• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

आफ्नै नीतिमा चलेका सय नगरपालिका, जसले जनहितमा गरे उत्कृष्ट काम


शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित

नगरपालिकाहरूले अनावश्यक स्थानमा रकम खर्च गरिरहेको बताउँदै चौतर्फी आलोचना भइरहेको छ। तर, केही त्यस्ता नगरपालिका पनि छन्, जसले उदाहरणीय काम गरिरहेका छन्।

Advertisement

 

काठमाडौं-पाँच वर्षमा काभ्रेको पाँचखाल नगरपालिकाले आफ्नो नगरलाई प्रविधि मैत्री बनाउने प्रयास गर्‍यो। सार्वजनिक महत्त्वका सूचनाहरूलाई एलईडी डिस्प्लेको माध्यमबाट सार्वजनिकीकरण गर्दै नगरवासीलाई नगरपालिकाले जानकारी दिइरहेको छ।

नगरपालिका भवन तथा नगरपालिका केन्द्र रहेको मुख्य बजारको सुरक्षालाई मध्यनजर गर्दै सीसीटीभी जडान गरी नगरवासीको सुरक्षा तथा नगरपालिका भवन वरपर हुने सम्भाव्य क्रियाकलापहरूप्रति निगरानी बढाउँदै सुरक्षाको प्रत्याभूति गराउने उदाहरणीय काम गरेको छ, यो नगरपालिकाले।

पछिल्लो समय नगरपालिकाहरूले अनावश्यक स्थानमा रकम खर्च गरिरहेको बताउँदै चौतर्फी आलोचना भइरहेको छ। तर, केही त्यस्ता नगरपालिका पनि छन्, जसले उदाहरणीय काम गरिरहेका छन्। तीमध्ये पाँचखाल नगरपालिका पनि एक हो। पाँचखालझैं देशभरका एक सय नगरपालिकाले पनि नगर विकासका लागि कदम चालिरहेका छन्।

(२) सबैको मन तान्दै ‘अटो भिलेज’

तुलसीपुर उपमहानगरपालिका दाङको पातुखोला बगरको किनारमा गाडीहरू व्यवस्थित रूपमा मर्मत गराइरहेको छ। उपमहानगरपालिकाले सार्वजनिक-निजी साझेदारीमा करिब १० करोड लागतमा निर्माण गरेको नमूना अटो भिलेजले शहरको सौन्दयै जोगाउनुका साथै व्यवसायीलाई एकै ठाउँमा जोड्ने कामसमेत गरेको छ।

नमूना अटो भिलेज निर्माणका लागि तुलसीपुर उपमहानगर र व्यवसायीको साझेदारीमा लगानी गरिएको हो। सार्वजनिक-निजी साझेदारीअनुसार नमूना रूपमा अटो भिलेज निर्माण भएको हो। अटो भिलेजलाई सुपर प्लस, ए र बी गरेर तीनवटा ब्लकमा विभाजन गरिएको छ। यहाँ १५० कोठा निर्माण गर्ने तयारी छ। तीमध्ये १२० वटा कोठा तयार भएका छन्।

(३) सासु-ससुरा पाल्ने अब्बल बुहारी

सधैँ घरायसी काममै खटिने प्युठान नगरपालिका-२ दाखा क्‍वाडीकी रेश्मा जीसीको दैनिकी एक सय वर्ष नाघेका ससुराको स्याहार-सुसारमा बित्ने गरेको छ। उनका सुसरा मानबहादुर जीसी बुहारीको सेवा पाएर दंग छन्। ४० वर्षीया बुहारीले सय नाघेका ससुरालाई खुशी बनाउन आत्मीय सेवा मात्रै होइन, माया र कर्तव्यसमेत पूरा गर्दै आएकी छन्।

प्युठान नगरपालिकाले ०७५ सालमा ज्येष्‍ठ नागरिक दिवसको अवसर पारेर नगरभित्रका ९० वर्ष नाघेका नागरिक र तिनलाई राम्ररी पाल्ने बुहारीलाई सम्मान गरेको थियो। वृद्धवृद्धालाई पालनपोषण गर्दै आएकामध्ये पाँचजना बुहारीलाई सम्मान पनि गरिएको थियो, त्यतिबेला। सोही कारण उक्त नगरक्षेत्रमा ज्येष्‍ठ नागरिकलाई सम्मानपूर्वक पालनपोषण गर्ने ट्रेन्ड शुरु भएको छ।

(४) एक वडा, एक प्राविधिक शिक्षा

प्राविधिक एवं व्यवहारिक शिक्षाको अभावमा लाखौं युवा विदेशिन बाध्य छन्। सोही कारण देशमा बेरोजगारी बढ्नुका साथै दक्ष जनशक्तिको अभावमा चर्को छ। यही तितो यथार्थलाई बर्दियाको मधुवन नगरपालिकाले बेलैमा आत्मसात गरेको छ।

मधुवनले ‘प्रावधिक शिक्षा आजको आवश्यकता’ भन्‍ने मूलमन्त्रलाई शिक्षामा जोड्ने जमर्को गरेको छ। मधुवनले ‘एक वडा एक प्राविधिक शिक्षा’ स्थापना गरेर प्राविधिक शिक्षालाई गरिब, विपन्‍न परिवारका युवायुवतीका साथै सिकाइ उपलब्धी कमजोर रहेका विद्यार्थीलाई सहज पहुँचको नीति लिएको छ। हाल यस नपामा केही प्राविधिक शिक्षालय स्थापना भइसकेका छन् भने केही स्थापना हुने क्रममा छन्।

(५) एभोकाडोको राजधानी धनकुटा

धनकुटा नगरपालिका-४ का किसान राजकुमार तामाङले एउटै एभोकाडोको बोटबाट वार्षिक तीन लाख आम्दानी गर्दै आएका छन्। वैदेशिक रोजगारीबाट फर्किएका तामाङ एभोकाडोको व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन्।

धनकुटामा ‘नगरपालिकाको हावापानी एभोकाडो मैत्री भएकाले माटोमा एभोकाडो रोपौं’ भन्‍ने अभियान नै चलाइएको छ। नगरपालिकाले किसानलाई एभोकाडोलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न नगर क्षेत्रलाई एभोकाडोको राजधानी घोषणा गरेको छ।

(६) छाउगोठ नभत्काए सरकारी सेवाबाट बञ्‍चित

सुदूरपश्‍चिमका अधिकांश क्षेत्रमा छाउपडी प्रथा कायम नै छ। महिनावारी भएको समयमा अविवाहित महिलाले सात दिन र विवाहित महिलाले पाँच दिनसम्म छाउगोठमा बस्‍नुपर्ने बाध्यता छ। यहाँका महिलाले महिनावारीको समयमा सास्ती बेहोर्र्नुपर्छ।

बाजुराको बुढीनन्दा नगरपालिकामा छाउगोठमा तीनजनाको ज्यान गएपछि नगरपालिकाले थप सशक्त ढंगबाट छाउगोठमुक्त बनाउने अभियान शुरु गरेको छ। नगरपालिकाले निर्णय गरेपछि स्थानीय महिला आफैँले गोठ भत्काउने अभियान चलाएका छन्। हालसम्म नगरपालिकामा १३० वटा छाउगोठ भत्काइएका छन्।

सर्वोच्च अदालतले १९ वैशाख ०६२ मा छाउपडी प्रथालाई कुरीति घोषणा गरेको छ। ०६४ सालमा छाउपडी प्रथा उन्मुलनसम्बन्धी निर्देशिकासमेत जारी भएको छ। छाउपडी प्रथालाई पहिलोपटक फौजदारी अपराधको संज्ञासहित ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित भएको छ।

(७) शिक्षामा नमूना

दोलखाको भीमेश्‍वर नगरपालिकाभित्रका संस्थागत र सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीबीच विभेदको अवस्था लगभग अन्त्य भएको छ। नगरपालिकाले संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीको पोशाक समान बनाएसँगै संस्थागत र सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी समान देखिएका हुन्।

