म क्याल्कुलेसन गरेर चुनाव लड्नेमध्येमा परिनँ। मैले आफ्ना एजेन्डा, विचारहरू सबै मतदाताका बीचमा राखेको छु। उहाँहरूले जुन तरिकाले हेर्नुहुन्छ, सोहीअनुसारको नतिजा प्राप्त हुन्छ भन्नेमा विश्वस्त छु।
३० वैशाख नजिकिँदै गर्दा पालिका चुनावले देशभरका शहर र गाउँमा चहलपहल बढाएको छ । चितवनको भरतपुर महानगरपालिका देशभरको चासोको केन्द्रमा छ । सत्ता गठबन्धनका पाँच दलमध्ये कांग्रेसका स्थानीय नेता-कार्यकर्ताले भरतपुरमा विद्रोह गरेपछि माओवादी केन्द्रको भागमा परेको यो महानगर कसले जित्छ भन्ने चासो सर्वत्र छ । र, संघीय संसदमा प्रमुख प्रतिपक्षी दल एमालले प्रदेश सांसदबाट राजीनामा गराएर विजय सुवेदीलाई भरतपुरमा मेयरको प्रत्यासी बनाएको छ । अष्टलक्ष्मी शाक्यको वागमती प्रदेशको मुख्यमन्त्री छँदा केही समय सामाजिक विकास मन्त्री पनि भएका सुवेदी र निवर्तमान मेयर रेणु दाहालबीच भरतपुरमा सीधा प्रतिस्पर्धा छ । आफ्नो जित-हारबारे मेयरका प्रत्यासी सुवेदी के सोच्छन् ? प्रस्तुत छ, नेपाली हेडलाइनकी संवाददाता रेश्मा सिंहले गरेको संवाद :
भरतपुरमा पाँच दलीय गठबन्धनको एक घटक कांग्रेसमा भएको विद्रोहको तपाईंलाई के लाभ हुन्छजस्तो लाग्छ?
चुनावमा लाभहानीको कुराभन्दा पनि सार्वभौमसत्ता सम्पन्न नागरिकहरू हुनुहन्छ। चितवन भनेको सचेत नागरिकहरूको बसोेबास भएको ठाउँ हो। त्यसकारण हरेक नागरिकले आ-आफ्नो तरिकाले विश्लेषण गरेर मतदान गर्नुहुन्छ भन्ने लाग्छ। त्यसैले यसमा लाभहानीको दृष्टिले हेर्दिनँ। नागरिकको आफ्नो स्वतन्त्र विचार हो। लोकतन्त्रमा आ-आफ्नो इच्छाअनुसार मतदान दिन पाउनुपर्छ।
प्रदेश सांसदबाट राजीनामा महानगरको मेयर उम्मेदवार बन्नुभएको छ। कति मतान्तरले विजयी वा पराजित हुन्छु भन्ने लाग्छ?
म क्याल्कुलेसन गरेर चुनाव लड्नेमध्येमा परिनँ। मैले आफ्ना एजेन्डा, विचारहरू सबै मतदाताका बीचमा राखेको छु। उहाँहरूले जुन तरिकाले हेर्नुहुन्छ, सोहीअनुसारको नतिजा प्राप्त हुन्छ भन्नेमा विश्वस्त छु। सामान्यतया मैले सबै कुरा हेर्दा जनताबाट अगाध माया, सम्मान प्राप्त गरेको छु, जसकारण अत्यधिक मत ल्याएर जित्छु भन्ने विश्वास लिएको छु।
कांग्रेसका विद्रोही उम्मेदवार जगन्नाथ पौडेलले गठबन्धनको भोट मात्र काट्छन् कि तपाईंको पनि? के अनुमान छ?
सबै जनताले स्वविवेकले मतदान गर्ने हो। हिजो जसलाई मतदान गर्नुभयो, आज पनि उसैलाई मतदान गर्नुहुन्छ भन्ने छैन। उम्मेदवारको सोचाइ, चिन्तन र विचारको आधारमा मतको निर्णय हुन्छ। त्यसैले जो-जसले जति मत प्राप्त गर्नुहुन्छ, उहाँमाथि जनताको आस्थाअनुसार मत पाउनुहुन्छ। मैले मलाई विश्वास गर्ने मतदाताको मत पाउनेछु। त्यसकारण कसको मत कसले लैजान्छ भन्ने कुरा गौण हो। एमालेको मत हामीलाई नै प्राप्त हुन्छ, अरूले लैजान सक्दैनन्।
भरतपुरका कति वडामा एमालेले जित हासिल गर्छ भन्ने तपाईंको अनुमान हो?
बहुसंख्यक ठाउँमा एमालेले विजय हासिल गर्छ भन्ने विश्वास लिएका छौँ। ०७४ सालको चुनावमा पनि धेरै ठाउँमा जितेको थियो। त्यो घट्दैन, बरु बढ्छ।
एमालेका मेयर, उपमेयर, वडाध्यक्ष, सदस्यहरूले चुनाव जित्ने आधारहरू के हुन्?
२०७४ सालको चुनावमा पनि एमालेका देवी ज्ञवालीले चुनाव जिते पनि कुर्सीमा बस्न पाएनन्। त्यस्तो किसिमको अलोतान्त्रिक पद्धतिको माध्यमबाट उहाँलाई हराएको घोषणा गरियो। त्यस्तो घटना चितवनमा दोहोरिनु हुँदैन। हामी निरन्तर जनताको सेवामा लागिपरेका छौं। जनताका सुख, दुःखमा हामी प्रत्यक्ष संलग्न छौं। हामीले गरेका काम जनताले बुझेका छन्।
भरतपुरको विकासका लागि हामीसँग महत्त्वपूर्ण मुद्दाहरू छन्। यहाँको विकासका मुख्य आधार गुरुयोजना हो, सिटी प्लान हो। त्यो सिटी प्लानको खाका हामीसँग छ। सम्पूर्ण नागरिकको अभिलेखीकरण गरेर सबैलाई सम्बोधन गर्नेगरी व्यवस्थापन गर्नसक्ने क्षमता राख्छौं। श्रमजीवी व्यक्तिहरूको व्यवस्थापनतिर ध्यान दिइनेछ। बेरोजगार युवाको तथ्यांक संकलन गरेर उहाँहरूलाई सम्पूर्ण सीपमूलक तालिम दिई रोजगारीको वातावरण सिर्जना गर्नेछौं। समग्र चितवन, भरतपुरको समृद्ध विकासका निम्ति जुन उम्मेदवारी दिएका छौं, यसमा जनताको साथ र समर्थन रहिआएको छ।
भरतपुरवासीले तपाईंलाई नै किन मतदान गर्नुपर्ने? तपाईंमा खास त्यस्तो के छ र?
मसँग प्रष्ट विचार र भिजन छ, काम गर्नसक्ने इच्छाशक्ति छ। मैले राजनीतिक पार्टी, सबै नागरिक समाजलाई समन्वय गरेर अगाडि लैजान सक्छु। सबैका योग्यता, ज्ञान र क्षमतालाई लिएर अगाडि बढ्ने आँट छ। सम्पूर्ण विकासका काम, परियोजनाहरू छन्, त्यसका लागि आवश्यक पर्ने ‘फन्ड’हरू पनि म जुटाउन सक्छु। त्यसकारण भरतपुरवासीहरूले समृद्ध भरतपुर महानगरपालिका बनाउन मलाई भोट दिनुहुन्छ भन्ने विश्वास लिएको छु।