काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी समकक्षी भ्लादिमिर पुटिनलाई युद्ध अपराधीको संज्ञा दिएका छन् । बाइडेनको भनाईलाई रुसविरुद्ध अमेरिकाको अडानमा ठूलो परिवर्तन मानिएको छ । बाइडेन र उनको प्रशासनका अधिकारीले अहिलेसम्म युक्रेनमा भएको आक्रमणलाई युद्ध अपराध भन्न सकेका थिएनन् ।
अमेरिकी पत्रिका न्युयोर्क टाइम्सका अनुसार युक्रेनमाथि रुसको हमला भएको २९ दिनमा करिब सात हजारभन्दा बढी रुसी सैनिकको मृत्यु भएको छ । जसमा तीन जना सेनाका अधिकृतसमेत रहेका छन् । यस्तै १४ देखि २१ हजार रुसी सैनिक युद्धमा घाइते भएका छन् ।
अमेरिकी रक्षा कार्यालय पेण्टागनका अधिकारीले अमेरिकी राष्ट्रपति बाइडेनलाई दिएको जानकारीअनुसार रूसी सैनिकको मनोबल कमजोर भएको दाबी गरिएको छ । रिपोर्टमा सैनिकहरू लड्नुको सट्टा सवारी साधन पार्क गरेर यताउता घुमिरहेको देखिन्छ ।
यसैबीच युक्रेनले युद्धमा करिब १३ हजार पाँच सय रुसी सैनिकको मृत्यु भएको दाबी गरेको छ । तर, रुसी अधिकारीले ४९८ जना आफ्नो सैनिकको मृत्यु भएको बताएको छ ।