कैलाली । कैलालीको गेटास्थित मोहना–अत्तरिया छ लेन सडकसँगै रहेको गोदावरी नगरपालिका ५ गेटीमा रहेको शहीद संघारी भीमदत्त पन्त सामुदायिक वन परिसरमा आइतबार शहीद भीमदत्त पन्तको शालिक अनावरण गरिएको छ।
भीमदत्त पन्तको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यले सहिद दशरथ चन्द विश्वविद्यालय, गेटा मेडिकल कलेजको अगाडि रहेको सामुदायिक वन क्षेत्रमा शालिक निर्माण गरिएको हो।
शहीद संघारी भीमदत्त पन्त सामुदायिक वनका पदाधिकारीहरूले शहीद पन्तले राष्ट्र र लोकतान्त्रिक आन्दोलनका लागि पुर्याएको योगदानलाई भावी पुस्तासम्म स्मरणीय बनाउने उद्देश्यले शालिक स्थापना गरिएको बताएका छन्।
उक्त शालिक अनावरणसँगै स्थानीयवासी, सामाजिक अगुवा तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले शहीद पन्तप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको त्याग र योगदानको उच्च सम्मान गरेका थिए।
सामुदायिक वन परिसरमा निर्माण गरिएको शालिकले अब यस क्षेत्रलाई ऐतिहासिक तथा प्रेरणादायी स्थलका रूपमा थप परिचित बनाउने अपेक्षा गरिएको छ।
