काठमाडौँ । आर्थिक तथा राजनीतिक संकटमा उत्पन्न भएसँगै श्रीलंकामा विद्युत कटौतीको समय थप बढ्ने भएको छ ।
सरकारी अधिकारीहरूले विद्युत कटौतीसम्बन्धी नयाँ तालिका सार्वजनिक गर्दै आजदेखि विद्युत कटौतीको समय बढेको जानकारी दिएका हुन् ।
योसँगै हरेक दिन बिहान ९ देखि साँझ ६ बजेसम्म विद्युत कटौती हुने समाचारमा जनाइएको छ । रातिको समयमा भने विद्युत कटौती नगर्ने भएको छ ।
यसअघिको तालिकाभन्दा दुई घण्टा बढी विद्युत कटौती हुने भएको हो । श्रीलंकामा आर्थिक संकट उत्पन्न भएसँगै विभिन्न वस्तु तथा सेवाको अभाव हुन पुगेको छ ।
वस्तु तथा सेवाको अभाव र मूल्य वृद्धि भएपछि आम नागरिकले आन्दोलन गरेसँगै राजनीतिक संकट उत्पन्न भएको थियो ।
अभाव, मूल्य वृद्धि र आन्दोलन चर्किरहेका बेला तत्कालीन सबै मन्त्रीहरूले राजीनामा दिएका थिए । अहिले नयाँ मन्त्रीहरू नियुक्त गरी सरकार सञ्चालन गर्ने प्रयास भइरहेको समाचारमा जनाइएको छ ।
आर्थिक संकटका कारण कतिपय अत्यावश्यक काम समेत स्थगित हुन पुगेको छ । स्वास्थ्य मन्त्रालयले कतिपय औषधिसमेत अभाव भएको जनाएको छ ।