कैलाली । सुन्दर सुदूरपश्चिम यातायात प्रालिले धनगढी–पोखरा नयाँ रुटमा भिआइपी सोफा सुविधासहितको ‘राज सफारी एक्सप्रेस’सेवा आजदेखि सञ्चालनमा ल्याएको छ।
प्रालिका अध्यक्ष पदमराज सापकोटाको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सुदूरपश्चिम संयोजक टेकराज जोशीले रिबन काटेर सेवाको औपचारिक शुभारम्भ गरेका हुन्।
यसअघि प्रालिले धनगढी–बुटवल–स्याङ्जा हुँदै पोखरासम्म स्तरिय बस सेवा सञ्चालन गर्दै आएको थियो। यात्रुको बढ्दो माग, सहजता र समयानुकूल यात्रालाई मध्यनजर गर्दै अब धनगढी–बुटवल–नारायणघाट–मुग्लिङ हुँदै पोखरासम्म ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा ल्याइएको प्रालिले जनाएको छ।
नयाँ सेवामा आरामदायी भिआइपी सोफा सिट, सुरक्षित तथा गुणस्तरीय यात्रा, अनुभवी चालक तथा यात्रुमैत्री सेवा उपलब्ध गराइने प्रालिले जनाएको छ। एक्सप्रेस सेवाका बसमा व्यवसायी असिम पौडेल र हेमन्त मल्लको लगानी छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सुदूरपश्चिम संयोजक टेकराज जोशीले यात्रुको आवश्यकता र अपेक्षाअनुसार सार्वजनिक यातायात सेवामा निरन्तर सुधार आवश्यक रहेको बताए।
उनले यात्रुको सुविधा, सुरक्षा र सेवाको गुणस्तरलाई प्राथमिकतामा राखेर सञ्चालन गरिने यस्ता स्तरिय सेवाले सार्वजनिक यातायातप्रति यात्रुको विश्वास अझ बलियो बनाउने बताउदै सुन्दर सुदूरपश्चिम यातायात प्रालिको यो प्रयास सम्पूर्ण यातायात क्षेत्रका लागि सकारात्मक उदाहरण बन्ने विश्वास लिएको बताए ।
प्रालिका अध्यक्ष पदमराज सापकोटाले यात्रुलाई आधुनिक, सुरक्षित र आरामदायी सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ रुटमा सेवा विस्तार गरिएको बताए।
उनले हामी केवल गन्तव्यसम्म पुर्याउने मात्र होइन, यात्रुलाई गुणस्तरीय र विश्वासिलो यात्रा अनुभव प्रदान गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए ।
आगामी दिनमा पनि यात्रुको सुझावलाई आत्मसात गर्दै सेवा अझ परिष्कृत र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष सापकोटाले निकट भविष्यमा बाग्लुङ सम्मको सेवा बिस्तार गरिने बताए ।
कार्यक्रममा यातायात व्यवसायी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।
