रुसको आक्रमणपछि तनावग्रस्त बनेको युक्रेनबाट आफ्ना नागरिकलाई बाहिर निकाल्न भारतले ‘अपरेसन गंगा’ सञ्चालन गरेको छ। यस अपरेसनमा एकसाथ २४ जना केन्द्रीय मन्त्री र ८० वटा हवाई उडान परिचालन गरिएको छ।
सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था ‘द प्रिन्ट’ले जनाएअनुसार आफ्ना नागरिकको उद्धारमा कुनै कठिनाइ नहोस् भन्ने उद्देश्यले केन्द्रीय मन्त्रीहरूलाई नै परिचालन गरिएको हो।
आगामी १० मार्चसम्ममा सम्पन्न हुने आशा रहेको यो अपरेसनका लागि कुल ८० वटा हवाई उडान हुने छन्। एकसाथ एयर इन्डिया, एयर इन्डिया एक्सप्रेस, इन्डिगो, स्पाइस जेट, विस्तारा, गो एयर र भारतीय वायु सेनाका विमानलाई परिचालन गरिएको छ।
रोमानियाको राजधानी बुखारेस्टबाट मात्र ३५ वटा उडान तय भएका छन्। हंगेरीको राजधानी बुडापेस्टबाट २८ उडान तय गरिएको छ। पोल्यान्ड र स्लोभाकियाबाट पनि उल्लेख्य संख्यामा उडान गर्ने तयारी भारत सरकारको छ।
सरकारी अधिकारीहरूका अनुसार युक्रेनमा फसेका करिब १७ हजार भारतीय नागरिकलाई त्यहाँबाट निकालेर स्वदेश फर्काउन भारतले अपरेसन नै सञ्चालन गरेको हो।
‘अपरेसन गंगा’ २६ फेब्रुअरीबाट शुरु भएको हो। २ मार्चसम्ममा ८० मध्ये २४ उडानमार्फत भारतीय नागरिकलाई स्वदेश फर्काइसकिएको छ। भारतीय नागरिकलाई लिएको आएको पहिलो विमान २६ फेब्रुअरीमा मुम्बईमा अवतरण गरेको थियो। उनीहरूलाई वाणिज्य, उद्योग, कपडा, उपभोक्तामा मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री पियूष गोयलले स्वागत गरेका थिए।
प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रीहरू ज्योतिरादित्य सिन्धिया, हरदीपसिंह पुरी, किरण रिजिजु र बीके सिंहलाई हंगेरी, रोमानिया, स्लोभाकिया र पोल्यान्ड पठाएर युक्रेनबाट त्यहाँसम्म आएका आफ्ना नागरिकको देखभाल गर्न खटाएका छन्।
नयाँदिल्ली र मुम्बई विमानस्थलमा अन्य मन्त्रीलाई मोदीले तैनाथ गरेका छन्। मन्त्रीहरू जितेन्द्र सिंह, मुख्तार अब्बास नकबी, राव इन्द्रजित सिंह, नारायण राणे, जी किशन रेड्डी, कैलाश चौधरी, पुरुषोत्तम रुपाला, भगवन्त खुबा, वीरेन्द्र कुमार, मिनाक्षी लेखी, वी मुरलीधरन, भागवत कराड, निसिथ प्रमाणिक, शान्तनु ठाकुर, राव साहब दानवे, दर्शन जरदोश, देवुसिंह चौहान, भारती प्रवीण पवार, साध्वी निरन्जन ज्योति, भानुप्रताप सिंह बर्मा, सुभाष सरकार र कपिल पाटिललाई ‘मिसन गंगा’ सफल पार्ने अभियानमा एकसाथ परिचालन गरिएको छ।