काठमाडौँ । रुसले युक्रेनमा भइरहेको अमेरिकी हतियार ढुवानीको औपचारिक विरोध जनाएको छ । उसले अमेरिकाको विदेश मन्त्रालयलाई एक कुटनैतिक पत्र पठाएर हतियार ढुवानी नरोकिएमा ‘नसोचेको परिणाम’ भोग्नु पर्ने चेतावनी दिएको सिएनएनले लेखेको छ ।
सिएनएनका अनुसार कुटनीतिक पत्र यही साता पठाइएको र दुई अमेरिकी अधिकारीले यससम्बन्धी सूचना मिडियामा बाहिर ल्याएका हुन् । अमेरिकाले हालै युक्रेनलाई ८० करोड डलर बराबरको सैन्य सहायता प्याकेज पठाउने तयारी गरिरहेको घोषाणा गरेको थियो । विगतमा भन्दा भिन्न यसपटक अमेरिकाले अति उन्नत प्रकृतिका भारी हतियार ढुवानी गर्ने बताएको छ ।
सिएनएनले आफूहरुसँगको कुराकानीमा एक अमेरिकी अधिकारीले रुसी पत्रले खासमा अमेरिकी हतियारको प्रयोग गरेर युक्रेनले युद्धमा रुसमाथि भारी क्षति पुर्याएको संकेत गरेको लेखेको छ ।
पछिल्लो सयम अमेरिकाले युक्रेनलाई उन्नत र ठूला हतियार पठाउने निर्णय गरेपछि रुस झस्किएको हुन सक्छ । युद्धमा आफू बलियो स्थितिमा भएको अवस्थामा सामान्यता यस्ता कुरामा कुनै पक्षले विरोध जनाउँदैनन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेब्रुअरी २४ मा रुसी आक्रमण शुरु भएदेखि नै पश्चिमी मुलुकसँग भारी हतियारको माग गरिरहेका छन् । पश्चिमले जेलेन्स्कीको मागअनुरुप युक्रेनमा ठूलो परिणामा हतियार पठाउँदै आएको छ । यिनै हतियारको बलमा युक्रेनले उत्तरी भूभागबाट रुसलाई टक्कर दिँदै आएको छ । यसै कारण रुस युक्रेनी राजधानी कब्जा गर्ने योजना परित्याग गर्न बाध्य भएको हुन सक्छ ।
रुसले अहिले युक्रेनभित्र रहेका आफ्ना सेनालाई पूर्वी क्षेत्रमा परिचालिन गरिरहेकाले त्यस क्षेत्रमा ठूलो आक्रमण बढ्ने आशंका गरिदै छ । पूर्वी युक्रेनको लडाइँ थप भिषण हुने आशंकाका माझ पश्चिमी शक्तिले युक्रेनलाई थप हतियार सहयोगको घोषणा गरेका हुन् । अमेरिकाले पनि रुसी विरोधको बावजुद अमेरिकाले युक्रेनलाई दिने घोषणा गरेको हतियार रोक्ने कुनै संकेत गरेको छैन ।
सीएनएनबाट