काठमाडौं- आज २० जुन। विश्व इतिहासका असंख्य घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिनको सम्झना ताजा गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १८३७- भिक्टोरिया बनिन् ब्रिटेनकी महारानी
१८९ वर्षअघि आजकै दिन भिक्टोरिया तत्कालीन ग्रेट ब्रिटेनकी महारानी बनेकी थिइन्। उनले ६४ वर्ष ब्रिटेनमा शासन गरिन्। उनको शासनकालमा ब्रिटेन संसारको सबैभन्दा शक्तिशाली बनेको थियो। पृथ्वीको ठूलो भागमा ब्रिटेनको कब्जा थियो। २२ जनवरी १९०१ मा ८१ वर्षको उमेरमा महारानी भिक्टोरियाको निधन भयो।
– सन् १९६३- ‘रेड टेलिफोन’ स्थापित
सन् १९६३ मा आजकै दिन ‘रेड टेलिफोन’ स्थापित गरिएको थियो। क्युबामा मिसाइल संकट देखिएपछि अमेरिका र तत्कालीन सोभियत संघबीच हटलाइन संवादका लागि उक्त व्यवस्था गरिएको थियो। त्यतिबेला दुई महाशक्तिबीच टेलिटाइप र फ्याक्समार्फत सूचना आदानप्रदान गरिन्थ्यो। आजको दिनमा भने ती प्रणालीलाई इमेलले विस्थापित गरेको छ।
– सन् १९९१- बर्लिनमा सारियो जर्मनीको संसद
पूर्वी र पश्चिमी जर्मनीको अस्तित्व कायम रहुन्जेल पश्चिमको राजधानी बोनमा रहेको संसद आजकै दिन बर्लिनमा सारिएको थियो। बोन पश्चिम जर्मनीको राजधानी थियो। दुई जर्मनीबीच एकीकरण भएपछि राजधानी पनि बर्लिनलाई कायम गरिएको थियो।
– सन् २०१५- हिटवेभमा मारिए २ हजार पाकिस्तानी
सन् २०१५ मा पाकिस्तानमा हिटवेभमा परी २ हजारजनाले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको थियो। खासगरी, पाकिस्तानको दक्षिणी क्षेत्र बढी प्रभावित भएको थियो। जल वियोजन (डिहाइड्रेसन) र तातो हावा ‘लू’का कारण उनीहरूको ज्यान गएको थियो।
– सन् २०२०- संसारकै चिसो ठाउँमा सर्वाधिक तापक्रम
सन् २०२० मा आजकै दिन रुसको साइबेरिया क्षेत्रस्थित आर्कटिक सर्कलमा हालसम्मकै सर्वाधिक ३८ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो। उक्त क्षेत्रलाई संसारकै चिसो ठाउँ मानिन्छ। रुसको भेर्खोयान्स्क क्षेत्रमा हालसम्मकै सर्वाधिक गर्मी रेकर्ड भएको थियो।
– सन् २०२४- ३३ सय वर्ष पुरानो पानीजहाजको अवशेष
सन् २०२४ मा आजकै दिन ३३ सय वर्ष पुरानो पानीजहाजको अवशेष समुद्रमा भेटिएको थियो। उक्त पानीजहाज कास्य युगको अन्त्यतिरको भएको वैज्ञानिकहरूले बताएका छन्।
– सन् २०२४- एड्सका बिरामीलाई लेनकापाभिर प्रभावकारी
सन् २०२४ मा लेनकापाभिर नामक औषधि एचआईभी/एड्सका बिरामीको उपचारमा प्रभावकारी देखिएको थियो। एड्स पीडित अफ्रिकी महिलाहरूमा गरिएको परीक्षणमा उक्त औषधि शतप्रतिशत प्रभावकारी देखिएको थियो।