निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीलाई स्पष्टीकरण सोधेको छ । आयोगको बिहीबारको बैठकले घिसिङ र अधिकारीलाई निर्वाचन आचारसंहिता मिचेकोबारे प्रष्टीकरण सोधेको आयोगका एक अधिकारीले जानकारी दिए । दुवैलाई पत्र पठाएर ७ दिनभित्र आयोगका प्रश्नको चित्तबुझ्दो जवाफ दिन भनिएको छ ।
नेकपा (माओवादी केन्द्र)ले घिसिङको तस्बिर निर्वाचन प्रचार सामग्रीमा प्रयोग गरेको थियो । सोही विषयलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो ।
निर्वाचन आचारसंहिता, २०७८ को दफा ६ को खण्ड (क) मा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारी समेतले पालना गर्नुपर्ने आचरण उल्लेख गरिएको छ । घिसिङको तस्बिर चुनावी पोस्टरमा राख्नुले उक्त व्यवस्था उल्लंघन भएको आयोगको भनाइ छ । आयोगले किन कारबाही गर्न नपर्ने हो भन्नेबारे स्पष्ट पार्न भनेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले उर्जासम्बन्धी निर्वाचन प्रचार सामग्री सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए । जसमा अध्यक्ष दाहाल, अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्बिर थियो । घिसिङले सार्वजनिकरुपमा आफ्नो तस्बिर निर्वाचन सामग्रीमा राखिएकोप्रति आपत्ति जनाउँदै हटाउन भनेका थिए । त्यसपछि उनको तस्बिर माओवादीले पोस्टरबाट हटाएको थियो ।
त्यस्तै, गण्डकी प्रदेशसभाका सभामुख अधिकारीलाई २०७४ सालको प्रदेशसभा निर्वाचनमा भएको खर्चबारे दिएको भनिएको अभिव्यक्तिलाई लिएर आयोगले प्रस्ट पार्न भनेको हो । निर्वाचन आयोगमा आफूले खर्चको गलत विवरण बुझाएको भनी अधिकारीले अभिव्यक्ति दिएका समाचार सार्वजनिक भएका थिए ।