नयाँ दिल्ली । भारत र इरानबीच दुई दिनअघि भएको चाबहार बन्दरगाहसम्बन्धी सम्झौतालाई लिएर अमेरिकाले भारतमा नाकाबन्दी लगाउने चेतावनी दिएपछि भारतले त्यस्को जवाफ फर्काएको छ ।
अमेरिकी विदेश मन्त्रालयका तर्फबाट मंगलबारको नियमित प्रेस भेटघाटका क्रममा सो मन्त्रालयका उपप्रवक्ताले भारत र इरानबीच भएको नयाँ सम्झौताले अमेरिकी प्रतिबन्धबाट छूट नपाउने बताएपछि भारतका विदेशमन्त्री एस जय शंकरले त्यसको प्रतिवाद गरेका हुन् ।
जय शंकरले भनेका छन् -, “चाबहार बन्दरगाहसँग हाम्रो लामो समयदेखि सम्बन्ध रहेको छ । तर, हामीले सम्झौतामा हस्ताक्षर गर्न पाएका थिएनौँ । यसमा कयौं अड्चन थिए । हामी लामो अवधिको सम्झौता गर्न सफल भएका छौँ । यो लामो अवधिको सम्झौता जरूरी हुन्छ, किनकी यो बिना तपाईंले बन्दरगाहको सञ्चालन ठिक ढंगले गर्न सक्नुहुन्न ।”
उनले अगाडि भनेका छन्, ‘मैले देखेँ, केही टिप्पणी आएका छन् । तर, मलाई लाग्छ यो आपसमा संवाद गर्ने र बुझाउने कुरा हो । यो सम्झौता सबैको फाइदाको लागि भएको हो । मलाई लाग्दैन कि यसमा मानिसले संकीर्ण दृष्टिकोण राख्नुपर्दछ । अमेरिकाले सधैँ यस तथ्यको सरहना गरेको छ । चाबहारको प्रासंगिकता छ, त्यसैले हामी यसमा काम गर्नेछौँ ।’