काठमाडौं- आज ३० अगस्ट। विश्व इतिहासका असंख्य घटनाले आजको दिनलाई संसारभर स्मरण गराउँछन्। प्रस्तुत छ, इतिहासमा आजको दिन भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १९१८- लेनिनको हत्या प्रयास
तत्कालीन सोभियत संघका नेता भ्लादिमिर लेनिनमाथि आजकै दिन घातक आक्रमण भएको थियो। दोस्रोपटक उनको प्राण लिने उद्देश्यले भएको गोली प्रहारबाट उनी बचेका थिए।
– सन् १९६३- वासिङ्टन र मस्कोबीच पहिलो टेलिफोन हटलाइन
सन् १९६३ मा आजकै दिन अमेरिका र तत्कालीन सोभियत संघका राजधानी वासिङ्टन र मस्कोबीच टेलिफोन हटलाइन शुरु गरिएको थियो। शीतयुद्धमा होमिएका दुई मुलुकबीच सीधा सञ्चारको व्यवस्था गर्नुको कारण दुवै देश क्युबा मिसाइल संकटका कारण लगभग सक्रिय आपसी युद्धमा होमिने संघारमा उभिनु थियो। तथापि, उक्त हटलाइनको प्रयोग सन् १९६७ मा ६ दिनसम्म मात्र गरिएको थियो। कारण थियो- त्यतिबेला शुरु भएको अरब-इजरायल युद्ध।
– सन् १९९१- अजरबैजान सोभियत संघबाट अलग
सन् १९९१ मा आजकै दिन अजरबैजानले तत्कालीन सोभियत संघबाट अलग भएको घोषणा गरेको थियो। उक्त मध्य एसियाली मुलुक सन् १९२० मा तत्कालीन सोभियत संघमा विलय भएको थियो।
– सन् २०१२- सियरालियोनको त्यो झाडापखाला संकट
सन् २०१२ मा पश्चिम अफ्रिकी मुलुक सियरा लियोनमा झाडापखालाले महामारीकै रूप लिएको थियो। त्यसमा परी ३९२ जनाले ज्यान गुमाएका थिए। अन्य २५ हजार बिरामी परेका थिए।
– सन् २०१७- इर्माले लियो १०२ को ज्यान
सन् २०१७ मा आजकै दिन शुरु भएको समुद्री तुफान इर्माले अमेरिकामा आतंक मच्चाएको थियो। त्यसमा परी १०२ जनाले ज्यान गुमाएका थिए। केप भर्डे द्विप नजिकबाट शुरु भएको तुफानले खासगरी अमेरिकाको फ्लोरिडा राज्यमा बढी क्षति गरेको थियो।
– सन् २०१७- बंगलादेश, नेपाल र भारतमा बाढीबाट १२०० को मृत्यु
सन् २०१७ मा नेपाल, भारत र बंगलादेशमा बाढीबाट १ हजार २०० भन्दा बढीको ज्यान गएको थियो। एकसाथ परेको मुसलधारे वर्षापछि आएको बाढीले ६ लाख ९७ हजार घरमा क्षति पुगेको थियो।
– सन् २०२१- अफगानिस्तानबाट अमेरिकाको अराजक फिर्ति
सन् २०२१ मा आजकै दिन अफगानिस्तानबाट अमेरिकाको अन्तिम सैन्य टुकडी फिर्ता भएको थियो। त्यसलगत्तै तत्कालीन अफगान राष्ट्रपति असरफ घानी देश छाडेर भागेका थिए। र, तालिबानले सत्ताकब्जा गरेको थियो।
– सन् २०२१- चीनका बालबालिकालाई ‘गेम’ खेल्न प्रतिबन्ध
सन् २०२१ मा आजकै दिन चीन सरकारले १८ वर्षमुनिका बालबालिकालाई अनलाइन गेम खेल्न प्रतिबन्ध लगाएको थियो। शुक्रबार, सप्ताहन्त र सार्वजनिक विदाका दिनमा एक घण्टा मात्र अनलाइन गेम खेल्न पाउने व्यवस्था सरकारले गरेको थियो।
– सन् २०२२- मिसिसिपीमा चरम पानी संकट
सन् २०२२ मा अमेरिकाको मिसिसिपीस्थित ज्याक्सनमा चरम पानी संकट देखिएको थियो। त्यहाँको सबैभन्दा ठूलो ट्रिटमेन्ट प्लान्टमा समस्या आएपछि १ लाख ५० हजार जनसंख्या संकटमा परेको थियो। पानीको संकटकै कारण स्कुलहरू र व्यापार-व्यवसाय बन्द भएका थिए।
– सन् २०२५- प्रशान्त महासागरमा ३ भाइको १४० दिन
सन् २०२५ मा आजकै दिन स्कटल्यान्डका म्याकलिन ब्रदर्सहरू इभान (३२ वर्ष), जेमी (३१ वर्ष) र ल्याकलन (२७ वर्ष) झण्डै १४० दिनपछि डुंगामा अस्ट्रेलियाको केन्ज पुगेका थिए। उनीहरूले पेरूको राजधानी लिमाबाट प्रशान्त महासागरको यात्रा शुरु गरेका थिए। र, १३९ दिन ५ घण्टा ५२ मिनटमा अस्ट्रेलियाको तटमा पुगेर नयाँ रेकर्ड कायम गरेका थिए।