काठमाडौं । सोमबार बिहान करिब ११ बजेतिर राष्ट्रिय सभागृहबाहिर युवायुवतीको एक हुल काठमाडौं उपमहानगरका स्वतन्त्र उम्मेदवार बालेन साहको पक्षमा नारा लगाइरहेको थियो । सोही हुलबीच केही संख्यामा वृद्धहरु पनि थिए, र उनीहरु पनि हौसिएर साहको पक्षमा नारा लगाउँदै थिए ।
बालेन युवामाझ लोकप्रिय छन्, भन्ने धेरैमा भ्रम थियो । तर, सोमबार राष्ट्रिय सभागृहबाहिर देखिएको दृष्यले बालेन युवामाझ मात्र नभइ सबैको मन जित्न सफल भइसकेका छन् भन्ने आभास दिलाउन्थ्यो ।
बालेन उर्फ बालेन्द्र साह । करिब दुई महिनाअघिसम्म यो नाम धेरैले सुनेका थिएनन् । उनको नाम पालिका चुनाव नजिकिँदै गर्दा धेरैले सुने र जिज्ञासा राख्न थाले आखिर को हुन् त बालेन ‘बालेन्द्र’ साह ?
पालिका चुनावमा स्वतन्त्र उठेकामध्ये सबभन्दा धेरै ‘लाइमलाइट’ पाएका उम्मेदवार हुन्, बालेन साह । ३१ वर्षीय बालेनले स्वतन्त्र रुपमा काठमाडौं उपमहानगरको मेयर पदमा उठ्ने घोषणासँगै उनको बारेमा जान्न धेरै जना उत्सुक देखिए । उनको निजी जीवन, उनको पृष्ठभूमि, व्यक्तित्व, व्यवसाय, भिजनलगायतका पाटोलाई धेरैले खोतल्न सफल भए ।
उनी पेशाले इञ्जिनियर । उनको रुचि गीतसंगीतमा पनि छ भन्ने कुरा उनले गाएका केही र्यापहरु हेरेर अनुमान लगाउन सकिन्छ । उनी काठमाडौंबासी माझमात्र नभई उपत्यकाबाहिर, विदेशमा, युवायुवती, अधवैंशे, ज्येष्ठ नागरिक सर्वत्रमाझ लोकप्रिय देखिन्छन् । राजनीतिको ‘र’ पनि नबुझेका भर्खरका स्कूले केटाकेटीहरुले पनि आफ्ना आमाबुवा, दाजुभाइ, हजारवुवा, हजुरआमालाई पालिका चुनावमा ‘लौरो’ चिन्हमा भोट हाल्न कर गरेका छन् ।
काठमाडौंका स–साना समस्या पहिल्याएर समाधानतर्फ बालेनका कदम चलुन् भन्ने चाहना छ
राजधानीमै भेटिने तर अन्यत्रका मतदाता वा सूचीमा नामै नभएका व्यक्तिसमेत छाती फुकाएर सामाजिक सञ्जालमार्फत भन्थे ‘भोट केमा ? लौरोमा ।’ चौतर्फि चर्चा बटुलेअनुसार हाल बालेनको मत पनि सन्तुष्टिजनक नै देखिन्छ ।
वृद्धवृद्धाको नजरमा बालेन
सोमबार बिहान राष्ट्रिय राष्ट्रिय सभागृहबाहिर मत परिणामको पखाईमा थिए, हाडीगाउँका ६२ वर्षीय बलराम नेपाल । उनी अन्य उम्मेदवारभन्दा पनि बालेनको मत परिणाम जान्न बढी उत्सुक देखिन्थे ।
‘बालेन साह व्यवसायिक व्यक्ति हो, व्यवसायिक मान्छेको काम गर्ने तरिका नै बेग्लै हुन्छ, म आफै पनि रिटायर मान्छे हो,’ नेपाल भन्छन्, ‘मान्छेले पछाडि फर्केर हेर्दैनन्, जब अगाडि जान खोजिन्छ, अगाडि जाने बाटोहरु धेरै हुन्छन्, ती बाटाहरुमध्ये उत्तम बाटो कुन हो भनेर पहिल्याउँदा बालेनलाई रोजेको हुँ, उसले कतिको काम गर्न सक्छ अब त्यो हेर्न बाँकी छ ।’
काठमाडौंका स–साना समस्या पहिल्याएर समाधानतर्फ बालेनका कदम चलुन् भन्ने चाहना छ, उनको ।
यो समाचार तयार पार्दासम्म उनले ५० हजार मत कटाएका छन् । अहिलेसम्म एक लाख ५० हजार ७२० भोट गणना भइसक्दा बालेनले ५० हजार ९८ भोट पाएका हुन् । उनलाई नेपाली कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेका छन् । बालेन र सिंहको मतान्तर झण्डै २० हजार रहेको छ । सिर्जनाले ३० हजार ७७४ मत ल्याएकी छन् । एमालेका केशव स्थापित तेस्रो बनेका छन् । हाल ९, १०, १३, १४ १५, २० २१, २२ र २६ नम्बर वडाको मत गणना जारी छ ।