विद्यार्थीको पोशाकमा एकरूपता ल्याएसँगै विद्यार्थीको सिकाइमा समेत एकरूपता ल्याउने काम भीमेश्‍वर नगरपालिकाले गर्न थालेको छ। संस्थागत र सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सिकाइ क्षमता समान हुन्छ, त्यही कुरालाई महशुस गरी नगरपालिकाले विद्यार्थीको सिकाइमा एकरूपता ल्याउने काम गरेको हो।

(८) महिला उद्यम केन्द्र

घरधन्दा र चुलोचौकोमा सीमित रहने नवलपरासी (पश्‍चिम)को सुनवल नगरपालिकाका महिला उद्यमी बन्‍न थालेका छन्। आफ्ना लागि र परिवारका स-साना खर्च धान्‍न पनि अरूको भर पर्ने बानीको अन्त्य भएको छ।

हाल नगरपालिकाले एक वडा एक महिला उद्यम केन्द्र अभियान चलाएको छ। केन्द्रका भवनमा एउटा तालिम हल र शौचालयसमेत निर्माण गरिसकेको छ। हरेक महिला उद्यम केन्द्रमार्फत आयमूलक तथा सीपमूलक तालिम सञ्‍चालन गर्न प्रतिकेन्द्र पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। यहाँ १३ वटा व्यवस्थित महिला उद्यम केन्द्र भवन निर्माण भएका छन्।

महिला उद्यम केन्द्र सञ्‍चालन तथा व्यवस्थापन गर्न नगरपालिकाले कार्यविधि ल्याएको छ। कार्यविधिअनुसार हरेक वडामा महिला तथा सरोकारवालाको भेला राखी महिला उद्यम केन्द्र सञ्‍चालन तथा व्यवस्थापन समिति गठन गरिएको छ भने त्यसमार्फत महिलालाई क्रियाशील बनाइएको छ।

(९) विपद व्यवस्थापनमार्फत जनजीवनको सुरक्षा

बैतडीको दशरथचन्द नगरपालिकाले विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको ऐन २०७५, विपत् व्यवस्थापनका कार्यलाई अगाडि बढाउन नगरपालिकाले स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना निर्माण, विपद् व्यवस्थापन कोष एवं त्यसको परिचालन गर्ने निर्देशिका तयार गरेर लागू गरेको छ।

(१०) एकीकृत बस्तीमा रमाउँदै माझी समुदाय

बागलुङ नगरपालिकाले सडक निर्माणका बेला विस्थापित बनेका १४ परिवार माझी समुदायलाई जग्गा व्यवस्थापन गरेर घर बनाइदिएपछि उनीहरूले बलियो छानो पाएका छन्। २९ वर्षअघि सडक खन्‍ने क्रममा घरजग्गा गुमाएर विस्थापित बनेकालाई नगरपालिकाले जग्गाको व्यवस्थापन गरेर एकीकृत रूपमा बसाई व्यवस्थापन गरेको छ।

(११) फोहोर अबदेखि मोहोर

देशभर फोहोर व्यवस्थापनमा समस्या भइरहँदा स्याङ्जाको पुतलीबजार नगरपालिकाले फोहोरबाट आम्दानी गरिरहेको छ। नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर गर्दै गरेको यो कामबाट नगरवासी सन्तुष्‍ट छन्।

(१२) पशु बीमा

बर्दियाको बाँसगढी नगरपालिकाभित्र रहेका पशुपालक कृषकले पशुपक्षीको सुरक्षा र क्षति भएका पशुको क्षतिपूर्तिको व्यवस्था गरेको छ। कृषकलाई क्षतिपूर्ति उपलब्ध गराउने मात्र होइन, क्षति भएका पशुको ठाउँमा अर्को ल्याइदिएर पालन गर्न प्रेरणा दिँदै आएको छ।

नगरपालिकाले पशु बीमाका लागि शोधभर्ना कोष बनाएको छ। पशु बीमा कार्यक्रमअन्तर्गत कृषकलाई २० प्रतिशत अनुदान दिइने गरेको छ।

(१३) गरिब बिरामीका साथमा मेयर

गोरखाको पालुङटार नगरपालिकाले नगरभित्र आर्थिक अवस्था कमजोर भएका बिरामीलाई निःशुल्क उपचार गर्न ‘मेयरसँग गरिब बिरामी’ भन्‍ने मूल नारासहित कोष स्थापना गरेको छ। रकम अभावकै कारण उपचार हुन नसकेका बिरामीको सेवाका लागि उक्त कोष स्थापना गरिएको हो।

(१४) सडक सञ्‍जालमा अब्बल पोखरा

पोखरा महानगरपालिकाले पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ। सबैथरि विकासको मूल पूर्वाधार त्यसमा पनि सडक भएको हुँदा महानगरका कुनाकन्दरालाई केन्द्रसँग जोड्ने योजना मुख्य प्राथमिकतामा छ। विशेषगरी महानगरको केन्द्रबाट विकट भएका वडाहरूलाई निकटमा ल्याउने र ३३ वटै वडा सडक सञ्‍जालले जोड्ने गरी महानगरपालिकाले कनेक्टिङ सडक निर्माण गरेको छ।

(१५) गण्डकी प्रदेशकै पहिलो बालमैत्री नगर

नवलपुरको देवचुली नगरपालिका गण्डकी प्रदेशकै पहिलो र देशकै दोस्रो नगरका रूपमा बालमैत्री नगरपालिका घोषणा भएको छ। नगरपालिकाको साविकको प्रगतिनगर गाविसमा नेपालमै पहिलो बाल क्लब ‘जागृत बाल क्लब नेपाल’ दर्ता भएको थियो। हाल समुदाय र विद्यालयस्तरमा करिब ९५ वटा बाल क्लब छन्।

(१६) संस्कृति जोगाउन स्थानीय पाठ्यक्रम

नेपालको मौलिकपन हराउँदै गएको सन्दर्भमा काठमाडौं गोकर्णेश्‍वर नगरपालिकाले मौलिकता जोगाउने अभियान चलाएको छ। विदेशी संस्कृतिले समाजलाई गाँज्दै गएपछि नेपाल र नेपालीलाई चिनाउने मौलिक संस्कृति जोगाउन विद्यालयको पाठ्यक्रममै यसलाई समेटिएको हो।

(१७) आमा र बच्चा जोगाउन नगरप्रमुखसँग मातृशिशु

बागलुङको गलकोट नगरपालिकाले सुत्केरी र शिशु दुवैको ज्यान जोगाउने उद्देश्यले मातृशिशु कार्यक्रम लागू गरेको छ। उक्त कार्यक्रमअन्तर्गत गर्भवती महिलाको स्वास्थ्य जाँचदेखि मासिक भत्तासम्मका कार्यक्रम समावेश छन्। मातृशिशु स्वास्थ्यलाई नगरपालिकाले विशेष ध्यान दिई ‘नगरप्रमुख मातृशिशु स्वास्थ्य’ कार्यक्रम लागू गरेको हो।

(१८) पर्यटकमैत्री अभियानमा नगर

मोरङको बेलवारी नगरपालिकाले नगरभित्र पर्यटकीय क्षेत्रको विकास शुरु गरेको छ। नगरपालिकालाई पर्यटकमैत्री बनाउन अभियान नै चलाइएको छ। नगरका पर्यटकमैत्री भौगोलिक र प्राकृतिक वातावरण तयार पारिएको छ।

उक्त नगरपालिकाभित्र २१ वटा सिमसार क्षेत्र छन्। बेतना, अमना, सिसौली, धनपालथान, धनपालगढी, झलझली बाँध, हाँडीदह, बेलबारीलगायत पर्यटकीय क्षेत्रलाई व्यवस्थित बनाएको छ उक्त नगरपालिकाले।

(१९) अलैंची खेतीबाट समृद्धी

मोरङकै बेलबारी नगरपालिकाले कृषिमा भविष्‍य देखेको छ। कृषि कर्मबाट स्थानीय किसानको मात्र नभई नगर नै समृद्ध बनाउने लक्ष्‍य नगरपालिकाको छ। नगरपालिकाले मौसमी, बेमौसमी अर्गानिक उत्पादन, नगदेबाली, आलु, अदुवा, मौरी, अलैंची, चिया, किवी, सुन्तला जात, कफी खेतीलाई प्राथमिकतामा राखेर ५० देखि १००५ सम्म अनुदान कार्यक्रम सञ्‍चालन गरी किसानलाई प्रोत्साहन दिँदै आएको छ।

