भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शुक्रबार आफ्नो दोस्रो कार्यकालको सपथ ग्रहण गर्दै छन्। योगीको सपथ ग्रहण समारोहमा कांग्रेस युवा नेता तथा कपिलवस्तुका सांसद अभिषेकप्रताप शाह सहभागी हुँदै छन्।
टोलीमा कांग्रेस कपिलवस्तुका पूर्वसभापति राजेश आचार्य, लुम्बिनी विकास कोषका पूर्वसदस्य राजेश ज्ञवाली, कपिलवस्तुका कांग्रेस नेता अजय थापा पनि छन्।
मुख्यमन्त्री योगी नेपालसँग नजिकको सम्बन्ध रहेका भारतीय नेता हुन्। उनको सपथ ग्रहण समारोहका लागि भव्य तयारी रहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।
समारोहमा भारतका मध्यप्रदेश, हरियाणा, मणिपुर, हिमाचल, त्रिपुरा, गोवा, आसाम, गुजरात, अरुणाचल, उत्तराखण्ड र कर्नाटक प्रदेशका मुख्यमन्त्रीहरू पनि अतिथिका रूपमा सहभागी हुँदै छन्। केन्द्रीय गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंहलगायत मोदी सरकारका २५ जना मन्त्रीहरू योगीको सपथ ग्रहणमा सहभागी हुन लखनऊ पुगेका छन्।
समारोहमा योग गुरु रामदेव तथा भारतका प्रमुख मठका मठाधिशहरूलाई पनि आमन्त्रित गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।