काठमाडौँ । वैशाख पहिलो साताभित्रै भएको वर्षाले गर्मीबाट राहत मिलेको छ । मंगलबार राति मेघगर्जनसहित परेको पानीले महोत्तरीमा गर्मीबाट राहत मिलेको हो ।
गए रातिको वर्षाले बाँझो जग्गा खनजोत गर्न सहज भएको किसानले बताएका छन् । चैतेबाली थन्क्याएपछि रुखिएको जग्गा खनजोत हुन सकेको थिएन ।
वर्षा भएपछि अब बर्खे मकै, कोदो लगाउन र बर्खे धानको धुले ब्याड राख्न मिल्ने बर्दिबास ७ मनहरिपुरका विन्देश्वर यादवले बताए ।
‘राम्ररी चिस्यान हुने गरी पानी परेको छ,’ उनले भने, ‘यसपालि बर्खेबाली समयमै लगाउन पाइने आश जाग्यो ।’
पछिल्लो वर्षाले तरकारी खेती गर्न सहज भएको किसानको भनाइ छ । वर्षाअघि केहीबेर चलेको हावाहुरीले कलिला बोट र तरकारीका बेला (लहरा) लतारेर केही नोक्सान गरेको किसानले बताएका छन् ।
हावाहुरीले आँप, लिचीसहितका फलका चिचिला झारेको भंगाहा ४ पलारका चौठी सर्दार बाँतरले बताए । वर्षापछि किसानलाई राहत मिलेको छ ।