बझाङ- गाउँका दुःखबाट छुटकारा पाउन सहर पस्नु सफलता ठान्ने समाजमा जयबहादुर बोहरा फरक परिचयका साथ उभिनुएको छ । सहरका महल र सुखसयललाई चटक्क माया मारेर गाउँ फर्किनुभयो । यतिबेला उहाँ कृषिमा पसिना बगाइरहनुभएको छ ।
सुर्मा गाउँपालिका–२ सिमस्याइलका ६२ वर्षीय बोहराले कसैको लहडमा नभई दीर्घकालीन योजनाका साथ कृषि कमैमा होमिनुभएको छ । जीविकाका लागि होइन, साच्चै व्यावसायिक कृषकका रुपमा । धनगढी र बझाङको चैनपुरमा रहेका दुईवटा घर बेचेर गाउँमा फलफूल र तरकारीमा लगानी खन्याइरहनुभएको छ ।
माटो परीक्षण गरेर दुई हजार ४२० मिटरको उचाइमा रहेको बाँझो सिमस्याइल लेकमा विभिन्न प्रजातिका फलफूल, तरकारी र रूख रोपिरहनुभएको छ । गोठालोबाहेक कोही नपुग्ने लेकमा जयबहादुरको कृषि फस्टाउँदो क्रममा छ ।
जयबहादुरको यो असाधारण यात्रा बुझ्न उहाँको पृष्ठभूमिमा फर्कनुुपर्छ । बाल्यकाल हुँदै बैँसको ऊर्जावान् समय भारतको हिमाचल प्रदेशका फलफूलका बगैँचामा बित्यो । विदेशी साहुका बोटबिरूवा गोडमेल गर्ने, मल हाल्ने र स्याउ टिप्ने काम गर्दा गर्दै पाँचदशक बिते ।
उहाँलाई त्यो बीचमा आफ्नै ठाउँमा लगानी गर्ने धोको थियो । “हिमाचलको जस्तै हावापानी, त्यस्तै उचाई भएको सिमस्याइलमा किन लगानी नगर्ने भन्ने सोचले मुर्तरूप पाएको”, उहाँ सम्झनुहुन्छ ।
हिमाचलकै कमाईले धनगढीको फूलबारीमा जमिन किनेर घर निर्माण गर्नुभयो । केही वर्षपछि ऋण निकालेर बझाङ चैनपुरमा अर्काे पक्की घर ठड्याउनुभयो । हिमाचल बस्दै ऋणसमेत तिरेको उहाँ सम्झनुहुन्छ ।
आर्थिक रूपमा ढुक्क हुनुभएका बोहराको मनलाई सहरका कङ्क्रिटका घरले बाँध्न सकेन । एक कठोर निर्णय गर्दै सहरका घर बेचेर गाउँकै माटोमा सुन फलाउने उद्देश्यले पाइला चाल्नुभयो । गाउँ फर्केर कृषि गर्ने जयबहादुरको योजनालाई सुरूमा धेरैले ‘उल्टो बुद्धि’ को सङ्ज्ञा दिए । जयबहादुर बौलायो भन्ने पनि भेटिए । सहयोग गर्ने कम, बरु अवरोध गर्ने भेटिए । तर, आफ्नो लक्ष्यबाट पछि नहटेर धनगढीको ३२ लाख र चैनपुरको घर ७० लाखमा बेचेर सिधैँ लेक पुग्नुभयो । यो एकप्रकारको दुस्साहस नै थियो ।
त्यहाँ उहाँको पुख्र्यौली जमिन त थियो, तर व्यावसायिक खेतीका लागि त्यो पूरा थिएन । छिमेकीको बाँझो जङ्गल नै भइसकेको जमिन किन्ने तयारी गर्नुभयो । जब जयबहादुरको योजना छिमेकीले थाहा पाए, त्यसपछि जग्गाको मूल्य ह्वात्तै बढाइदिए ।
“मेरो योजना दीर्घकालीन थियो, त्यसैले मूल्य बढे पनि मैले हार खाइनँ”, जयबहादुर त्यो बेलाको घटना सम्झँदै भन्नुहुन्छ, “ खेतीयोग्य जमिन थप्न र आफ्नो स्वामित्वमा ल्याउन मैले झण्डै रु २५ लाख जग्गाधनीलाई बुझाउनुप¥यो ।”
