामीणको स्थानीय अपराध शाखाको टोलीले पक्राउ गरेका सिद्धेश काम्बले पुणेबाट ७० किलोमिटर टाढा रहेको नारायणगाउँ गाउँपालिका १४ नम्बरका बासिन्दा हुन् । आफन्तका अनुसार उनी १७ वर्षको मात्रै भए पनि प्रहरीले उनी वयस्क अर्थात १९ वर्षको भएको दाबी गरेको छ ।
सिद्धेशलाई मकोका (महाराष्ट्र कन्ट्रोल अफ अर्गनाइज्ड क्राइम एक्ट)अन्तर्गत पक्राउ गरिएको हो । उनीमाथि २०२१ भदौ १ गते मञ्चरको एकलहरे फकिरवाडी क्षेत्रमा दिउँसो भएको ओमकार बाँखेले उर्फ रानिया (२४)को हत्यामा संलग्न रहेको आरोप छ ।
सिद्धेशको उमेर सानै भए पनि उसको गतिविधिका कारण धेरै गाउँले डराउने गरेका छन् । उनलाई ५ राज्य प्रहरीले खोजिरहेको थियो । जसमा महाराष्ट्र, पञ्जाब, दिल्ली, राजस्थान र मध्य प्रदेशका प्रहरी टोली सामेल छन् ।
आमाको आत्महत्यापछि बने अपराधी
सिद्धेशकी आमा सुनिताले ७ वर्षअघि घरायसी विवादका कारण पेट्रोल छर्केर आफैलाई आगो लगाएकी थिइन् । सुनिताले घरबाट भागेर हिरामण काम्बलेसँग विवाह गरेकी थिइन् ।
दुवैका सिद्धेशसहित चार सन्तान छन् । उनीहरु अहिले कहाँ छन् भन्ने कसैलाई थाहा छैन । उनीहरुको पनि प्रहरीले खोजी गरिरहेको छ ।
आमाको मृत्यु हुँदा सिद्धेश १२ वर्ष मात्रै भएका थिए । त्योबेला उनी खामुदीको जिल्ला परिषद् प्राथमिक विद्यालयमा कक्षा ७ मा पढ्दै थिए । आमाको मृत्युपछि उनका बुवा दिनभर मादक पदार्थ सेवन गरेर अपराधीसँग बस्न थाले ।
१० वर्षको उमेरमै अपराध
सिद्धेशका आफन्तका अनुसार उनी सानैदेखि अपराधी भएकाले १० वर्षको उमेरमा घरबाट मोबाइल चार्जर चोरेको अवस्थामा पक्राउ परेको बताए । यसपछि उनले गाली गर्दै घरबाट निकालिदिए ।
मूसेवाला हत्याकाण्डभन्दा एक महिनाअघि उनी आमाको गाउँ खामुण्डी आएका थिए । यस क्रममा उनले केही आफन्तहरूसँग भेट गरेका थिए । उनी केही समय गाउँमा बसेपछि कतै गए ।
सिद्धेशको गोलीमा मूसेवालाको हत्या
सिद्धेशको गोली प्रहारबाट सिद्धु मुसेवालाको हत्या भएको थियो । दिल्ली पुलिसका स्पेशल सीपी एचजीएस धालीवालले सिद्धु मुसेवालाको हत्या गरेको जनाएको छ । यस हत्याकाण्डको मास्टरमाइण्ड लरेन्स बिश्नोई रहेको प्रहरीले जनाएको छ ।
उनै विश्रोइले सलमान खानलाई हत्या गर्ने भन्दै पत्र पठाएको समाचार सार्वजनिक भएको थियो ।