भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार नयाँदिल्लीमा भेटवार्ता भएको छ। त्यससँगै दुवै प्रधानमन्त्रीले भारतको जयनगरबाट नेपालको कुर्था जोड्ने रेलमार्ग संयुक्त रूपमा उदघाटन गरेका छन्।
नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट बटन थिचेर रेलमार्गको भर्चुअल उदघाटन गरिएको हो। त्यस अवसरमा देउवा र मोदी दुवैले रेलमार्गका लागि हरियो झण्डा पनि फहराएका थिए। त्यससँगै जयनगरबाट कुर्थाका लागि रेल हिँडेको थियो। यो रेलमार्ग भारतीय अनुदानमा बनेको हो।
यस्तै, दुवै प्रधानमन्त्रीले सोलु कोरिडोरको १३२ केभी डबल सर्किट प्रसारणलाइन पनि सोही समारोहमा उदघाटन गरे। देउवा र मोदीले संयुक्त रूपमा स्विच थिचेर प्रसारणलाइन उदघाटन गरेका हुन्।
उक्त प्रसारण लाइन नेपाल सरकारको लगानी र भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो। सिरहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको दूधकुण्ड नगरपालिकाको तिङ्लासम्मको प्रसारणलाइनको लम्बाइ ९० किलोमिटर छ, जसमा ३०२ वटा र टावर राखिएको छ।