जमिन जोडेपछि एकलौटी झण्डै १५ हजार वर्गमिटर (लगभग ३० रोपनी) क्षेत्रफलमा बाख्रापालन सुरू गर्नुभयो । एक सय वटा बाख्राबाट सुरू गरेको व्यवसाय तीन वर्षमै ३५० पुगे । त्यो बेलामा ‘सिम्स्याइल भेडा बाख्रा फर्म’ बाट उत्पादन भएका खसी बोकाले स्थानीय बजार छाएका थिए । त्यही भेडाबाख्रा फार्म नै हो, जयबहादुरको कृषि क्रान्तिको जग बसाल्ने ।
सिमस्याइलको माटोमा निरन्तर जुधिरहेका जयबहादुरको व्यवसायिक यात्रा एक दशकअघिदेखि मात्रै सुरु भएको हो । भेडा ाख्रा एकैपटक बिक्री गरेर नयाँ व्यवसाय सुरू गर्नुभयो– तरकारी र फलफूल ।
स्याउखेतीको विस्तार
गाउँमा स्याउ रोप्ने सोचले बोहरा आफूले काम गरेकै हिमाचलको सोही बगैँचामा पुग्नुभयो । कामदार पनि उद्यमी बन्दैछ भन्ने खबरले मालिक खुसी भए । सोही फार्मबाट सुरूमा रु दुई लाख ५० हजारका २५० बोट ल्याउनुभयो । उन्नत जातका ३०० बोटका लागि रु तीन लाख खर्च गर्नुभयो ।
मङ्सिरको कठ्याङ्ग्रिँदो चिसो, सिमस्याइल लेकमा हिउँपर्ने तरखर हुँदै थियो, त्यतिबेलै उहाँले कामदार लगाएर ठूलाठूला खाल्डा तयार पार्नुभयो । फागुन लागेपछि तिनै ५५० बोट स्याउ रोप्नुभयो र हेरचाहमा लाग्नुभयो ।
मेहनतले तीन वर्षमै फल दिन थाल्यो । अहिले उहाँको बारीमा स्याउका बोटहरू मात्रै ८०० पुगिसकेका छन् । स्याउको बोट हुर्कंदै जाँदा उहाँका सपना फूल्न थालेको छ । स्याउका बोटले मेहनत फलाउँदै छ ।
थानकोटको किबी, दुई वर्षमै रहरलाग्दो आम्दानी
फलफूलमा विविधता ल्याउन काठमाडौँबाट ‘हेवार्ड’ जातको उन्नत किबीका बिरूवा भित्र्याउनुभयो । तीन वर्षअघि माघमा ल्याएका बिरूवा फागुनमा रोप्नुभयो । खुसीको कुरा रोपेको दुई वर्षमै फलेर रु तीन लाख आम्दानी भयो । गत वर्षदेखि उहाँको बगैँचामा किबीका बोटमा लटरम्म फल लाग्न थालेका छन् ।
जयबहादुरले हालै २०० बोट दाँते ओखर रोप्नुभएको छ । ओखरका बोट स्वस्थ रूपमा हुर्किएका छन् । “आउँदो सालदेखि फल दिन सुरू हुन्छ भन्ने आशा गरेको छु”, उहाँले भन्नुभयो । बोहराको बगैँचामा हलुवाबेद, अमिलो जातका मौसमी, कागती, इमिलासहित विभिन्न फलफूल लटरम्म फलेका छन् ।
बगैँचाको छेउछेउमा राइसल्लो र देवदार हुर्कंदै
जयबहादुरको चाहाना केबल तत्कालको नाफा कमाउने होइन । उहाँ यो माटोमा दीर्घकालीन प्राकृतिक सम्पत्ति छोडेर जान चाहानुहुन्छ । “मर्न त सबै मर्छन् । तर, बाँचुन्जेल केही गरेर जाउँ । पछिल्लो पुस्ताले पनि सम्झँने गरी केही फरक गरेर जाउँ भन्ने सोचले लागि परेको छु ।” उहाँ मुस्कुराउँदै सुनाउनु हुन्छ ।
सिमस्याइलमा बहुमूल्य काठ र तेल उत्पादनका लागि विशेष रूख रोप्नुभएको छ । दार्चुला जिल्लाबाट २७० राइसल्लो र भारतको हिमाचलबाटै १७० बोट बहुमूल्य ‘देवदार’ का बिरूवा ल्याएर रोप्नुभएको छ ।
