पर्याप्त पश्चिमा सहायता नपाएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई शान्त बनाउने प्रयास थालेका छन्। अमेरिकी टेलिभिजन एबीसीलाई दिएको अन्तरवार्तामा उनले युक्रेनलाई नेटोको सदस्यता नचाहिएको घोषणा गरेका छन्। र, विवादास्पद लुहान्स्क र डोनेत्स्क क्षेत्रबारे रुससँग संवाद गर्न तयार रहेको बताएका छन्।
लुहान्स्क र डोनेत्स्क क्षेत्रकै विवादपछि २४ फेब्रुअरीदेखि रुसले युक्रेनमाथि अत्याचारपूर्ण आक्रमण युद्ध शुरु गरेको हो। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले नेटो युक्रेनलाई सदस्यता दिन तयार नरहेको खुलासा पनि गरेका छन्। युक्रेनमाथि आक्रमण गर्नुको एउटा कारक तत्त्वका रूपमा रुसले नेटोको पूर्वतर्फ विस्तार रहेको दाबी गर्दै आएको छ।
‘नेटो विवादास्पद विषय र रुससँग टकरावसँग डराउँछ,’ जेलेन्स्कीले व्यंग्य गरे। रुसले नेटोमा युक्रेन प्रवेश गरेको देख्न नचाहेको पनि उनले प्रष्ट्याए। ‘किनकि, रुस आफ्नो ढोकामै पश्चिमा मुलुकका सेना देख्न चाहँदैन,’ उनले भने।
पूर्वसोभियत मुलुकहरूलाई धमाधम नेटोमा सामेल गर्ने अमेरिकी रणनीतिलाई रोक्न रुसले युक्रेनको क्रिमियालाई कब्जामा लिएको थियो। अहिले पनि नेटो विस्तार रोक्ने उद्देश्यले युक्रेनमाथि आक्रमण गर्नु परेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउँदै आएका छन्।