(२०) सुशासन र पारदर्शितामा अब्बल

वीरगञ्‍ज महानगरपालिका सुशासन र पारदर्शितामा अब्बल बन्दै गएको छ। सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्दै महानगरपालिकाले नियमित काम गर्दै आएको छ।

महानगरपालिकाले सुशासन, समृद्धि, आर्थिक स्थायित्वका लागि जनप्रतिनिधिले युवासँग अन्तरक्रिया कार्यक्रम सञ्‍चालन गर्छ।

(२१) जनप्रतिनिधि डिजिटल साक्षरता कार्यक्रम

अछामको साँफेबगर नगरपालिकाका १४ वटै वडा कार्यालयमा सेवा प्रवाह छिटोछरिटो, पारदर्शी र समयसापेक्ष ढंगबाट सम्पादन भइरहेको छ भने कार्यालयको कामकाजमा राम्रो प्रभाव परेको छ।

(२२) ढाकामा आत्मनिर्भर बन्दै गोदावरी

कैलालीको गोदावरी नगरपालिका-४ स्थित बुढीतोला गाउँमा रहेका बेरोजगार महिला तथा पुरुषलाई सीपमूलक तालिम सिकाइबाट आत्मनिर्भर बनाउने काम शुरु भएको छ। आफ्नै गाउँ, ठाउँमा ढाकाबाट उत्पादन गर्न सकिने सामग्री तयार गरी समाजलाई आय आर्जन वृद्धि गर्दै पाँच वर्षभित्रै यस गाउँलाई आत्मनिर्भर बनाउने योजना छ। यस क्षेत्रमा बस्‍ने महिला, पुरुष ढाकाबाट हुने आम्दानीले आत्मनिर्भर भई सुदुरपश्‍चिम कै ढाका उत्पादन क्षेत्रको रूपमा पहिचान गराउने लक्ष्‍यअनुरूप विभिन्‍न ठाउँमा ढाकासम्बन्धी तालिम सञ्‍चालन भएका छन्।

(२३) साहसिक जलयात्राबाट पर्यटन प्रबर्द्धन

डडेलधुराको परशुराम नगरपालिका प्राकृतिक स्रोत, साधनले भरिपूर्ण छ। पूर्वमा आलिताल गाउँपालिका, पश्‍चिममा महाकाली नदी, उत्तरमा महाभारत पर्वत क्षेत्र र दक्षिणमा चुरे क्षेत्रले घेरिएको शीर्ष जोगबुडाको साविक संरचनालाई परशुराम नगरपालिका घोषणा गरेसँगै विभिन्‍न योजना ल्याइएको छ।

डडेलधुरा सदरमुकामदेखि ८५ किलोमिटर टाढा ४१४.७० वर्गकिलोमिटर क्षेत्रफल ओगटेको भित्री मधेशका नामले पनि परिचित परशुराम नगरपालिकाको छुट्टै भौगोलिक, ऐतिहासिक, सामाजिक, धार्मिक र सांस्कृतिक महत्त्व छ। नगरपालिकाले गरेका थुप्रै काममध्ये महाकाली नदीमा साहसिक जलयात्रा (र्‍याफ्टिङ)को परीक्षण गरी जलयात्रा शुरु गरिएको छ। त्यसबाट आन्तरिक र बाह्य पर्यटकका लागि सहजता भएको छ।

(२४) नगरवासीलाई डिप बोरिङबाट पानी

लामो समयदेखि खानेपानीको समस्या रहेको अछामको मंगलसेन नगरपालिकाको ठूलासैनामा नगरपालिकाले डिप बोरिङमार्फत काकाकुलको अवस्था अन्त्य गरेको छ। खानेपानी आपूर्ति भएपछि करिब ४२ घरपरिवार, बजार क्षेत्र, दुईवटा एफएम रेडियो, तीनवटा सरकारी कार्यालय, दुई सहकारी, एउटा सामुदायिक वन उपभोक्ता समितिको कार्यालय, सन्त निरंकारी मिसन, एउटा आधारभूत विद्यालयका दुई सय बालबालिका प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

(२५) स्वास्थ्य सेवा घरदेखि अस्पतालसम्म

नागरिकको स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर कैलालीको टीकापुर नगरपालिकाले घरदेखि अस्पतालसम्म सेवा शुरु गरेको छ। निःशुल्क रक्तसञ्‍चार सेवा आवश्यक परेको बेला सम्पूर्ण टीकापुरवासीलाई घरदेखि अस्पतालसम्म कार्यक्रम, टीकापुर अस्पतामा बालरोग विशषेज्ञ सेवा, सम्पूर्ण वडामा शहरी स्वास्थ्य केन्द्र स्थापना, विद्यालयकेन्द्रित किशोर-किशोरी परामर्श सूचना केन्द्र स्थापना र किशोर-किशोरी मैत्री स्वास्थ्य सेवा सञ्‍चालन गरिएको छ।

(२६) पर्यटक लोभ्याउन धार्मिक पर्यटन मार्ग

कञ्‍चनपुरको भीमदत्त नगरपालिकाले विकासका कामलाई गति दिने क्रममा नगरको यातायात, पर्यटन र धार्मिक पर्यटनलाई एकैसाथ अगाडि बढाएएको छ। नगरपालिकाले यसमा वडा नम्बर १, ३, ७, ८, ९ र १० लाई समेटेको छ। नगरपालिकाले धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरूलाई जोड्ने, नगर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनलाई सहज बनाउने र ती स्थलहरूको विकास गर्ने लक्ष्‍य लिएको छ।

(२७) अप्टिकल फाइबरमार्फत जोडिँदै नगरबासी

कैलालीको धनगढी उपमहानगरपालिकाले आफ्नो सेवामा प्रभावकारिता ल्याउन आफूले उपलब्ध गराउने सेवासुविधालाई पारदर्शी एवं सहज रूपमा नगरवासीको पहुँच सुनिश्‍चित गर्न जापानको आईटी भेन्चर कर्पोरेसनसँगको सहकार्यमा उपमहानगरपालिकाका सबै वडामा अप्टिकल फाइबर जडान गरेको छ।

(२८) कृषिमा आत्मनिर्भर बन्दै नगरवासी

नगरवासीलाई कृषि उपजमा आत्मनिर्भर बनाउने उद्देश्यले बाजुराको बुढीगंगा नगरपालिकाले विभिन्‍न कार्यक्रम शुरु गरेको छ। नगरपालिकाका कार्यक्रमहरूमा स्थानीय बासिन्दाको सक्रिय सहभागिता छ।

नगरपालिकाले दुई स्थानमा ओखरको नर्सरी स्थापना गरेको छ भने अन्य फलफूलको नर्सरी स्थापना गर्ने तयारी गरेको छ। जिल्लाबाट ओखरका बिरुवा खरिद गर्नुपर्ने बाध्यता अन्त्य गर्न नर्सरीको स्थापना गरी सुलभ मूल्यमा बिरुवा प्राप्त गर्न सकिने वातावरण तयार भएको छ।

(२९) बालश्रम हटाउन हरियो झण्डा

डोटीको दिपायल सिलगढी नगरपालिकाभित्र भइरहेको बालश्रम हटाउन नगरपालिकाले रचनात्मक शैलीमा अभियान शुरु गरेको छ। नगरपालिकाले बालश्रम प्रयोग नभएका घरमा हरियो झण्डा गाड्ने र बालश्रम प्रयोग भइरहेका घरलाई रित्तै छाडेर नैतिक दबाब सिर्जना गर्न यस्तो अभियान शुरु गरिएको हो।

(३०) उपप्रमुखको हातेमालो

कैलालीको गौरीगंगा नगरपालिकाले महिलासँग उपप्रमुख कार्यक्रम सञ्‍चालनका लागि नगर सभाबाट बजेट विनियोजन र कार्यपालिका बैठकबाट कार्यविधि स्वीकृत गरी नगरमा महिलासँग हातेमालो कार्यक्रम शुरु गरेको छ। हालसम्म उक्त कार्यक्रमबाट दुई सय २१ जना महिला लाभान्वित भएका छन्।

