काठमाडौं- आज १ सेप्टेम्बर। विश्व इतिहासका असंख्य घटनाले आजको दिनलाई संसारभर सम्झना दिलाउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १९१४- यात्री परेवा लोप
सन् १९१४ मा आजकै दिन यात्री परेवा धर्तिबाट लोप भएको थियो। मार्था नाम दिइएको उक्त परेवा आफ्नो प्रजातिको अन्तिम सन्तान थियो। अमेरिकाको ओहियोस्थित सिनसिनाटी चिडियाखानामा उक्त परेवाले अन्तिम श्वास फेरेको थियो।
– सन् १९२३- झण्डै डेढ लाखको ज्यान लिएको जापानको भूकम्प
सन् १९२३ मा आजकै दिन जापानमा गएको शक्तिशाली भूकम्पले १ लाख ४२ हजार ८०० जनाको ज्यान लिएको थियो। ७.९ रेक्टरस्केलको भूकम्पका कारण भत्किएका भवनका भग्नावशेषहरूमा पुरिएका ४० हजार जना कहिल्यै भेटिएनन्। यो संसारमा आएका ठूला र विनाशकारी भूकम्पमध्ये एक हो।
– सन् १९७९- शनि ग्रह नजिक पुग्यो ‘पायोनियर-११’
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले निर्माण गरेको ‘पायोनियर-११’ नामक यान सन् १९७९ मा आजकै दिन शनि ग्रह नजिक पुगेको थियो। उक्त यान शनि ग्रहबाट २१ हजार किलोमिटर टाढासम्म पुगेको थियो। केही सातापछि उक्त यानसँग सम्पर्क विच्छेद भयो।
– सन् १९८५- नर्थ एटलान्टिक महासागरमा टाइटानिकको भग्नावशेष
सन् १९८५ मा आजकै दिन नर्थ एटलान्टिक महासागरमा टाइटानिक पानीजहाजका भग्नावशेष फेला परेका थिए। एक फ्रान्सेली-अमेरिकी खोजी समूहले जहाजका टुक्राहरू भेटेको थियो। ब्रिटेनको साउथाम्प्टनबाट अमेरिकाको न्युयोर्क जाने क्रममा टाइटानिक जहाज १४ अप्रिल १९१२ मा समुद्रमा डुबेको थियो। टाइटानिक दुर्घटनालाई समुद्री यातायातको एक ठूलो घटना मानिन्छ। टाइटानिकसँगै त्यसमा सवार १ हजार ५१७ जनाले ज्यान गुमाएका थिए।
– सन् २००४- नर्थ ओसेटियाको नरसंहारमा गयो ३५० को ज्यान
रुसको नर्थ ओसेटियास्थित बेस्लानमा सन् २००४ मा आजकै दिन भएको नरसंहारमा ३५० जनाको नृशंस हत्या भएको थियो। नर्थ ओसेटिया पूर्वी युरोपको नर्थ ककेसस क्षेत्रमा पर्छ। सशस्त्र चेचेन विद्रोहीहरूले एक स्कुलमा स्कुले बालबालिकासहित १ हजारभन्दा बढीलाई बन्धक बनाएका थिए। विद्रोहीहरूले स्वतन्त्र चेचेन्या राष्ट्रलाई अन्तर्राष्ट्रीय मान्यता दिनुपर्ने माग गरेका थिए। बन्धक संकट ३ दिन चल्यो। र, रुसी सैनिकहरूले स्कुलमा आक्रमण गरी बन्धकहरूलाई मुक्त गराएको थियो। सोही क्रममा भएको भिडन्तमा त्यति ठूलो नरसंहार भएको थियो।
– सन् २००८- चीनमा संसारकै अग्लो बुद्ध मूर्ति
सन् २००८ मा आजकै दिन चीनको हेनान प्रान्तको चाओकुन शहरमा संसारकै अग्लो बुद्ध मूर्ति निर्माण सम्पन्न भएको थियो। विरोचन बुद्ध नाम दिइएको उक्त मूर्ति १२८ मिटर अग्लो छ।
– सन् २०१२- अफगान विष्फोटमा गयो १२ को ज्यान
सन् २०१२ मा आजकै दिन अफगानिस्तानको सयद अबाद जिल्लामा भएका दुई आत्मघाति हमलामा १२ जना मारिएका थिए। अन्य ५० जना घाइते भएका थिए। नेटोको आधार शिविरलाई लक्षित गर्दै ती विष्फोट गराइएका थिए।
– सन् २०१४- नालन्दामा शुरु भयो पढाइ
सन् २०१४ मा आजकै दिन भारतको बिहारस्थित नालन्दा विश्वविद्यालयमा आधिकारिक रूपमा अध्ययन-अध्यापन शुरु भएको थियो। विश्वकै पुरानो यो विश्वविद्यालय दशकौंदेखि बन्द थियो। एक बौद्ध मठका रूपमा यो विश्वविद्यालय ४२७ देखि ११९७ सीईसम्म सञ्चालनमा थियो। त्यसयता यसलाई भग्नावशेषमा परिणत गराइएको थियो।
– सन् २०१९- यमनमा मारिए १००
सन् २०१९ मा आजकै दिन अफ्रिकी मुलुक यमनमा गरिएका हवाई हमलामा १०० जनाले ज्यान गुमाएका थिए। साउदी अरेबिया नेतृत्वको सैन्य गठबन्धनले ती हमलाहरू गराएको थियो। खासगरी, धमार शहर आक्रमणबाट तहसनहस भएको थियो।
– सन् २०२०- मंगोलियामा दुर्लभ प्रदर्शन
सन् २०२० मा मध्य एसियाली मुलुक मंगोलियामा इतिहासकै दुर्लभ प्रदर्शन भएको थियो। विद्यालयहरूमा मंगोलियन भाषाको साटो चिनियाँ मन्डारिनमा पठनपाठन सञ्चालन गर्ने सरकारी निर्णयविरुद्ध उक्त प्रदर्शन भएको थियो।
– सन् २०२१- पराना नदीमा पानीको सतह इतिहासकै कमजोर तहमा
सन् २०२१ मा दक्षिण अमेरिकाकै दोस्रो लामो नदी परानामा पानीको सतह इतिहासकै कमजोर तहमा झरेको थियो। लामो खडेरीका कारण उक्त नदीमा ७७ वर्षयताकै कम पानीको बहाव देखिएको थियो। यो नदी ब्राजिल, पाराग्वे र अर्जेन्टिनामा बग्छ।
– सन् २०२५- अफगान भूकम्पमा गयो २२ सयको ज्यान
सन् २०२५ मा आजकै दिन अफगानिस्तानमा गएको विनाशकारी भूकम्पमा परी २ हजार २०० जनाले ज्यान गुमाएका थिए। जलालावाद नजिक केन्द्रविन्दु भएको ६ रेक्टरस्केलको भूकम्पले जनधनको व्यापक क्षति गरेको थियो।