काठमाडौं- आज २२ अक्टोबर। विश्व इतिहासका विभिन्न पहलुले आजको दिन सम्झाउँछन्। प्रस्तुत छ केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १७९७- प्यारासुटबाट हाम फाल्ने पहिलो व्यक्ति
फ्रान्सका बलुनिस्ट आन्द्रे जाक्स गार्नेरिन प्यारासुट प्रयोग गरी आकाशबाट हाम फाल्ने पहिलो व्यक्ति बनेका थिए। पेरिसको पार्क मोन्सोउमा उनले सिल्क प्यारासुटमार्फत हाम फालेका थिए, जुन उनी आफैंले निर्माण गरेका थिए।
– सन् १८८४- इंग्ल्यान्डको ग्रिनविच लंगिच्युड मेरिडियनको केन्द्र घोषित
अन्तर्राष्ट्रीय मेरिडियन सम्मेलनमार्फत आजकै दिन इंग्ल्यान्डको ग्रिनविचलाई लंगिच्युड मेरिडियनको केन्द्र घोषणा गरिएको थियो। अमेरिकाको वासिङ्टन डीसीमा उक्त सम्मेलन आयोजना भएको थियो।
– सन् १९३६- चीनको लङ मार्च अन्त्य
माओत्से तुङको नेतृत्वमा चिनियाँ लालसेनाले आजकै दिन ६०० माइलको विजय यात्रा अन्त्य गरेको थियो। यसलाई लङ मार्च नाम दिइएको थियो। च्याङ काई-सेक नेतृत्वको राष्ट्रवादी सेनालाई पराजित गर्दै लालसेनाले चिनियाँ शासन कम्युनिस्ट पार्टीको हातमा ल्याएको थियो। लङ मार्चलाई चीनमा तीनवटा सेनाको मिलनका रूपमा पनि चिनिन्छ।
– सन् २००८- भारतको पहिलो चन्द्र मिसन
भारतले आजकै दिन चन्द्रमामा पहिलो मिसन पठाएको थियो। ‘चन्द्रयान-१’ नाम दिइएको उक्त मानवरहित मिसन १४ नोभेम्बर २००८ मा चन्द्रमामा अवतरण भएको थियो। त्यससँगै भारत चन्द्रमामा मिसन अन्तरिक्ष यान पठाउने पाँचौं मुलुक बनेको थियो।
– सन् २०१०- विकिलिक्सको त्यो सनसनीखेज खुलासा
सन् २०१० मा आजकै दिन जुलियस असान्जको विकिलिक्स नामक वेबसाइटले इराक र अफगानिस्तानको युद्धबारे अमेरिकी सरकारका गोप्य सूचना सार्वजनिक गरेको थियो। त्यसबाट संसारभर हलचल मच्चिएको थियो।
– सन् २०२२- इटालीमा पहिलो महिला प्रधानमन्त्री
सन् २०२२ मा आजकै दिन इटालीमा जर्जिया मेलोनी पहिलो महिला प्रधानमन्त्री नियुक्त भएकी थिइन्। धुर दक्षिणपन्थी पार्टी ब्रदर्स अफ इटालीकी नेताका रूपमा उनी प्रधानमन्त्री नियुक्त भएकी थिइन्।
– सन् २०२४- रियादमा क्युब आकारको अग्लो भवन
सन् २०२४ मा आजकै दिन साउदी अरेबियाको राजधानी रियादमा क्युब आकारको अग्लो भवनको निर्माण शुरु गरिएको थियो। ४०० मिटर उचाइको उक्त भवन संसारकै अग्लो हुने अनुमान छ।
– सन् २०२५- ड्रग भेसलमाथि अमेरिकाको घातक आक्रमण
सन् २०२५ मा आजकै दिन अमेरिकाले अवैध लागूऔषध बोकेको ड्रग भेसलमाथि नवौंपटक घातक आक्रमण गरेको थियो। प्रशान्त महासागरमा अवैध लागूऔषध बोकेको पानीजहाजमाथि अमेरिकी सेनाले आक्रमण गरेको थियो। अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले उक्त आक्रमणमा तीन जना मारिएको पुष्टि गरेका थिए।