रुस र युक्रेनको उत्पादनको विश्वव्यापी कमोडिटी बजारमा ठूलो भूमिका छ। यी दुवै राष्ट्र आधारभूत कच्चा पदार्थका प्रमुख निर्यातकर्ता हुन्। यससँगै यी राष्ट्र गहुँ, तेल, ग्यास, कोइलालगायत बहुमूल्य धातुहरूका आपूर्तिकर्ता पनि हुन्।
युक्रेन र रुसबीचको लडाईंका कारण ती वस्तुहरूको निर्यातमा समस्या उत्पन्न हुनसक्ने देखिएको छ। यस युद्धले कोरोना कहरबाट तंग्रिरहको विश्व अर्थतन्त्रलाई पुनः ठूलो झड्का लाग्ने देखिएको छ। लामो समयसम्म आधारभूत कच्चा पदार्थको आपूर्ति नहुँदा विश्व अर्थव्यवस्थासामु ठूलो चुनौती सिर्जना हुनसक्छ।
तेल-ग्यास
रुसको अर्थव्यवस्थाको ठूलो भाग क्रुड आयल र ग्यासको निर्यातमा टिकेको छ। युक्रेन माथि आक्रमण गर्नुअघि विश्वमा प्रयोग हुने हरेक १० ब्यारेलमध्ये एक ब्यारेल क्रुड आयल रुसको हुन्थ्यो। तर, रुस–युक्रेन युद्धको कारण अमेरिका, क्यानाडा र बेलायतले रुसी क्रुड आयल र ग्यास आयातमा रोक लगाएका छन्।
विज्ञहरूका अनुसार युद्धको कारणले तेल र ग्यासको मूल्यमा वृद्धि हुनसक्छ किनभने रुसले एकदिनमा ५० लाख ग्यालेन क्रुड आयल निर्यात गर्छ। आपूर्ति ठप्प हुँदा विश्व बजारमा त्यसको क्षतिपूर्ति गर्न गाह्रो हुनेछ।
तेल निर्यातक देशहरूको संगठन ओपेकका महासचिव मोहम्मद बारकिन्डोले रुसी उत्पादनको क्षतिपूर्ति दिन गाह्रो भएको बताएका छन्। उनका अनुसार रुसबाट कम तेल आयात गर्ने राष्ट्रहरू पनि समस्या महशुस गरिरहेका छन्। विश्व बजारमा तेलको मूल्य अझै बढ्न सक्ने सम्भावना धेरै छ।
खाद्यान्न र खाद्य तेल
रुस र युक्रेन खाद्यान्न र खाद्य तेललगायत अन्य खाद्य पदार्थको निर्यात गर्ने राष्ट्र हुन्। यी दुवै राष्ट्रलाई यूरोपका ‘ब्रेड बास्केट’ पनि भनिन्छ। विश्व बजारमा आउने गहुँमा २९ र मकैमा १९ प्रतिशत भाग युक्रेन र रुसले ओगटेका छन्।
युक्रेन सूर्यमुखी तेलको सबैभन्दा ठूलो उत्पादक हो। यससँगै रुस दोस्रो नम्बरमा छ। यूएन्डपी ग्लोबल प्लाट्सका अनुसार सूर्यमुखी तेल उत्पादनको ६० प्रतिशत भाग यी दुई राष्ट्रले ओगटेका छन्। तर, युद्धका कारण केही फ्युचर्स एक्सचेन्जमा कमोडिटीको मूल्य १४ वर्षयताकै उच्च विन्दुमा पुगेको छ।
विज्ञका अनुसार युद्धका कारणले अन्न उत्पादनमा असर पर्नसक्छ। रुस–युके्रन युद्धले लामो समयसम्म आपूर्तिमा बाधा उत्पन्न हुँदा अन्तर्राष्ट्रिय बजारमा गहुँको मूल्य दोब्बर हुनसक्छ। टर्की र इजिप्टले आफ्नो आवश्यकताको ७० प्रतिशत गहुँ रुस र युक्रेनबाट आयात गर्छन्। यसैगरी, युके्रन चीनको प्रमुख मकै आपूर्तिकर्ता हो।
