काठमाडौँ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई बुझाउनु पर्ने रकम ३८ अर्ब रुपैयाँ पुगेको छ । असार ९ गतेसम्मको बक्यौता रकम ३८ अर्ब पुगेको निगमले जनाएको छ ।
आईओसीलाई बुझाउनु पर्ने रकम बढेसँगै हरेक हप्ता मूल्य समायोजन गर्नु पर्ने निगमले जनाएको छ । निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बक्यौता रकममा ब्याज लाग्ने भएकाले थप लागत बढ्ने भएकाले हप्ता दिनमा नै मूल्य समायोजन गर्दै जानु पर्ने बाध्यता छ ।’
आर्थिक वर्षको वैशाख मसान्तसम्म निगमलाई करिब ४७ अर्ब घाटा भएको छ । यो रकम असार मसान्तसम्म करिब ६० अर्ब पुग्ने निगमले जनाएको छ ।
पेट्रोलियम पदार्थको खपत कम गरी स्वदेशी ऊर्जाको खपत बढाउन निगमले सबैमा आग्रह गरेको छ । निगमले हिजो मात्रै पेट्रोलिय पदार्थको मूल्य समायोजन गरेको थियो ।
जसअनुसार हाल पेट्रोलमा प्रतिलिटर २४ रुपैयाँ ७० पैसा र डिजेलमा १८ रुपैयाँ नोक्सान छ । त्यस्तै खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ७५१ रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ । मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर १७ रुपैयाँ नाफा रहेको पनि निगमले जनाएको छ ।