हिमाल राई
सुनसरी बराहक्षेत्र-७ स्थित उद्यमी क्लबले मंगलबार स्थानीय वसन्तऋतु माविको खेल मैदानमा प्रथम बराहक्षेत्र १० कीमी खुला दौड प्रतियोगिता आयोजना गर्दैछ।
क्लबका अध्यक्ष विष्णु घिमिरेका अनुसार प्रथम पुरस्कार २१ हजार, द्वितीय हुनेलाई १६ हजार र तृतीयलाई ११ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ। यस्तै, चौथोदेखि दशौंसम्मलाई जनही २-२ हजार, सबै सहभागीलाई प्रमाणपत्र, टिसर्ट र महिला खेलाडीका लागि हौसलास्वरूप आकर्षक पुरस्कार व्यवस्था गरिएको घिमिरेले जानकारी दिए। प्रतियोगिताको आय चार लाख ३१ हजार ५०० र त्यति नै खर्च हुने अनुमान आयोजकको छ।
हालसम्म १० कीमी दौडमा सहभागी हुन १५० जनाभन्दा बढी पुरुष र २५ जनाभन्दा बढी महिलाले आवेदन दिएका छन्। बिहीबार बिहान ७ बजे शुरु हुने प्रतियोगिताका लागि ५० स्वयंसेवक, एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको व्यवस्थापन गरिएको क्लबले जनाएको छ।
यो दौड पहिलो संस्करण भएकोले बराहक्षेत्रभित्रका युवा, युवतीले मात्र सहभागिता जनाउन पाउने छन्। दौडका लागि चक्रघट्टी जेसिज, उद्योग वाणिज्य संघ बराहक्षेत्र र जनहित क्लब बराहक्षेत्रले एम्बुलेन्स सहयोग गर्ने भएका छन्।
पत्रकार सम्मेलनमा दौडका लागि तयार गरिएको टिसर्ट विमोचन गरिएको थियो। दौडको रुट बराहक्षेत्र–७ सोमबारे बजारबाट शुरु भई बिचपानी हुँदै नडाहा चौक, बांगे बजार, शिवालय मन्दिर, महेन्द्र गेट हुँदै सोमबारे बजारसम्मको छ।
आयोजकका अनुसार यस दौडको उद्देश्य दुर्व्यसनलाई निरुत्साहित गर्दै दुर्व्यसनमुक्त समाज निर्माणमा टेवा पुर्याउने छ। स्थानीय खेलाडीलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा चिनाउन पनि दौडबाट मद्द पुग्ने विश्वास आयोजकको छ।