हालसम्मको मत परिणाम हेर्दा बालेन अग्र स्थानमै छन् । मत गणना शुरु हुनुपूर्व बालेनले कोर एरियाबाहेकको भोट काट्छन् भन्ने अड्कलबाजी गरिएको थियो । तर, त्यो अडकल लगभग गलत सावित हुने देखिएको छ । कोर एरियामा पनि बालेनले नै अग्रस्थान कायम गर्न सफल भए ।
अहिले इमान्दारिता मानिस नै छैनन् । मैले पनि बालेनलाई नै भोट हालेँ । किनकी उनी इमान्दार छन्, कुनै दलसँग जोडिएका छैनन् ।
असनकी ६१ वर्षीय लक्ष्मी श्रेष्ठले पनि बालेन साहलाई भोट हालिन् । उनका नातीनातिनीले बालेनको सोच, धारणा र आगामी योजनाबारे जानकारी दिएपछि उनले बालेनलाई भोट हालेको श्रेष्ठ सुनाउँछिन् । भन्छिन्, ‘सबै दलका नेतालाई हेरौँ । कांग्रेस, माओवादी, एमाले सबैले एकलौटी राज्य सञ्चालन गरे । जनताको बारेमा सोचेनन् । आफू र आफ्ना आसेपासेलाई मात्र हित हुने काम गरे । यसबीच जनताका समस्या ज्यूँकात्यूँ नै रहे । बालेन युवा पनि छन् । सोच, विचार पनि राम्रो लागेर भोट दिएकी हुँ ।’
युवामात्र नभई वृद्धवृद्धाले पनि राजनीतिमा परिवर्तन चाहेको बालेनले प्राप्त गरेको पछिल्लो मत परिणामबाट सहजै अनुमान लगाउन सकिन्छ । अनामनगरका ६१ वर्षीय उद्धव खड्का भन्छन्, ‘हामीले कपडा च्यातिएको ठाउँमा टालेर लगाएको ज्यान, अहिले च्यातिएको कपडा लगाउने जमाना आयो । पहिले इमान्दार मानिसहरु थिए । अहिले इमान्दारिता मानिस नै छैनन् । मैले पनि बालेनलाई नै भोट हालेँ । किनकी उनी इमान्दार छन्, कुनै दलसँग जोडिएका छैनन् । त्यसैले उनीबाट हामी उमेर पुगिसकेका व्यक्तिहरुले पनि आशा गरेका छौं । यिनले केही गर्छन् कि ?’
उनका अनुसार स्थानीय, यहाँका रैथाने भनिने बुढापाकाले यहाँका उम्मेदवारलाई नै भोट दिए तर यहाँ भएका युवाजति सबैले बालेनलाई भोट हाले र परिवारका सदस्यलाई पनि भोट दिन कर गरे ।
‘मलाई पनि मेरो छोराले धेरै कर गरेपछि बालेनलाई भोट हालेको हुँ,’ खड्का भन्छन्, ‘एकपटक बालेनलाई भोट हालेर हेरौं । नयाँ मान्छे हो । केही गर्छन् कि भन्ने आशा छ । हामीले काम गर्छु भनेर आएको यसलाई हामी सबै मिलेर काम गर्ने वातावरण मिलाउनु पर्छ । मैले त पञ्चायती शासन, बहुदल, निर्दल, प्रजातन्त्र, गणतन्त्र सबै हेरेँ । सत्तामा जो आए पनि एकलौटी राज मात्र गरे । कांग्रेस, माओवादी, एमाले सबै दललाई पनि हेरियो । अब स्वतन्त्रबाट आएका युवालाई पनि हेरौं भन्ने हो ।’
काठमाडौंमा खासगरी मुख्य समस्या भनेको फोहोर व्यवस्थापनको हो । पानीको समस्या पनि छ । अब आउने काठमाडौं मेयरले ट्राफिक जामलाई पनि व्यवस्थित गरुन् भन्ने वृद्धवृद्धको चाहना छ ।
