अस्ट्रेलियाको केन्द्रीय बैंकले एक दशकभन्दा लामो समयपछि ब्याज दर बढाएको छ।
बढ्दो मुद्रा स्फीतिलाई नियन्त्रण गर्न ब्याजदर बढाइएको हो। रिजर्व बैंक अफ अस्ट्रेलियाले निक्षेपको ब्याजदर शून्य दशलमव एक प्रतिशतबाट बढाएर शून्य दशमलव ३५ प्रतिशत पुर्याएको हो।
पेट्रोलियम पदार्थ, आवास निर्माण र खाद्यान्नको लागत बढेका कारण पहिलो त्रैमासिक अवधिमा अस्ट्रेलियाको उपभोक्ता मूल्य दुई दशकयताकै तीव्र गतिमा बढेपछि सन् २०१० को अन्त्यपछि पहिलो पटक दर वृद्धि गरिएको हो। आरबीएका गभर्नर फिलिप लोवेले मुद्रास्फीति अपेक्षाभन्दा छिटो बृद्धि भए पनि बेरोजगारी कम हुने र ज्याला वृद्धिमा सुधार हुने बताएका छन्।
अस्ट्रेलियामा आमचुनावको तयारी हुदै गर्दै ब्याजदर वृद्धि हुँदा ऋणको ब्याज पनि बढ्ने र त्यसले घरायसी बजेटमा थप दबाब बढ्ने आकलन गरिएको छ। पछिल्लो २१ वर्षमा उच्च मुद्रास्फीति ब्यहोरिरहेको अस्ट्रेलियामा मुद्रास्फिति ५ दशमलव १ प्रतिशत पुगेको छ।