(३१) भारतमा काम गर्ने श्रमिकको जीवन बीमा

बैतडीको पाटन नगरपालिकामा भारतका विभिन्‍न ठाउँमा काम गर्ने श्रमिकको जीवन बीमा गरिएको छ। भारतमा काम गर्ने व्यक्तिको परिवारका प्रतिनिधिमार्फत बीमा गरिएको हो। बीमा कार्यक्रम रुडेस नेपाल तथा अक्सफाम भन्‍ने संस्थासँगको सहकार्यमा नगरपालिकाभित्र तीनवटा सरकाही संस्था उदयदेव महिला बचत तथा ऋण सहकारी सस्ंथा, सिद्धेश्‍वर बचत तथा ऋण सहकारी संस्था र महालक्ष्‍मी बचत तथा ऋण सहकारी संस्थामार्फत बीमाको थालनी गरिएको हो।

(३२) सूचना र स्वास्थ्यमैत्री बन्दै मालिकावासी

बाजुराको बडिमालिका नगरपालिकाले ई-बडीमालिका अभियानअन्र्तगत हरेक वडामा इन्टरेनट सुविधा पुर्‍याएको छ। पहिलो चरणमा वडा कार्यलय क्रमशः स्वास्थ्य संस्था र विद्यालयमा जडान गरिँदै लगिने भएको छ। ई-गभर्नेन्स, भिडियो कन्फरेन्सलगायत सूचना-प्रविधिमैत्री सिकाइमूलक वातावरण तयार गरेको छ।

(३३) समृद्ध वेदकोट नगरको आधार, कृषि उद्योग पर्यटन र पूर्वाधार

प्राकृतिक तथा पर्यापर्यटनले भरिपूर्ण कञ्‍चनपुरको वेदकोट नगरपालिकास्थित शिव लिंगेश्‍वर धाममा दिनहुँ आन्तरिक तथा बाह्य पर्यटकसँगै छिमेकी मुलुक भारतका पर्यटकमा पनि आकर्षण बढ्दो छ। यसरी नै आफ्ना क्षेत्राधिकारभित्रका अलौकिक पर्यटकीय क्षेत्रहरूको प्रबर्द्धन तथा पर्यटकको संख्या वृद्धि गर्न वेदकोट नीतिगत रूपले लागिपरेको छ।

(३४) स्वस्थ नागरिक उत्पादन गर्न सुत्केरीसँग सरकार

सर्लाहीको वागमती नगरपालिकाले महिलालाई सुत्केरी भत्ता प्रदान गरी आमा, सन्तान र सम्भावित कुपोषणका समस्याबाट मुक्त गर्ने सोचअनुरूप काम अघि बढाएको छ। सुत्केरी आमालाई कुपोषण हुनबाट रोक्न नगरपालिकाले पोषण भत्ता प्रदान गरेको हो।

(३५) विपद् जोखिम न्यूनीकरणमा सहकार्य

भक्तपुरको चाँगुनारायण नगरपालिकाले विपद् जोखिम न्यूनीकरणमा निजी क्षेत्र, गैरसरकारी संस्था तथा समुदायको सहकार्य अगाडि बढाएको छ। विपद् कुनै पनि समयमा आउन सक्ने भएकाले त्यसअघि नै सचेत रहन विपद् जोखिम न्यूनीकरण अभियान थालेको हो।

(३६) जलाशयबाट हरित क्रान्तिमा आत्मनिर्भर

‘हरित क्रान्ति, आत्मनिर्भरता र समता मानव विकास र स्वच्छ घोराही उपमहानगरपालिका’ भन्‍ने मूल रणनीतिक नाराका साथ अगाडि बढेको दाङको घोराहीले स्थापनाकालदेखि बहुपक्षीय विकास निर्माणलाई प्राथमिकताका साथ एकीकृत ढङ्गले विकास गर्ने क्रम शुरु गरेको छ।

(३७) शहरमै रोजगार दिने शिक्षा

युवालाई स्वरोजगार र व्यावसायिक बनाउन परशुराम नगरपालिका डडेल्धुराले ‘नगरपालिकासँग युवा स्वरोजगार कार्यक्रम’ ल्याएको छ। स्वरोजगारका लागि सीप विकास तालिम भन्‍ने मूल नारासहित तत्काल रोजगार सिर्जना गर्ने उद्देश्यले नगरपालिकाले वार्षिक कार्यक्रममा बजेट विनियोजन गरी युवा स्वरोजगार कार्यक्रम सञ्‍चालन गरेको हो।

(३८) शहर सरसफाइमा साझेदारी

नेपालगञ्‍ज उपमहानगरपालिकाको बाँकेमा शहरीकरण बढेसँगै फोहोरमैला व्यवस्थापन कार्य गर्न ज्यादै चुनौति छ। यसलाई मध्यनजर गर्दै उपमहानगरपालिकाले विभिन्‍न वडा तथा सडक खण्डहरूमा फोहरमैला व्यवस्थापन कार्यका लागि सार्वजनिक-निजी साझेदारी अवधारणामा व्यवस्था गरी कार्य थालनी गरेको छ।

(३९) शैक्षिक गुणस्तरमा फड्को

तिलोेत्तमा नगरपालिका, रूपन्देहीमा शैक्षिक गुणस्तरले फड्को मारेको छ। ‘सामुदायिक विद्यालयको भौतिक र शैक्षिक गुणस्तर सुधारः बालबालिका विद्यालय प्रवेशको मुख्य आधार’ भन्‍ने नीतिका साथ यहाँ सामुदायिक विद्यालय सुधारको काम भइरहेको छ।

(४०) उपभोक्ता हितमा काम गर्दै कोहलपुर

बाँकेको कोहलपुर नगरपालिकामा बसोबास गर्ने आमनागरिकको स्वास्थ्यलाई खाद्य पदार्थबाट हुनसक्ने हानीबाट जोगाउन कोहलपुर नगरपालिकामा नियमित अनुगमन शुरु गरिएको छ।

(४१) घर-घरमा खानेपानी

सुक्खा क्षेत्रका वावजुद पनि गुल्मीको रेसुङ्गा नगरपालिकाले घर-घरमा खानेपानीको अवधारणा ल्याएको हो। खानेपानीको अभावलाई दीर्घकालीन रूपमा समाधान मझेङ खोलाबाट पानी लिफ्टिङ गरी नगरमा सुविधा दिने योजना छ।

(४२) निःशुल्क स्वास्थ्य बीमा

पाल्पाको तानसेन नगरपालिकाले नगरमा रहेका अल्पसंख्यक ९५३ परिवारका सदस्यको निःशुल्क स्वास्थ्य बीमा गरेको छ, जुन मानवीय सहयोगका हिसाबले महत्त्वपूर्ण छ।

(४३) पर्यटकीय क्षेत्रको सौन्दर्यीकरण

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने अवधारणा अघि सारिएको छ। झण्डै ४३ हजार जनसंख्या रहेको यस नगरपालिकाको केन्द्रबाट बेंसी, अर्घा भगवती मन्दिर, घोर्लासी टावर, नरपानी गंगासरोवर, खाँची दरबार बहने बागी खोला र यसको वरिपरि रहेका हरियालीपूर्ण डाँडालगायत क्षेत्रलाई एकीकृत पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नु यस अवधारणको उद्देश्य हो।

(४४) खुला दिसालाई खुला छैन

नेपालकै पुरानो नगरपालिका झापाको भद्रपुरलाई खुला दिसामुक्त घोषणा भएसँगै सरसफाइ अभियान पनि थालनी भएको छ। सरसफाइले अन्य ठोस तथा तरल फोहोर र मानव दिसाजन्य लेदोको व्यवस्थापनलाई समेत समेटेको छ।

(४५) सहभागिता र साझेदारी मोडल

चितवनको भरतपुर महानगरपािलकाले आयोजना र नागरिक दुवै पक्षलाई जनसहभागिता र साझेदारीले समेट्छ भन्‍ने अवधारणाअनुरूप महानगरपालिकाले विकासमा जनसहभागितालाई जोड दिएको छ।

