काठमाडौं- काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह मेयर निर्वाचित भएका छन्। उनीसँगै उपमेयरमा लोकप्रिय मतका साथ सुनिता डंगोल विजयी भएकी छन्। चुनाव अवधि, मत गणना र विजयसम्मको यो यात्रामा यी दुई युवा उम्मेदवारको जति चर्चा भयो, धेरैको ध्यान अर्का मेयर उम्मेदवार सुमन सायमी र उपमेयरकी प्रत्यासी विद्या श्रेष्ठबारे कमै चर्चा भयो।
यसबीचमा वरिष्ठ पत्रकार, लेखक तथा अभियन्ता नारायण वाग्लले सामाजिक सञ्जालमा लेखे, ‘अत्यधिक आश गरिएका बालेन्द्र शाहले बधाइ पाउँदै गर्दा कसैले भुल्नु हुँदैन- मेयर-उपमेयर उम्मेदवार सुमन सायमी र विद्या श्रेष्ठलाई प्राप्त नौ प्रतिशत स्वतन्त्र मत। यो मत काठमाडौंको रैथाने भूमि, भाषा, संस्कृति, पहिचान मास्ने ‘विकास’विरुद्धको अभिमत हो। त्यो पक्ष यहाँ सुनिनुपर्ने प्रतिपक्ष हो!’
वाग्लेले भनेझैं यो नौ प्रतिशतको मतको गहिराइ विजेता उम्मेदवारको भन्दा बढी छ। मेयरमा पाँचौँ स्थानमा परेका सुमन र उपमेयरमा छैटौं स्थानमा रहेकी विद्याका आफ्नै मुद्दा थिए। र, थिए आफ्नै पहिचान। गुठी आन्दोलनका अभियन्तासमेत रहेका सायमी आफूले महानगरका पीडित व्यक्तिको भोट पाएका बताउँछन्। भन्छन्, ‘व्यक्तिहरू जुन पीडामा आँशु बगाइरहेका छन्, त्यो आँशुको मतमा एउटा-एउटा इँटा राखिएको छ।’ जुन इँटामा जग बसेको छ, त्यो जगमा राजनीति व्यापार होइन, यो सेवा हो भन्ने जग बसेको उनको भनाइ छ।
उनका अनुसार उपत्यकामा भएका समस्यामध्ये सडक विस्तार, गुठीको समस्या, उत्पादनशील भूमिको संरक्षण तथा सांस्कृतिक संरक्षणका विषय छन्। ‘काठमाडौं अव्यवस्थित छ, त्यसका लागि अब आउने पुस्तालाई कुनै ठाउँमा गएर काम गर्न आवश्यक छैन। यहीँ जगमा बसेर काम गरियो भने काठमाडौं व्यवस्थित हुन्छ,’ उनी भन्छन्, ‘उपत्यका विस्थापन हुनबाट जोगिन्छ भन्ने मुद्दामा मैले मत पाएको हुँ।’
‘स्वतन्त्रबाट आइयो। हरेक ३० वर्षमा राजनीतिमा परिवर्तन आउँछ भन्ने गरिएको छ,’ सायमी भन्छन्, ‘जुन परिवर्तन चाहेका थियौं हामीले, त्यही परिवर्तनका लागि जग हालेका छौं। त्यो आज सफल भएको छ।’ आगामी दिनमा छाया मेयरका रूपमा सर्वसाधारणको सेवामा खटिने सायमीको योजना छ।
सायमीको झै भनाइ छ उपमेयरका उम्मेदवारी दिएकी विद्या श्रेष्ठ महर्जनको पनि। भन्छिन्, ‘मैले भोटभन्दा पनि जनताको अभिमतका रूपमा लिएको छु। यो अभिमतले देशमा परिवर्तन हुन्छ। काठमाडौं र सम्पूर्ण नेपालमा युवाले न्यायको पक्षमा लडाईं स्वतन्त्र, एक्लै र झन् सशक्त भएर लड्न सक्छन् भन्ने सन्देश यो अभिमतबाट प्राप्त भएको छ।’ आफूले नितान्त स्वतन्त्र व्यक्तिहरूको अभिमत प्राप्त गरेको विद्याको भनाइ छ।
‘विकासका नाममा यहाँका आदिवासीलगायत महानगरपालिकाका बासिन्दालाई विनाक्षतिपूर्ति विस्थापन गरिएको छ, जसलाई हामी गुरुयोजना भन्छौं,’ उनी भन्छिन्, ‘यसका साथै गुठीलाई पनि राष्ट्रियकरण गरेर गुठीका प्रचलित कानूनलाई राज्यले पटक-पटक नदेखेझैँ गर्ने प्रयास गरिरहेको छ। राज्यको त्यो कदमविरुद्ध पहिले पनि लागिपरेका थियौँ र सधैँ लागिपरिरहन्छौँ।’ यसका साथै उनले जनतालाई पीडा पर्दा जहाँ पनि र जतिबेला पनि आफू निरन्तर सेवाका लागि तत्पर रहने जनाइन्।
‘काठमाडौंलाई मौलिकतासहितको विकासमा अगाडि बढाउन मेरो उम्मेदवारी थियो। काठमाडौं एउटा खुल्ला विश्वविद्यालय हो,’ विद्या भन्छिन्, ‘यसलाई हामीले साइकल सिटी बनाउन सक्यौं भने अझ सफल हुनेछौं। काठमाडौंलाई धूलो, धुँवामुक्त बनाउनुपर्छ। हालको सबैभन्दा ठूलो समस्या फोहोर व्यवस्थापन हो। यस फोहोरलाई मोहरमा कसरी परिणत गर्ने भनेर विज्ञहरूसँग सल्लाह गर्दैछौं। हामीले पाएको अभिमतले छाया मेयर तथा उपमेयरका रूपमा काम गर्ने थप हौसला प्राप्त भएको छ।’
ढुंगेधारा र निःशुल्क पानीको व्यवस्था गर्ने, कला, संस्कृति, सम्पदा भरिएको काठमाडौंको परिकल्पना गरेर आफूले उम्मेदवारी दिएको विद्याको भनाइ छ। आगामी दिनमा जनताको समस्या बुझेर सोहीअनुरुप काम गर्ने सोच उनको छ।
काठमाडौं महानगरको मेयरमा अर्का स्वतन्त्र उम्मेदवार बालेन शाह विजयी भएपछि सँगै देखिएका थिए, सायमी। बालेनलाई धाप मार्दै हौसला दिइरहेका सायमीले आफ्नो मुद्दा केही मात्रामा पूरा हुने अपेक्षा गरे होलान्।
यस्तै, बालेनले पनि आफ्नै प्रतिस्पर्धीलाई साथमा लिएर धन्यवाद ज्ञापन मनाइरहेका छन्। उनले आफूलाई लगाइदिएको माला निकालेर सायमीलाई लगाइदिनसमेत भ्याए। यसले राजनीतिमा नयाँ संस्कारको शुरुवात देखाएको छ। साथै, बालेनले आगामी दिनमा महानगरको विकासका लागि सायमीसँग सहकार्य गर्ने संकेत गरेका छन्।