काठमाडौं- आज ५ अगस्ट। विश्व इतिहासका असंख्य घटनाले आजको दिन संसारभर स्मरण गराउँछन्। प्रस्तुत छ, आज भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १९६३- परमाणु परीक्षणमा आंशिक प्रतिबन्ध लगाउने सन्धि
सन् १९६३ मा आजकै दिन तत्कालीन सोभियत संघको राजधानी मस्कोमा परमाणु हतियार परीक्षणमा आंशिक प्रतिबन्ध लगाउने सन्धिमा हस्ताक्षर भएको थियो। उक्त सन्धिमा अमेरिका, सोभियत संघ र बेलायतका नेताहरूले हस्ताक्षर गरेका थिए। जल, जमिन र आकाश सबैतिर परमाणु हतियार परीक्षण गर्न उक्त सन्धिले प्रतिबन्ध लगाएको थियो।
– सन् १९६२- नेल्सन मन्डेला समातिए
दक्षिण अफ्रिकाका प्रजातन्त्रवादी नेता स्वर्गीय नेल्सन मन्डेलालाई त्यहाँको रंगभेदी श्वेत सरकारले आजकै दिन पक्राउ गरेको थियो। जोहानेसबर्गबाट समातिएका मन्डेलालाई रोबेन टापुमा कैद गरिएको थियो। सोही टापुमा मात्र उनलाई १८ वर्ष कैद गरियो। सन् १९९० मा दक्षिण अफ्रिकामा श्वेत शासनको अन्त्य भयो र २८ वर्ष लामो कैदबाट मन्डेला मुक्त भए। प्रजातन्त्र स्थापनापछि उनी त्यहाँका राष्ट्रपति निर्वाचित भएका थिए। ५ डिसेम्बर २०१३ मा उनको निधन भयो।
– सन् १९१४- विश्वको पहिलो विद्युतीय ट्राफिक लाइट
सन् १९१४ मा आजकै दिन अमेरिकाको क्लिभलाइन्ड, ओहायोमा विश्वको पहिलो विद्युतीय ट्राफिक लाइट जडान गरिएको थियो। उक्त ट्राफिक लाइटमा रातो र हरियो बत्ति बल्ने व्यवस्था मात्र थियो। पहेंलो बत्ति बल्ने सुविधा पछि मात्र ट्राफिक लाइटमा जडान गरिएको हो।
– सन् २०२२- भोक्सवागनको उड्ने कार
सन् २०२२ मा आजकै दिन भोक्सवागन कम्पनीले पहिलो उड्ने कार सार्वजनिक गरेको थियो। उक्त यात्रीवाहक विद्युतीय कारलाई ‘फ्लाइङ टाइगर’ उपनाम दिइएको थियो।
– सन् २०१९- कश्मीरलाई बनाइयो केन्द्र शासित प्रदेश
सन् २०१९ मा आजकै दिन भारत प्रशासित कश्मीरलाई राज्यको दर्जाबाट हटाएर केन्द्र शासित प्रदेश घोषणा गरिएको थियो। संविधानको आर्टिकल-३७० बाट कश्मीरलाई मुक्त गर्दै केन्द्र शासित प्रदेश बनाइएको थियो। कश्मीरमा वर्षौंदेखि जारी हिंसा अन्त्यका लागि उक्त कदम चालिएको दाबी नरेन्द्र मोदी सरकारले गर्दै आएको छ। तथापि, कश्मीरमा हिंसा अद्यापि कायम छ।
– सन् २०१८- इन्डोनेसिया भूकम्पमा गयो ४६० को ज्यान
सन् २०१८ मा आजकै दिन इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी ४६० जनाको ज्यान गएको थियो। ६.९ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु लोम्बोक टापुमा रेकर्ड भएको थियो। उक्त भूकम्पका कारण ३ लाख ५० हजारजनाले आफ्नो थातथलो छाडेर विस्थापित हुनु परेको थियो।
– सन् २०१५- फिसिङ बोट समुद्रमा डुब्दा २२७ मारिए
सन् २०१५ मा आजकै दिन लिबियाको समुद्री तटमा माछा मार्न प्रयोग हुने एक फिसिङ बोट डुब्दा २२७ जनाको ज्यान गएको थियो। उक्त फिसिङ बोटमा ६०० जना आप्रवासी सवार थिए। तीमध्ये ३७३ जनाको उद्धार गरिएको थियो।
– सन् २०१५- बाढीबाट भारतमा मारिए १७८
सन् २०१५ मा आजकै दिन भारतमा बाढीमा परी १७८ जनाले ज्यान गुमाएका थिए। समुद्री तुफान कोमेनका कारण भएको मुसलधारे वर्षापछि आएको बाढीमा उनीहरू मारिएका थिए।
– सन् २०२४- ड्रोन आक्रमणमा मारिए २०० रोहिंग्या
सन् २०२४ मा आजकै दिन म्यानमारको सैनिक सरकारले रखाइन नामक राज्यमा ड्रोन आक्रमण गरी रोहिंग्या मुसलमान समुदायका २०० जनाको हत्या गरेको थियो। जसको विश्वव्यापी आलोचना भएको थियो।
– सन् २०२४- देश छाडेर भागिन् हसिना
सन् २०२४ मा आजकै दिन बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद देश छाडेर भागेकी थिइन्। आक्रोसित बंगलादेशी नागरिकहरूले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवासलगायत महत्त्वपूर्ण सरकारी संरचना कब्जा गर्न थालेपछि उनी प्रधानमन्त्री पदबाट राजीनामा दिई देश छाडेर भाग्न बाध्य भएकी थिइन्।