काठमाडौँ । भारतको पश्चिम बंगालस्थित कोलकाता निवासी २४ वर्षीय फोटो पत्रकार दुर्लभरोय चौधरी नेपाली जेलमा रहेका छन् । नक्कली नोट बोकेको अभियोगमा उनी बिगत सात महिनादेखि झापा कारागारमा थुनामा परेका हुन् ।
उनी गत मंसिर २ गते कोलकाताबाट भारतको सिलिगुडी हुँदै काँकडभिट्टा नाकाबाट नेपाल आउने क्रममा चन्द्रगढी विमानस्थलमा पक्राउ परेका हुन् ।
चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरमार्फत काठमाडौँ जाने क्रममा प्रहरीले शरीर खानतलासी गर्दा चौधरीको साथमा १०० डलरको अमेरिकी नोट फोटोकपी गरिएको २२६ थान (२८ लाख २५ हजार नेपाली रुपैयाँ हुने आउने) बरामद भएको थियो । सोही आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए ।
गत मंसिर २४ गते झापा जिल्ला अदालतमा पेश गरिएपछि उनलाई खोटा मुद्रासम्बन्धी अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश जारी गरिसकेको प्रवक्ता पाठकको भनाइ छ । अदालतको आदेशपछि उनी झापा कारागारमा छन् ।
घरमा आमा मात्र रहेका चौधरी ‘मनी इज नथिङ’ अभियानमा सर्ट मुभी सुटिङ गरी युट्युब च्यानलमा राख्ने प्रयोजनका लागि नेपाल आएका थिए । नेपालको पहाडी पर्यटकीय स्थानको यात्राका लागि आएका उनले झापा जिल्ला अदालतमा दिएको बयानमा उल्लेख छ ।