काठमाडौं- आज ११ नोभेम्बर। विश्व इतिहासका विभिन्न घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९१८- पहिलो विश्वयुद्धको अन्त्य
सन् १९१८ मा आजकै दिन पहिलो विश्वयुद्धको अन्त्य भएको थियो। युद्धलाई औपचारिक रूपमा समाप्त गर्न एक युद्धविराम सम्झौतामा हस्ताक्षर भएको थियो। पहिलो विश्वयुद्धमा १ करोड ७० लाखको ज्यान गएको थियो। यो विश्व इतिहासको सबैभन्दा ठूलो रक्तपात मानिन्छ।
– सन् १९२६- अमेरिकामा क्रमांकित राजमार्गहरूलाई स्वीकृति
उक्त प्रणालीमार्फत अड नम्बरवाला राजमार्गहरू उत्तरबाट दक्षिणतर्फ जान्छन् भने इभन नम्बरवाला राजमार्गहरू पूर्वबाट पश्चिमतर्फ। कम अड नम्बरवाला राजमार्गहरू पश्चिममा छन् भने बढी अड नम्बरका राजमार्ग पूर्वमा पर्छन्। यस्तै, कम इभन नम्बरवाला राजमार्ग दक्षिणमा र बढी इभन नम्बरवाला राजमार्ग उत्तरमा छन्।
– सन् १९६५- रोडिसिया बेलायती पञ्जाबाट मुक्त
तत्कालीन दक्षिण अफ्रिकी मुलुक रोडेसिया आजकै दिन ब्रिटिस पञ्जाबाट मुक्त भएको थियो। अहिले दक्षिणी रोडेसिया जिम्बावेमा पर्छ भने उत्तरी रोडेसिया जाम्बियामा। तत्कालीन रोडेसियालाई श्वेत नेताहरूले ब्रिटेनबाट मुक्ति दिलाएका थिए। १४ वर्ष लामो स्वतन्त्रता आन्दोलन आजकै दिन सफल भएको थियो। पछि ब्रिटेनबाट मुक्त भएको क्षेत्रको नाम बदलेर जिम्बावे नामाकरण गरिएको हो।
– सन् १९७५- अंगोला स्वतन्त्र
दक्षिण-पश्चिमी अफ्रिकी मुलुक अंगोला आजकै दिन पोर्चुगलको अधिनबाट मुक्त भएको थियो। अंगोलामाथि पोर्चुगलले ३०० वर्ष शासन गरेको थियो।
– सन् १९९९- हाउस अफ लड्र्स ऐन पारित
बेलायतमा आजकै दिन हाउस अफ लड्र्स ऐन पारित भएको थियो। उक्त ऐनमार्फत सहकर्मी र वंशाणुगत अधिकारहरूको आधारमा हाउस अफ लड्र्समा स्थान पक्का हुने अधिकार खारेज भएको थियो।
– सन् २०००- रेलमा आगलागी, १६१ को मृत्यु
सन् २००० मा आजकै दिन अस्ट्रियाको एक अल्पाइन सुरुङमा फनिक्युलर रेलमा आगो लाग्दा १६१ जनाको ज्यान गएको थियो। मारिनेमध्ये सबै स्कियर (स्की खेलमा सहभागी) र स्नोबोड्र्सका सदस्यहरू थिए।
– सन् २००१- अफगानिस्तानमा मारिए ३ पत्रकार
सन् २००१ मा आजकै दिन युद्धग्रस्त मुलुक अफगानिस्तानमा तीनजना विदेशी पत्रकारको हत्या भएको थियो। उनीहरू तालिबानले थापेको एम्बुसमा परेका थिए। मारिएका जोहान्ने सुटोन रेडियो फ्रान्स, पियरे बिलाउड फ्रान्सकै आरटीएल रेडियो र भोल्कर ह्यान्डलोइक बर्लिनको म्यागेजिनका रिपोर्टरहरू थिए।
– सन् २०१९- अस्ट्रेलियामा डढेलो संकटकाल
सन् २०१९ मा आजकै दिन अस्ट्रेलियाले देशभर संकटकाल घोषणा गरेको थियो। त्यसको कारण थियो, देशभरका १२० स्थानमा डढेलो फैलिनु। खासगरी, सिडनी क्षेत्रका दुई प्रान्तका जंगलमा डढेलो फैलिएको थियो।
– सन् २०२४- चीनमा कार आक्रमणमा मारिए ३५
सन् २०२४ मा आजकै दिन चीनको दक्षिणी शहर चुहाईमा कारमार्फत गरिएको आक्रमणमा ३५ जनाको ज्यान गएको थियो। चुहाईस्थित एथलेटिक्स रंगशालामा कारबाट आक्रमण गरिएको थियो। उक्त घटना दशकौंयता चीनमा भएको सबैभन्दा खराब हिंसामध्ये एक हो।