धापाखेल बस्ने ७० वर्षीय रामशरण पौडेल नातिनीको करमा काठमाडौं महानगरको मत गणनाको सूचना पाउन दिनहुँ राष्ट्रिय सभागृह धाउँछन् । ‘नातिनी कराएको कराएै गर्छे, ‘जा बुवा, बालेनले जित्छन् की हार्छन्’ भनेर, मलाई पनि उत्सुकता जागेर नै यहाँ आइरहेको छु, अहिलेसम्मकोे नतिजा हेर्दा त बालेन नै जित्छन् जस्तो लाग्छ,’ भन्छन्, ‘मैले पनि नातिनीको आग्रहमा बालेनलाई नै भोट हालेको हुँ, छोराछोरीको दबाबमा धेरैले बालेनलाई नै भोट दिएका छन्, यो राम्रो पनि हो, सबैले परिवर्तन खोजेका छन् ।’
पौडेल थप्छन्, ‘स्थापितलाई पनि धेरैले भोट हाल्ने सम्भावना थियो, तर उनको व्यवहार जनतालाई मन परेन, स्थापितको व्यवहार राम्रो नभएर नै जनताले उसलाई भोट नदिएका हुन्, चिरपरिचित व्यक्तिले जे मनमा लाग्यो त्यही बोल्दै हिँडेको यहाँका जनताले रुचाएनन् ।’
‘गठबन्धनलाई तोडेर, एमालेलाई छाडेर एमालेलाई भोट हालेको छु,’ नाराबाजी भइरहेको भिडबाट एक वृद्धले भने, ‘एमालेबाट देशलाई अग्रगतिमा लैजान सुरसार नै देखिएन, उनीहरू आफ्नै स्वार्थ पूर्ति गर्नतिर लागे । पाँच वर्षको कार्यकालमा एमालेले मन लाग्दो तरिकाले प्रतिनिधिसभा विगटन गर्यो, राष्ट्रपतिले पनि ओलीबाले जे सिकायो त्यही गर्नतिर लाग्नुभयो, हामीले त्यो कारणले एमालेलाई छोडेको हो, कांग्रेस पनि त्यस्तै भयो ।’ उनको चाहना काठमाडौंमा बालेन साहले सडक राम्रो बनाइदिए हुन्थ्यो भन्ने छ ।
अब देशको विकासका लागि युवा अगाडि आउन आवश्यक छ । पुरानो सत्तालाई हटाएर नयाँ सत्ता अबका युवाले कायम गर्नु पर्छ ।
स्वयम्भूका देवेन्द्र पुडासैनी ६७ वर्ष पुगे । उनले पनि बालेन शाहलाई भोट हाले । भन्छन्, ‘हालको सबै नेता बुढा भएका छन्, तपाईंहरु विश्राम गर्नुहोस्, अब पालो युवालाई दिनुहोस् भनेर बालेनलाई भोट हालेको हुँ ।’
उनले युवाशक्ति नभई देश नबन्ने बताए । अब देशको विकासका लागि युवा अगाडि आउन आवश्यक छ । पुरानो सत्तालाई हटाएर नयाँ सत्ता अबका युवाले कायम गर्नु पर्छ । काठमाडौंका सामान्यभन्दा समस्या समाधान गर्न लाग्नु पर्छ । अबको आउने राजनीति स्वतन्त्र हुन्छ भन्नेमा उनी आशावादी देखिन्छन् ।
त्यस्तै वडा नम्बर ३२ का ६० वर्षीय दण्डप्रसाद त्यागी पनि अन्य वृद्धले झै बालेनलाई मत दिनुको कारण खुलाउँछन् । उनी भन्छन्, ‘म बिरामी भएर पनि स्वतन्त्र उम्मेदवार बालेन साहलाई भोट माग्दै हिँडेको थिएँ, उहाँको बोली, बचन, भिजन देखेर म बालेनको पक्षमा लागेँ, बिना दलको मान्छे, दलहरुमा टिकटको बार्गेनिङ हुँदो रहेछ, तर स्वतन्त्र उम्मेदवार त्यो कुराबाट टाढा छ, कति ठाउँमा भोट किनिएको छ, तर स्वतन्त्र उम्मेदवारलाई स्वइच्छाले भोट दिइएको छ ।’
एक इञ्जिनियर एवं र्यापरको पहिचान बनाएका बालेन साहले अहिले जितको नजिक पुगेका छन् । काठमाडौंमा बालेनको उदय नेपाली राजनीतिको सामान्य घटना होइन । यो वर्तमान राजनीतिमा आवश्यकता हो । यसको सकारात्मक सन्देश देशभर फैलिएको छ ।
बालेनका कारण नयाँ पुस्ताले राजनीतिमा चासो देखाएका छन् । आशा गरेजस्तो बालेनले काम गरेर देखाउँदा युवा पुस्ता उनीबाट प्रेरित हुने छन् । किनकी देशका हरेक जनताले राजनीतिमा परिवर्तन चाहेका छन् । देश विकास चाहेका छन् ।