पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूविरुद्ध मत दिने सांसदहरू सामाजिक रूपमा कलंकित हुने चेतावनी दिएका छन्। सामाजिक रूपमा बेइज्जत हुने भएकाले ती सांसदको छोराछोरीसँग कसैले विवाह पनि नगर्ने खानले टिप्पणी गरेका छन्।
पाकिस्तानको संसदमा इमरान खानविरुद्ध मार्च २५ मा अविश्वासको प्रस्ताव टेबल हुँदैछ। विपक्षीहरूको गठबन्धनले सो प्रस्ताव संसदमा लाँदैछ। प्रस्तावकहरूले खानमाथि खराब शासन र आर्थिक असक्षमताको आरोप लगाएका छन्।
जनवरीमा मात्र पाकिस्तानको महँगी १३ प्रतिशतले बढेको थियो। विशेषतः पेट्रोलियम पदार्थ र खाद्यान्नको मूल्य आकाशिँदा महँगी नियन्त्रण गर्ने सरकारी प्रयास निष्प्रभावी देखिएको छ।
विपक्षी दलहरूले अविश्वास प्रस्तावमा इमरान खानको पार्टीका केही सांसदले सघाउने दाबी गरेका छन्। खानको तेहरिक–ए–इन्साफ पार्टी र ऊसँग गठबन्धन बनाइएका पार्टीका २० सांसदले आफूहरूलाई सघाउने उनीहरूको दाबी छ। अघिल्लो निर्वाचनमा खानलाई जिताउन सघाएको आरोप खेपिरहेको सेनाको निगाहा पनि अन्त्य भएजस्तो देखिन्छ।
आइतबार पाकिस्तानको खैबर पख्तुनख्वा प्रदेशमा आयोजित आमसभालाई सम्बोधन गर्दै खानले भने, ‘तपाईंका बालबच्चा र परिवारको इज्जत र प्रतिष्ठा नष्ट हुनेछ। कसैले पनि तपाईंका बालबच्चासँग विवाह गर्ने छैनन्। सामाजिक सञ्जालको युगमा तपाईं केही पनि लुकाउन सक्नु हुन्न।’
इमरान खान र उनका मन्त्रीहरूले विपक्षी गठबन्धनमाथि घुस दिएर सांसद किनिरहेको आरोप लगाएको छ भने आरोपलाई विपक्ष दलका नेताहरूले खण्डन गरेका छन्।
ह्युमन राइट्स वाचले अविश्वासको मत दिनुअघि हिंसा भड्किन सक्ने आरोप लगाएको छ। खानको क्याबिनेटमा सूचना मन्त्री रहेका फवाद चौधरीले अविश्वास प्रस्तावमाथि मतदान हुने दिन झण्डै १० लाख मानिसलाई संसद घेर्न आह्वान गरेका छन्।
पाकिस्तानको सर्वोच्च अदालतले अविश्वासको प्रस्ताव दर्ता गर्दा संसद वरपर भेला नगर्न निर्णय सुनाएको छ। सरकारका महान्याधिवक्ताले प्रधानमन्त्रीसँग कुरा गरेर संसदीय कारवाहीको समयमा कसैलाई संसदभित्र जान नदिने बताए।
द गार्जियनबाट