विश्व खाद्य कार्यक्रमका निर्देशक डेभिड बेसले युद्धका कारणले विश्वभर खाद्यपदार्थको मूल्यवृद्धिले गरिब राष्ट्रमा ठूलो असर पर्ने बताएका छन्।
धातु
रुस आल्मुनियमदेखि तामा र कार बनाउन प्रयोग गरिने धातुको ठूलो निर्यातक हो। यो विश्वको चौथो ठूलो आल्मुनियम निर्यातक हो। यो स्टिल, निकल, प्यालेडियम र तामाको शीर्ष पाँच निर्यातकमा पर्छ। युक्रेन पनि औद्योगिक धातुहरूको प्रमुख उत्पादक हो। यसले प्यालेडियम र प्लेटिनमको निर्यात बजारमा पनि यसको महत्त्वपूर्ण हिस्सा ओगट्छ। आागमी दिनमा आल्मुनियमको डब्बा र तामाको तारमा पाइने वस्तुहरू पनि महँगिने छन्।
सन् २०२२ को शुरुदेखि नै एल्युमिनियम र निकलको मूल्य ३० प्रतिशतले बढेको छ। यससँगै तामाको तार पनि महँगो हुने लन्डन मेटल एक्सचेन्जका निर्देशक म्याथ्यु चेम्बरलेन बताएका छन्।

विश्व गोल्ड काउन्सिलका अनुसार रुस अस्ट्रेलिया र चीनपछि तेस्रो ठूलो सुन उत्पादक हो। गत वर्ष रुसले ३५० टन सुन उत्पादन गरेको थियो। केही समययता अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएको छ। रुस–युक्रेन युद्ध जारी रह्यो भने मूल्य अझै बढ्न सक्ने काउन्सिलको अनुमान छ।
रुस र युक्रेनबाट आपूर्ति हुने निकेल र प्यालेडियम पनि महँगो हुन सक्छ। प्यालेडियमको आपूर्ति अवरुद्ध भयो भने विश्वभरका अटोमेकरहरू सामु समस्या आउन सक्छ। निकेल लिथियम-फलाम ब्याट्री बनाउन प्रयोग गरिन्छ। मार्चको शुरुमा यसको मूल्य ७६ प्रतिशतले बढेको थियो।
प्यालेडियम पनि महँगो हुँदै गएको छ। यो कारमा उत्प्रेरक कम्भर्टर बनाउन प्रयोग गरिन्छ। रुसले विश्वको प्यालेडियम उत्पादनको ३८ प्रतिशत भाग ओगटेको छ।
नियोन
युक्रेन क्रिप्टन र नियोनजस्ता शुद्ध ग्यासहरूको प्रमुख आपूर्तिकर्ता हो। नियोनको प्रयोग कार बनाउन गरिन्छ।
ट्रेन्डफोर्सको तथ्यांकअनुसार विश्वभर निर्यात गरिने शुद्ध नियोन ग्यासको ७० प्रतिशत भाग युक्रेनले ओगटेको छ। अमेरिकामा चिप उद्योगले प्रयोग गर्ने नियोन ग्यास ९० प्रतिशतभन्दा बढी युक्रेनबाट आउँछ। यसको आपूर्तिमा समस्या उत्पन्न भएमा माइक्रोचिप्सको चरम अभाव हुनसक्छ।
मुडिज एनालिटिक्सका टिम यूवाईले एक रिपोर्टमा लेखेका छन्, ‘रुसले विश्वको प्यालेडियमको ४० प्रतिशत आपूर्ति गर्छ, युक्रेनले विश्वको नियोनको आपूर्तिको ७० प्रतिशत ओगटेको छ। अभाव अझै बढ्न सक्छ।’
बीबीसीबाट