युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार पुनः पश्चिमी शक्तिलाई उनको देशमा ‘नो–फ्लाई जोन’ लागु गर्न आह्वान गरेका छन्। नो फ्लाई जोन लागु भएमा युक्रेनलगायत रुसका छिमेकी अन्य नेटोका सदस्य मुलुक पनि रुसी आक्रमणबाट बच्ने जेलेन्स्कीको दाबी छ।
तर, अमेरिका र नेटो गठबन्धनले जेलेन्स्कीको आग्रहका बावजुद ‘नो फ्लाई जोन’ लागु गर्न अस्वीकार गर्दै आएका छन्। फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेदेखि नै उनीहरू यो अडानमा अडिग देखिएका छन्। नेटोका अनुसार नो फ्लाई जोन लागु गर्ने प्रयासले नेटो र रुस प्रत्यक्ष द्वन्द्वमा तानिने र त्यसले अहिलेभन्दा व्यापक र झन् खतरनाक द्वन्द्व निम्तयाउने छ ।
‘नो फ्लाई जोन’ हो चाहिँ के ?
‘नो फ्लाई जोन’ निश्चित हवाई क्षेत्रमा लागु गरिन्छ। र, यो लागु भएको क्षेत्रमा केही निश्चत प्रकारको वा कुनै पनि वाहन उडान पाइँदैन। ‘नो फ्लाई जोन’ लागु गर्न सहमत एक वा धेरै पक्षले सो क्षेत्रमा प्रवेश गर्ने कुनै पनि वायु यान खसाल्न तयार भएर बसेका हुन्छन्।
विगतमा बलियो शक्तिको आक्रमणको गम्भीर जोखिममा रहेका कमजोर जनसंख्याको सुरक्षाका निम्ति नो फ्लाई जोन प्रयोग गरिएको अभ्यास छ। तर, नियमित हवाई पेट्रोलिङ र निगरानी गर्नु पर्ने भएकाले यसको कार्यान्वयन निक्कै खर्चिलो हुन्छ।
सन् १९९३ देखि १९९५ बीचमा बोस्नियाका मुसलमान समुदायहरूलाई सर्ब आक्रमणबाट बचाउन संयुक्त राष्ट्र संघले सो क्षेत्रमा नो फ्लाई जोन घोषणा गरेको थियो। त्यसको कार्यन्वयन भने नेटोले गरेको थियो।
पछिल्लोपटक सन् २०११ मा संयुक्त राष्ट्र संघले नै लिवियाको गृह युद्धमा आमनागरिकको हताहती रोक्न नो फ्लाई जोन लागु गर्यो । यसपटक पनि यसलाई नेटोले नै कार्यन्वयन गरेको थियो।
युक्रेनमा ‘नो फ्लाई जोन’ लागु भए…
यदि, युक्रेनमा नेटोले नो फ्लाई जोन लागु गरे युक्रेनविरुद्ध रुसले उसको उच्च स्तरको हवाई शक्ति प्रयोग गर्न पाउदैन। साथमा किभले पनि उसका लडाकू जेट र रुसी फौजविरुद्ध हाल निक्कै प्रभावकारी देखिएको ड्रोन प्रयोग गर्न पाउने छैन।
हवाई आक्रमण रोकिएको अवस्थामा आम नागरिकले अहिलेभन्दा बढी सुरक्षित रुपमा बाहिरिन सक्छन्।
पश्चिमी शक्ति किन हच्किरहेका छन् ?
अमेरिका र नेटोका अधिकारीले युक्रेनमा नो फ्लाई जोन लागु गर्ने क्रममा आफ्ना विमानले रुसी विमान खसाल्नु पर्ने र त्यस अवस्थामा रुससँग सीधा युद्ध हुने खतरा औँल्याएका छन्। त्यसपछि हाल युक्रेनमा सिमित युद्ध यरोपभरि फैलिने र ठूलो धनजनको क्षति हुन सक्ने नेटोका महासचिव जेन्स स्टोल्टेनवर्गले मार्च ४ मा चेतावनी दिएका थिए ।

स्टोल्टेनवर्गको भनाईको एक दिनपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि यस्तो सम्भावनालाई पुष्टि गरे । ‘यदि, कुनै मुलुकले युक्रेनमा नो फ्लाई जोन लागु गर्ने प्रयास गर्यो भने त्यो मुलुक हामीसँग लड्न आएको मानिने छ’ पुटिनले धम्कीपूर्ण रुपमा चेतावनी दिए ।
युक्रेन युद्धमा नो फ्लाई जोनको प्रभाव कति ?
हालसम्म युक्रेनको युद्धमा दुवै पक्षहरु हवाई शक्तिमा त्यति धेरै निर्भर देखिदैनन्। आक्रमणको प्रारम्भमा रुसले युक्रेनी निशानालाई क्षति पु¥याउन मुख्यतः लामो दुरीको मिसाइल र स्थल–हतियार प्रयोग गरेको थियो। जवाफमा युक्रेनी पक्षले पनि स्थल हतियारलाई नै प्रयोगमा ल्यायो।
आइतबार रुसले पश्चिम युक्रेनको सैन्य आधारमा आक्रमण गर्न पनि मिसाइल प्रयोग गरेको थियो। रुसी आकासमै रहेर विमानले युक्रेनी आधारमा झण्डै दुई दर्जन क्रुज मिसाइल हानेको थियो।
‘युक्रेनमा यदि त्यस समय ‘नो फ्लाई जोन’ लागु भएको हुन्थ्यो भने त्यसले आइतबारको आक्रमणमा कुनै प्रभाव पार्न सक्ने थिएन,’ सोमबार अन्तर्राष्ट्रिय मिडियासँगको कुराकानीमा एक जना अमेरिकी सुरक्षा अधिकारीले बताए। ती अधिकारका अनुसार नो फ्लाई जोन लागु भएपछि पनि सम्पूर्ण हवाई आक्रमण रोकिने छैनन्। एजेन्सी