(४६) इलाम सिटी मार्ट

इलाम नगरपालिकाले निजी क्षेत्रको लगानीलाई प्रोत्साहित, प्रबर्द्धन र संरक्षण गरी व्यापार, व्यवसाय तथा उद्योग क्षेत्रमा लगानी गराई नगरपालिकासँग साझेदारी गर्ने नीति लिएको छ। नगर विकासमा निजी क्षेत्रको भूमिकालाई आर्थिक विकासको क्षेत्रमा महत्त्वपूर्ण ढंगबाट अगाडि बढाउने उद्देश्यले सार्वजनिक-निजी साझेदारी लगानी व्यवस्थापन तथा सञ्‍चालन ऐन पारित गरेको छ। इलाम नगरपालिकाले व्यापारिक भवन ‘इलाम सिटी मार्ट’को निर्माण कार्य थालनी गरेको छ, जसबाट नगरको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्‍वास छ।

(४७) जग नै नभएको पोखरी संरक्षण

ललितपुर महानगरपालिकामा जगमुदु अर्थात जग नै नभएका रूपमा चर्चित महानगरपालिकास्थित छायबहाल र पिम्बहाल क्षेत्रमा रहेका पोखरी संरक्षण गर्न थालिएको छ। यी पोखरीको प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक महत्व छ।

(४८) दिसाजन्य लेदो प्रशोधन

महालक्ष्‍मी नगरपालिका, ललितपुरले दिसाजन्य लेदो प्रशोधन केन्द्र स्थापना गरेको छ। उक्त प्रशोधन केन्द्रमा महालक्ष्‍मी नगरपालिका र यसका छिमेकी नगरपालिकाहरूका विभिन्‍न घरधुरीबाट उत्पादन हुने दिसाजन्य लेदो प्रशोधन गर्ने गरिएको छ।

(४९) पैसा जोगाउँदै निःशुल्क खानेपानी

विकास पहिचानको रूपमा आफ्नो परिचय स्थापना गर्न काभ्रेको नमोबुद्ध नगरपालिकाले विकासको विभिन्‍न खाका तयार गरी कार्यान्वयन गरिरहेको छ। खानेपानीको चरम समस्याले गुज्रिरहेको नमोबुद्ध नगरपालिका सुक्खाग्रस्त क्षेत्रको रूपमा आफ्नो विगतको परिचयलाई रूपान्तरण गर्न अन्य विकासका कार्यक्रमभन्दा ‘जनताको पहुँचमा खानेपानी, घर-घरमा धारा’ भन्‍ने मूल उद्देश्य लिएर विकासको गति तीव्र बनाएको छ।

(५०) अनलाइनमार्फत नक्सा पास

मोरङको उर्लाबारी नगरपालिकाले समतामुलक सम्पन्‍न समुदाय निर्माण गर्ने परिकल्पना पूरा गर्ने नीति लिएको छ। समताको आधारमा समानता हुनुपर्छ भन्‍ने मान्यताका साथ महिला, बालबालिका, ज्येष्‍ठ नागरिक र अपांगताको क्षेत्रमा धेरै कामहरू गरेको छ। यससँगै अनलाइनमार्फत नक्सा पास गर्ने व्यवस्था मिलाउन नगरपालिकामा ईबीपीएस प्रणाली जडान प्रकृया अगाडि बढाइएको छ।

(५१) खडेरीमा जीवन रसिलो बनाउन डिप बोरिङ

नुवाकोटको विदुर नगरपालिकाले नगरमा खानेपानी अभाव हुन नदिन डिप बोरिङ परियोजना सञ्‍चालन गरेको छ।

(५२) सडक नाली व्यवस्थापन

पाँचथरको फिदिम नगरपालिकाले बजार व्यवस्थापनका लागि उपभोक्ता समितिहरूमार्फत काम गरेको छ। बजारभित्र रहेका नाली सरसफाइ र ड्रेन कभर लगाई बजारभित्रका नालीहरू व्यवस्थापन गरेको छ। बजारभित्रको फोहोरलाई दैनिक संकलन गरी डम्पिङ साइटमा व्यवस्थित गर्दै आएको छ।

(५३) अन्तर्राष्‍ट्रियस्तरका योजना

विराटनगर महानगरस्थित-१९ मा अन्तर्राष्‍ट्रियस्तरको सभागृह बनाउने कामका लागि पाँच बिगाहा जग्गा स्थानीय सहभागितामा लिएर डीपीआर तयार पारेको छ। विराटनगरमा बसपार्क निर्माण सम्पन्‍न भएर सञ्‍चालनमा आएको छ। तारिणीप्रसाद कोइराला सञ्‍चार ग्राम बन्‍ने क्रममा छ। यस्तै, गुरुकुलमा सुशीला कोइराला नाट्यघर बन्दैछ।

(५४) नागरिकमा सडक र विद्युतको पहुँच विस्तार

उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगर क्षेत्रको शिक्षा, स्वास्थ्य, कृषि, पशु, आर्थिक विकास, भौतिक पूर्वाधार विकास, सामाजिक विकास, सांस्कृतिक विकास, खानेपानी, पर्यटन प्रबर्द्धन, नदी नियन्त्रण तथा व्यवस्थित शहरीकरण लागि नीतिगत रूपमा कार्यक्रम तयार गरेको छ।

(५५) शिक्षामार्फत चेतनाको अभ्यास

रुकुमको चौरजहारी नगरपालिकाले शिक्षा क्षेत्रलाई विकासको प्राथमिकतामा राखेको छ। नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूमा प्रविधिमैत्री शिक्षा लागू गर्न प्रत्येक विद्यालयमा कम्प्युटर, प्रोजेक्टर, ट्याबलेटजस्ता सामग्री खरिद गरेर विद्यालयहरूमा वितरण गरेको छ।

(५६) धिमेबाजाबाट कला र संस्कृतिको जगेर्ना

सिन्धुपाल्चोकको चौतारा साँगचोकगढी नगरपालिकाले नगरमा बसोवास गर्ने विभिन्‍न जातजातिको धर्म, कला, संस्कृति संरक्षणका लागि वार्षिक नगर विकास योजनामा कार्यक्रमहरू समावेश गरेर ६ महिने धिमे बाजा प्रशिषण कार्यक्रम सञ्‍चालन गरेको छ।

(५७) व्यवस्थित हाट, नमूना बजार

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१४ बुईपास्थित पञ्‍चरदोबाटो हाटलाई व्यवस्थित बजारमा रूपान्तरण गरिएको छ। विगत लामो समयदेखि चित्राको छाप्रो र केही खाली ठाउँमा स्थानीयस्तरमा उत्पादित वस्तु हाटसम्म ल्याएर बिक्री गरिन्छ।

(५८) नगर प्रमुख आवास योजना

सुनसरीको दुहबी नगरपालिका क्षेत्रभित्र तोकिएका मापदण्डभित्र परेका अति विपन्‍न, दलित, अल्पसंख्यक, लोपोन्मुख, आदिबासी, जनजाति, घरवारविहीन समूदाय तथा एकाघरको कुनै पनि सदस्यको नाममा घरजग्गा हकभोग नभएकालाई सुरक्षित आवासको व्यवस्था गर्ने उद्देश्यले नगर प्रमुख आवास योजना शुरु गरिएको छ।

यो कार्यक्रमअन्तर्गत कम्तिमा १० परिवारलाई हुने गरी सामूहिक बस्ति निर्माण गरिनेछ। यस्तो सामूहिक बस्ती निर्माण गर्दा लाभग्राहीहरूलाई जाति, समूदाय, वर्ण, क्षेत्र सकभर एकै प्रकारको हुने व्यवस्था मिलाइएको छ।

(५९) जैविक विविधता र सम्पदाको संरक्षण

कमलामाई नगरपालिका, सिन्धुलीले जैविक विविधतासहितको वनजंगल, बुका, कमला, ग्वाङ, लब्दाहा, गडौली, चदाहा, धनामाना, मरिण, धमिले, जिर्गा आदिको संरक्षण प्रयास गरिरहेको छ।

