काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भागमा साधारणतया बादल तथा तराई भेगमा आंशिक बादल लागेको छ। कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।
विभागका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि साधारणतया बादल लाग्नेछ।
मधेश तथा कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा तथा पहाडी भेगगका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ।
देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थान, मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भेगका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई इलाकाका पनि एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।