काठमाडौँ । भारतीय चर्चित अभिनेता सलमान खानलाई धम्कीपूर्ण पत्र प्राप्त भएको मामलामा मुम्बई क्राइम ब्राञ्चले ठूलो खुलासा गरेको छ ।
मुम्बई क्राइम ब्राञ्च लरेन्सका नजिकका सहयोगी सौरभ महाकालसँग सोधपुछ गर्न पुणे पुगेको थियो । सोधपुछका क्रममा उनले सलमान खानलाई यो पत्र ग्याङ्स्टर लरेन्सको तर्फबाट पठाइएको बताए ।
घटनाको खुलासा भएपछि प्रहरीको ६ टोली देशका विभिन्न स्थानमा पुगेको छ । मुम्बई प्रहरीका अनुसार जेलमा रहेका ग्याङ्स्टर लरेन्सले सलमान खान र उनका बुवा सलिम खानलाई धम्कीपूर्ण पत्र लेखेका थिए । लरेन्स गिरोहका तीन जना राजस्थानको जालोरबाट मुम्बईमा चिठ्ठी छोड्न आएका थिए ।
कालो हरिण शिकार प्रकरणमा लरेन्सले सलमान खानलाई मार्ने षड्यन्त्र रचेको आरोप लागेको थियो । विश्नोई समुदायले कालो हरिणलाई पवित्र मान्ने भएकाले त्यसको शिकार गरेको आरोपमा लरेन्सले सलमान खानलाई मार्ने धम्की दिएका थिए ।
हाल सलमान आफ्नो आगामी चलचित्र ‘कभी इद कभी दिवाली’को सुटिङका लागि हैदरावाद पुगेका छन् । यहाँ उनको २५ दिनको तालिका छ । सलमानको सुरक्षाका लागि चलचित्रको सेटमा प्रहरी टोली पनि खटाइएको छ ।