(६०) जनताको सेवामा एक वडा, एक प्राविधिक

कटारी नगरपालिका, उदयपुरले प्रत्येक वडामा एक प्राविधिक रहने व्यवस्था गरेको छ। प्रत्येक वडामा रहेका प्राविधिक इन्जिनियर वा सब-इन्जिनियरले सम्पूर्ण वडाको योजना स्टिमेट गर्ने, वडाकै प्राविधिकले सम्पूर्ण कागजातहरू तयारी गर्ने, योजना बजेटअनुसार सम्झौता गर्ने, बिल वडाकै प्राविधिकबाट उठाउन लगाउनेलगायत कार्य गर्दा उपभोक्तालाई सेवा दिन सजिलो भएको छ।

(६१) छात्रालाई साइकल वितरण

ईशनाथ नगरपालिका, रौतहटमा पठनपाठनमा छात्राहरूको मनोबल उच्च बनाउन विभिन्‍न कार्यक्रम गर्ने निर्णय भएसँगै पहिलो चरणमा उनीहरूलाई साइकल वितरण गरेको छ। नगरपालिकाभित्र रहेका माविस्तरका कक्षा १० मा अध्ययनरत छात्राहरूलाई साइकल वितरण गरिएको छ।

(६२) धार्मिक सर्किट निर्माण

‘धार्मिक पर्यटन र प्राकृतिक सौन्दर्य समृद्ध सूर्यविनायक नगरपालिका’ भन्‍ने नाराका साथ धार्मिक सर्किट निर्माणलाई नगरपालिकाको अहिले धमाधम काम अगाडि बढाइरहेको छ। नगरपालिका क्षेत्रभित्र भएका १० वटै वडामा भएका शिव मन्दिरलाई एउटै चक्रीय मार्ग जोड्ने काम गरी नगरपालिकाले योजना अगाडि सारेको हो।

(६३) ज्येष्‍ठ नागरिकलाई नगरको सम्मान

सिरहाको लहान नगरपालिकाले ७० वर्ष नाघेका ज्येष्‍ठ नगारिकलाई सम्मानस्वरूप मासिक १५० रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता, छाता, कम्मल र दोसल्ला वितरण गर्दै आएको छ।

(६४) पूर्वाधार विकासमा ध्यान

बलरा नगरपालिका, सर्लाहीमा पर्यटन पूर्वाधारको विकास एवं ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक मठ, मन्दिरहरूको, संरक्षण र विकास गरी आन्तरिक र बाह्य पर्यटन प्रबर्द्धन गर्न, कर प्रशासनलाई चुस्त, पारदर्शी बनाउँदै राजस्वका नयाँ क्षेत्रको पहिचान र करको दायरा विस्तार गरी राजस्व संकलनमा वृद्धि गर्दै आत्मनिर्भर बन्‍ने उद्देश्यअनुसार काम भइरहेको छ।

(६५) निःशुल्क उपचारमा यातायात खर्च

गढीमाई नगरपालिका रौतहटले नगरवासीको हितलाई ध्यानमा राखेर सरकारबाट निःशूल्क उपचार पाउने रोगहरूको स्वदेशमा उपचार गर्न जाँदाको यातायात खर्चवापत दुई हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ। नागरिकले यस्तो सेवाबाट लाभान्वित भएको महशुस गरेका छन्।

(६६) आर्थिक प्रशासनमा सूत्र प्रणाली

धनुषाको गणेशमान थारनाथ नगरपालिकामा आर्थिक प्रशासन सूत्र प्रणाली सञ्‍चालन गरिएको छ। नगरपालिकामा सूत्र प्रणाली ल्याउँदा बजेट अभिलेखीकरणमा सहयोग पुगेको छ।

(६७) बर्थिङ सेन्टरः गर्भवती खुशी

गजुरा नरपालिका रौतहटमा बच्चा र आमा दुवैको स्वास्थ्यलाई ध्यान दिँदै वडा नम्बर २ मा बर्थिङ सेन्टर निर्माण शुरु भएको छ।

स्वास्थ्य चौकी कटानीको मातहतमा रहने गरी बर्थिङ सेन्टर निर्माण शुरु गर्न बजेट विनियोजन गरेपछि महिला तथा स्थानीयवासी खुशी छन्। यसको मुख्य उद्देश्य यस क्षेत्रमा बसोबास गर्ने दलित, मधेशी आदिवासी, मुस्लिमलगायत सम्पूर्ण महिलाले केन्द्रमा प्रसुती गराउने उद्देश्य छ।

(६८) सामुदायिक विद्यालयमा बालमैत्री सिकाइ

सर्लाहीको हरिवन नगरपालिकाले नगरमा दक्ष जनशक्ति उत्पादन गर्ने र त्यसका लागि जगबाट शुरु गर्ने उद्देश्यका साथ सामुदायिक विद्यालय सुधार कार्यक्रम लागू गरेको छ। जसअन्तर्गत नगर क्षेत्रभित्रका २९ वटा सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकास केन्द्र स्थापना गरी ती केन्द्रमा बालमैत्री सिकाइ पद्दतिको माध्यमबाट अंग्रेजी माध्यममा प्रारम्भिक शिक्षा दिने र शैक्षिक गुणस्तर सुधार गर्ने कार्यक्रम छ।

(६९) खोला रोक्दा उर्लिएको खुशी

ईश्‍वरपुर नगरपालिका, सर्लाहीमा खोलालाई वरदानको रूपमा परिणत गर्न जनप्रतिनिधिहरूको सोच र पहलमा तथा जनताको तटबन्ध कार्यालयको प्राविधिक सहयोगमा दुईवटा तटबन्ध निर्माण गरिएको छ। ती तटबन्धमाथि हाल गाडी सञ्‍चालन गर्न सकिन्छ। त्यसका कारण दक्षिणी भेगमा रहेका उब्जाउ भूमिहरू नदी उकास हुनुका साथै रामपुर, मनहर्वालगायत दक्षिणमा रहेका बस्तीवासीहरू ढुक्क भएका छन्।

(७०) सौन्दर्यले भरिपूर्ण वातावरणमैत्री पार्क

काभ्रे धुलिखेल नगरपालिका पार्क निर्माण अभियानलाई प्राथमिकतामा राखेको छ। खानेपानी, सडक, शिक्षा, स्वास्थ्य सँगसँगै पर्यटन पहिलो प्राथमिकता राख्दै विभिन्‍न स्थानमा पार्क निर्माण गरी तिनलाई बालमैत्री बनाइएको छ।

(७१) सडक नै पर्यटन र आयको आधार

सडक नै जुम्लाको चन्दननाथ नगरपालिकाको पर्यटन र आयको मुख्य स्रोत होे। जुम्लाको मुटुका रूपमा रहेको चन्दननाथ नगरपालिका नेपालकै मुख्य पर्यटकीय क्षेत्र मुगुमा अवस्थित रारा तालसँग प्रत्यक्ष शाखा सडक नजोडिएका र अन्य शाखा सडक भीरका कारण साँघुरा, जोखिममपूर्ण तथा लामो दूरिमा पर्छन्। तर, नगरपालिकाले रारा पर्यटन क्षेत्रसँग प्रत्यक्ष नगरपालिकासँग सम्बन्ध स्थापना गरी ३.५ किलोमिटरको भदाली-खाली सडकलाई प्राथमिकता दिएको छ। यसले पर्यटक र स्थानीयवासीलाई आवतजावतमा सहयोग पुग्ने विश्‍वास लिइएको छ।

(७२) मेयर नमूना सडक

नवलपुरको मध्यविन्दु नगरपालिका पूर्वपश्‍चिम राजमार्गमा पर्ने भएकाले भौगोलिक दृष्‍टिले सुगमजस्तो देखिए पनि कैयौं भूभागमा विकासका चुनौति प्रशस्तै छन्। पर्यटकीय दृष्‍टिकोणले भने अति नै महत्त्वपूर्ण रहेको यस नगरपालिकाका करिब ५० वर्षपछिको सडक चापसमेत थेग्न सक्ने हिसाबले सडक निर्माणमा अत्यन्तै जुझारु रूपमा लागिपरेको छ। जसअनुसार प्रत्येक वडामा मेयर नमूना सडकको अवधारणामा सडक निर्माण भइरहेका छन्।

