जटिल आर्थिक र राजनीतिक संकटबीच रनिल बिक्रमासिंघे श्रीलंकाको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। उनी सामु सबैभन्दा ठूलो चुनौतिको पहाड खडा छ, चरम आर्थिक संकट।
उनले छैटौंपटक श्रीलंकाको प्रधानमन्त्रीको पद सम्हालेका हुन्। उनी श्रीलंकाको राजनीतिमा अहम् स्थान राख्छन्।
तथापि, पछिल्लो संसदीय निर्वाचनमा उनको युनाइटेड नेसनल पार्टीको अप्रत्यासित हार भएको थियो, एक सिटमा पनि जित हासिल भएको थिएन। त्यसका बावजुद संसदीय सदस्यताको राष्ट्रिय सूचीमा उनको पार्टीले एक सिट पाएको थियो। सोही एक सिटको आधारमा २२६ सिटको संसदमा उनी सक्रिय थिए। र, त्यही एक सिटले श्रीलंकालाई अभूतपूर्व संकटबाट पार लगाउने जिम्मा उनले पाएका छन्।
हालै पदबाट राजीनामा दिएका निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेले उनले ट्विटरमार्फत बधाइ दिएका छन्। उनले लेखेका छन्, ‘नवनियुक्त प्रधानमन्त्रीलाई बधाइ। यस मुस्किल घडीबाट देशलाई चलाउन तपाईंलाई शुभकामना।’