देवदार र राइसल्लो बहुमूल्य काठ र सुगन्धित तेल उत्पादनका लागि निकै महत्वपूर्ण मानिन्छन् । “यो काठ र तेल मेरा लागि मात्र होइन, भोलि आउने पुस्ता र यो गाउँको पर्यावरणका लागि एउटा ठूलो सम्पत्ति हुने विश्वास छ”, उहाँ भन्नुहुन्छ ।
निजी लगानीमा सोलार ‘रस्टिक स्टोर’
एउटा वृद्ध कृषिमा पसिना बगाइरहेको देखेपछि सरकारी निकायको ध्यान तान्यो । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (आलु जोन) जस्ता निकायले जयबहादुरको कामलाई सम्मान गर्दै सहयोगी बने ।
सरकारबाट अहिलेसम्म करिब १० लाख बराबरको अनुदान सहयोग प्राप्त भइसकेको छ । सिमीको बीउ, किबीका बिरूवा, तरकारीखेतीका लागि आवश्यकपर्ने थाग्रा, आधुनिक घेरबार (तारजाली) तथा केही उन्नत जातका फलफूलका बिरूवा अनुदानबाट प्राप्त भए ।
“अनुदानमुखी कृषक हुने ठाउँमा उहाँजस्तो नमुना कृषक बझाङले पाएकामा गौरव महशुस हुन्छ”, कृषि ज्ञान केन्द्र बझाङका प्रमुख जनकबहादुर सिंहले भन्नुभयो, “उहाँजस्तै कृषिमा लगाव हुने अन्य कृषक भइदियो भने कृषि क्षेत्रको मुहार नै फेरिन्थ्यो । सरकारले पनि उहाँजस्तै गरिखाने वर्गलाई अनुदानमा समेट्दै आएको छ । फेरि पनि यस्तै प्रेरणादायी कृषक छनोटमा पर्नेछन् ।”
जयबहादुरले रु १५ लाख बराबरको लगानीमा सिमस्याइलमै एउटा अत्याधुनिक ‘रस्टिक स्टोर’ निर्माण गरिरहनुभएको छ । यो सौर्य ऊर्जा (सोलार) बाट सञ्चालित हुनेछ ।
स्याउ, किबी, आलु र ओखरजस्ता फलफूल लामो समयसम्म नबिग्रेर ताजा रहने र बेसिजनमा पनि बजार पाउने अपेक्षा गरेको उहाँले बताउनुभयो । “अहिले तत्कालै रस्टिक स्टोर बनाउने सोच त थिएन । आलु जोनबाट अनुदान दिने आश्वासन पाएँ र निर्माणको तयारी गरे । पछि जोनले अर्कैलाई अनुदान दिएछ ।” उहाँले दुखेसो सुनाउनुभयो ।
ढुवानीमै जान्छ उत्पादनको आधा मूल्य
जयबहादुरको कृषि फाँट जति लोभलाग्दो देखिन्छ, यसको भित्री सङ्घर्ष र पीडा उति नै कहालीलाग्दो छ । अहिले सुर्मा गाउँपालिकाका लगभग सबै गाउँहरूमा सडक छ । तर, बिडम्वना ! जयबहादुरको यो विशाल सिमस्याइल क्षेत्र भने अझै सडकबाट पूर्ण विमुख छ । गाउँपालिकाको वडा नं २ डोगडीसम्म गाडी पुग्छ । तर, डोगडीबाट जयबहादुरको फर्म पुग्नका लागि करिब दुई घण्टा लामो, उकालो र घना जङ्गलको बाटो हिँड्नुपर्छ ।
सिमेन्ट, बालुवा, इँटा, फलामे डन्डी, सोलार प्यानलजस्ता निर्माण सामग्री डोगडीबाट सिमस्याइल पु¥याउन निकै खर्च गर्नुपर्छ । त्यहाँ उत्पादित सयौँ किलो फलफूल र तरकारी बजार लैजान कामदारलाई महँगो ज्याला दिनुपर्छ । “यो माटोले मलाई कहिल्यै निराश बनाएको छैन । जे रोपे पनि सुनजस्तै फल्छ”, उहाँ भन्नुहुन्छ, “तर बजार पाउन निकै गाह्रो छ । बजार पाइहाले पनि सडकसम्म पुर्याउँदा ज्यालामै आधाभन्दा बढी खर्च हुन्छ ।”