(७३) पाडापाडी जन्मदर्ता र सुत्केरी भत्ता

काभ्रेको पनौती नगरपालिकाले पशुपालन क्षेत्रलाई महत्त्व दिन नगरभित्र रहेका पशुसेवा प्राविधिकले पाडापाडी जन्मदर्ता बनाएर व्यक्तिको घरमै पुर्‍याउने कार्य भइरहेको छ। यसका साथै पहिलो वेत ब्याएको भैंसीलाई पाँच हजार र अन्य वेत भए दुई हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ।

(७४) प्रविधिमा लम्किँदै

लमजुङको सुन्दरबजार नगरपालिका प्रविधिमा लम्किँदैछ। नगरपालिकाले भूकम्प पीडित निजी आवास लाभग्राहीलाई वडाबाटै घर निर्माण गर्ने अनुमति दिने व्यवस्था, १७ वटा डिजाइनभित्र घर निर्माण गर्नेलाई नक्सापास शूल्क छुट र १३३ जनालाई सातदिने डकर्मी तालिम दिएको छ। यसका साथै नगरपालिकाका सबै वडामा एकीकृत सम्पत्ति कर लागू भइसकेको छ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेहरूको नाम अनलाइनमा राखेर बैंकमार्फत भुक्तानी गर्ने व्यवस्था गरेको छ।

(७५) गुणस्तरीय शिक्षामा शैक्षिक मेला

लमजुङकै राइनास नगरपालिकाले नगरभित्र रहेका सम्पूर्ण शैक्षिक संस्थाको शैक्षिक गुणस्तर अभिवृद्घि गर्ने, विद्यार्थी-शिक्षकको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्‍ने उद्देश्यका साथ स्तरीय शैक्षिक मेलाको आयोजना गर्दै आएको छ। वडा नम्बर ५ स्थित शिशु विद्याश्रम माविको प्रांगणमा आयोजना गरिएको मेलामा नगरपालिका सामुदायिक तथा संस्थागत गरी ४१ वटा विद्यालयका विद्यार्थी तथा शिक्षकहरूले भाग लिएको उक्त कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूले आफ्नो सीप, कला र प्रतिभा प्रस्तुत गरेका थिए।

(७६) सबै वडामा वायरलेस इन्टरनेट

परासीको रामग्राम नगरपालिकाका सबै वडामा वायररलेस इन्टरनेट सेवा शुरु गरेको छ। उक्त सेवाबाट वडा कार्यालयहरूबाट सहज रूपमा अनलाइन सेवा प्रवाह भएको छ। सेवा प्रवाहमा संलग्न कर्मचारीहरूको क्षमता अभिवृद्धि भई सेवा प्रवाहमा गुणस्तरीयता, कार्यकुशलता र नयाँ सम्भावनाको विकास भएको छ। सूचनाहरू चाहिएको बेला जहाँ पनि प्रयोग गर्न सकिएको छ।

वायरलेस इन्टरनेट प्रविधिले स्थानीय समुदायलाई विभिन्‍न स्थानमा इन्टनेट प्रविधि प्रयोग गर्न सहजता भएको छ भने सूचनाहरू पारदर्शी, नगर विकास निर्माण तथा सार्वजनिक सरोकारका विषयहरूको जानकारी सरल तथा सहज रूपमा प्राप्त भएको छ।

(७७) नगरमै खाद्य परीक्षण प्रयोगशाला

हेटौंडा उपमहानगरपालिकामा नगरवासीको स्वास्थ्य तथा सुविधा कायम राख्न खाद्य पदार्थमा कुनै अवाञ्‍छनीय मिसावट रोक्न वा खाद्य पदार्थमा रहेको स्वाभाविक कुनै गुण वा उपयोगिता घटाउन वा झिक्न नपाउने गरी खाद्य परीक्षण प्रयोगशाला शुरु गरेको छ।

(७८) प्रेमको प्रतिक ‘नगर पन्छी’ सारस जोगाउँदै

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले सारसलाई नगर पन्छी घोषण गरी त्यसको संरक्षण तथा प्रबर्द्धनमा जोड दिएको छ। दुर्लभ र नेपालको वन्यजन्तु ऐनद्वारा संरक्षित सारस विश्‍वकै सबैभन्दा अग्लो उड्ने चरा हो।

(७९) दीर्घकालीन फोहोर व्यवस्थापन हुँदै

काभ्रेको बनेपा नगरपालिकाले दीर्घकालीन फोहोर व्यवस्थापनका लागि निजी कम्पनी नेसनल वेस्ट मेनेजमेन्ट एन्ड रिसाइक्लिङ सेन्टर ललितपुरसँग सम्झौता गरेको छ। नगरपालिकाले तोकेको दरभन्दा कम शुल्कमा निजी क्षेत्रले साझेदारी कार्यक्रममार्फत संकलन शुरु गरेको हो।

(८०) कुपोषित बालबालिकाको पहिचान र उपचार

कपिलवस्तुको बाणगंगा नगरपालिकामा कुपोषित बालबालिकाको पहिचान र उपचार अभियान शुरु भएको छ। कुपोषणको हिसाबले कपिलवस्तु निकै पछाडि रहेको जिल्ला हो। नगर क्षेत्रभित्र रहेका ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाको पोषणको अवस्था पहिचानका लागि स्वास्थ्य शाखाका कर्मचारीहरूको संयोजकत्वमा कार्य सम्पादन गर्ने गरी महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यतर्फका कर्मचारीहरूलाई मार्फत अभियान शुरु भएको हो।

(८१) पशुपालनका लागि सहुलियतमा ऋण

परासीको बर्दघाट नगरपालिकामा पशुपालनको लागि सहुलियतमा ऋण कार्यक्रम कार्यान्वयन भएको छ। कार्यक्रमअन्तर्गत पशुपालक कृषकलाई स्थानीय सहरकारीमार्फत २८ लाख ५० हजार वितरण गरिएको छ।

(८२) विद्युतीय माध्यमको प्रयोगले सुशासन

महोत्तरीको बर्दिवास नगरपालिकाले विद्युतीय शासनअन्र्तगत विभिन्‍न कार्य सम्पन्‍न गरिरहेको छ। विद्युतीय प्रणालीबाट सेवा प्रवाह गरेपद्धि राजस्व परिचालनको प्रभावकारितमा वृद्धि हुँदा वडाको जुनसुकै स्थानबाट पनि कर तिर्ने सुविधा उपलब्ध भएको छ।

(८३) घरबास कार्यक्रममार्फत आय आर्जन

तनहुँको भिमाद नगरपालिकाले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी नगरभित्रका पर्यटन स्थलहरूको एकीकृत विकासका गतिविधिहरू सञ्‍चालन गर्न थालेपछि पर्यटक आगमन बढेको छ। पर्यटक आगमनसँगै आयआर्जनमा वृद्धि हुने देखेर नगरवासीमा उत्साह थपिएको छ।

(८४) गर्भवतीलाई अण्डा

स्याङ्जा भीरकोट नगरपालिकाले आमा र बच्चाको स्वास्थ्यमा ध्यानमा राखेर सुरक्षित रूपमा बच्चा जन्माउन र जन्मेको बच्चा स्वस्थ बनाउनका लागि गर्भवती भएको चार महिनादेखि बच्चा नजन्मिने समयसम्म प्रतिदिन एउटाका दरले अण्डा वितरण गर्दै आएको छ।

(८५) योजनाबद्ध विकास र स्थानीय पाठ्यक्रम

शैक्षिक सत्र ०७६ मा काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले आफ्नो स्थानीय पाठ्यक्रम तयार गरेर शिक्षण शुरु गरेको छ। पाठ्यक्रममा नगरपालिकाको परिचय, यसको अवस्था, विशेषता, मौलिक पहिचान, वातावरणीय योजना, नागरिक दायित्व, समृद्धीको बाटोलगायत विषय समावेश छन्।

(८६) सहकारीमार्फत धानबाली धितो भण्डारण

बुटवल उपमहानगरपालिकाले सहकारीमार्फत धानबाली धितो भण्डारण सेवा शुरु गरेको छ। उत्पादित धान धितो राखी ऋण दिने र पछि बजार मूल्य बढी भएको बेलामा बिक्री गरिदिई आफ्नो साँवाब्याज र सेवा शुल्क आदि रकम असुल गरी बाँकी रकम किसानलाई दिने गरी आफ्नो सदस्य कृषकहरूले धान धितो राखी केही रकम ऋण उपलब्ध गराउन वा गोदाम अभावले तत्काल आफ्नो धान बिक्री गर्नुपर्ने बाध्यता हटाउन सकिने अवधारणा हो यो।

(८७) दिगो विकासका लागि सफा सुन्दर र हरित शहर

कालीकोटको तिलागुफा नगरपालिकाले ‘हामी सबैको चाहना, सफा, सुन्दर र हरित तिलागुफाको कामना’ भन्‍ने नारा तय गरेर नियमित रूपमा गाउँ-गाउँमा सरसफाइ तथा वातावरण संरक्षण अभियान चलाउने गरेको छ। यसका लागि प्रत्येक गाउँमा टोल सुधार समिति (टीएलओ) गठन गरिएको छ। समितिमार्फत कर्णाली राजमार्गको दुईतिर वृक्षरोपण, मुख्य-मुख्य बजारमा सोलार बत्ती जडान, चोरी शिकारी तथा वन फँडानी नियन्त्रण गर्ने काम भइरहेको छ।

(८८) स्मार्ट सिटी

स्याङ्जाको वालिङ नगरपालिकामा स्मार्ट व्यक्तित्वहरूबाट दीर्घकालीन सोचमा विकसित भएर स्मार्ट सिटी योजनाको विकास भएको छ। वालिङ नगरपालिकालाई स्मार्ट सिटीका रूपमा अगाडि बढाउने निर्णय भएअनुसार कार्य शुरु गरिएको छ।

(८९) असल आमाबाट सामाजिक विकास

दैलेखको नारायण नगरपालिकाले ‘स्वस्थ नागरिक समृद्ध नगर’ भन्‍ने नारा लिएर तथ्यमा आधारित शिशु मृत्युदर, बाल मृत्युदर, मातृ मृत्युदरमा कमी ल्याउन, विवाहित दम्पत्तीलाई दुई मात्र सन्तान उत्पादनमा प्रोत्साहन गर्न, महिलाको प्रजनन् अधिकार सुरक्षित गर्न, २० वर्ष पूरा नगरी विवाह गर्ने परिपाटी अन्त्य, छाउपडीजस्ता अन्धविश्‍वासमा आधारित संस्कारको अन्त्य गर्न असल आमा प्रोत्साहन कार्यक्रम ल्याएको छ। मातृशिशुको स्वास्थ्य सुरक्षाका पाँचवटा चरणमा सुधार गर्ने हेतुले कार्यक्रम अघि बढाइएको हो।

(९०) पूर्वाधारमा फड्को मार्दै भेरी नगर

जाजरकोटको भेरी नगरपालिकाले लगानीलाई दिगो र प्रभावकारी बनाउन आयोजना व्यवस्थापन कार्यविधि जारी गरेको छ। कार्यविधिका आधारमा आयोजनाका लागि रकम दिने र अनुगमनबाट प्राप्त प्रगतिका आधारमा थप भुक्तानी दिने व्यवस्था गरिएको छ। दिगो विकासको आधारभूत पक्षलाई पछ्याउँदै भेरी नगरले शहरी पूर्वाधार तयार गरिरहेको छ।

(९१) श्रम बैंकबाट रोजगार व्यवस्थापन

कालीकोटको रासकोट नगरपालिकाले समृद्धिका लागि युवा परिचालन र रोजगारीको वातावरण सिर्जना गर्न १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका युवालाई समेटेर श्रम रोजगार बैंक स्थापना गरेको छ। ‘युवाको शान, श्रमको सम्मान, रास्कोट नगर निर्माणको पहिचान’ भन्‍ने नाराअनुसार नगरपालिकाले काम गरिरहेको छ।

(९२) प्रभावकारी बन्दैछ मेयर उद्यमशीलता कार्यक्रम

धादिङको नीलकण्ठ नगरपालिकाले नगरवासीलाई उद्यमी बनाउने अभियान सञ्‍चालन गरेको छ। उद्यमबाट मात्र समग्र नगरको विकास अनि स्थानीय आवश्यकता पूर्ति गर्न सकिने बुझाइ नगरपालिकाको छ। नगरवासीको आवश्यकताअनुसार नगरपालिकाले ‘मेयर उद्यमी कार्यक्रम’ शुरु गरेको छ।

(९३) रासायनिक विषादी न्यूनीकरण

चितवनको राप्ति नगरपालिकाले नगरवासीको अधिक मिहिनेत र प्रयाससँग सहकार्य गर्दै नगरपालिकाभित्र रासायनिक विषादी न्यू्नीकरण अभियान शुरु गरेको छ। जसले मानव स्वास्थ्यलाई मात्रै नभई कृषकहरूको खर्च हुने रकम र अन्य जोखिमहरू न्यूनीकरण हुने अपेक्षा छ।

(९४) एकीकृत स्थानीय विकासको महत्त्वपूर्ण आधार

काठमाडौं महानगरपालिकाले समग्र जिल्लाभित्रका ११ वटै नगरपालिकाको विकासलाई अगाडि बढाउने अभियान थालेको छ। महानगरपालिकाको नगर-नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौं उपत्यकाभित्रका अन्य नगरपालिकाहरूसँगको सहकार्यमा उपत्यका एकीकृत विकास कार्यक्रम सञ्‍चालन गरी उपत्यकालाई एउटा सिंगो समृद्ध शहरका रूपमा विकास गर्न पहल गरेको छ।

(९५) समुन्‍नतिको आधारः कृषि, शिक्षा, पर्यटन र पूर्वाधार

रुकुमको आठबीसकोट नगरपालिकाले पाँचवर्षे कृषि रणनीति नगर सडक गुरुयोजना र पर्यटन गुरुयोजना निर्माण गरेको छ। ती गुरुयोजनामार्फत हरेक वर्ष १८ जना बेरोजगार युवालाई उद्यमशीलता प्रबर्द्धनमा सहयोग गरिनेछ। दैनिक सेवामा आउने सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउनु, सुशासन र पारदर्शिता बढाउनु नगरका प्राथमिक कार्य क्षेत्र हुन्।

(९६) विधिको शासनबाट समाजको समृद्धि

दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाले कामलाई सरल र व्यवस्थित बनाउन ३९ वटा ऐन, नियमावली र कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याएको छ। यसले स्थानीय सरकार सञ्‍चालन तथा असल शासन प्रबर्द्धनमा सहयोग पुगेको नगरवासीको अनुभव छ।

(९७) नमूना शहर बन्दै दमक

दमक नगरपालिका-६ स्थित मुख्यबजार क्षेत्रमा आकर्षक पर्यटकीय स्थलको रूपमा ‘दमक नमूना बजार’ निर्माण गरिएको छ। सडकमा आकर्षक टायल्स लगाइएको छ। दुवैतर्फ स्टिलको रेलिङ र बेन्च निर्माण गरिएको छ।

(९८) धरानमा भवन संहिता कार्यान्वयन

अव्यवस्थित शहरीकरण बढ्दै गइरहेको अवस्थामा धरान उपमहानगरपालिकाले प्रत्येक वर्ष निर्माण हुने भवनहरूमा भवन संहिता लागू गरेको छ।

(९९) विपदप्रति संवेदनशील वीरेन्द्रनगर

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आफ्ना गतिविधिलाई विपदप्रति संवेदनशील बनाउन बाढी एवं डुबान, आगलागी, भूकम्पजस्ता प्रकोप न्यूनीकरण गर्न योजना बनाएर अघि बढिरहेको छ।

(यो सामग्री नगरपालिका संघको सहयोगमा तयार पारिएको हो)

  • #Nepali_Headline #Municipalities_Progress #Nepal_Municipality_Association
शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?
घर फर्किएका चार सपना : एउटा पत्र, एउटा यात्रा र पुनर्मिलनको क्षण

भर्खरै

  • १.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • २.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ३.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ४.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ६.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ७.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ८.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.