युक्रेनमाथि आक्रमण गर्न अगाडि बढेको रुसी सेनाका ट्यांकहरूको ६० किलोमिटर लामो लाइनको स्याटेलाइट तस्बिर सार्वजनिक भएको छ।
स्याटेलाइट इमेजरी कम्पनी म्याक्सर टेक्नोलोजीले उक्त तस्बिर सार्वजनिक गरेको हो। तस्बिरमा रुसी बख्तरबन्द गाडीहरूको ६० किमि लामो लाइन देख्न सकिन्छ।
म्याक्सरका अनुसार युक्रेनको उत्तरी छिमेकी बेलारुसमा पनि रुसी सैनिक र हेलिकोप्टरको तस्बिर स्याटेलाइटमार्फत खिचिएको छ। बेलारुसको दक्षिणमा युक्रेन सीमाबाट २० किमि टाढा रुसी सैनिक र हेलिकोप्टर देखिएका छन्। तीनतिरबाट घेरेर युक्रेनमाथि रुसले आक्रमण तीव्र बनाएको प्रमाण हुन्, ती तस्बिर।
यसैबीच, रुसी विदेशमन्त्री दिमित्री कुलेबाले सीएनबीसीलाई अन्तरवार्ता दिँदै आफ्नो मुलुकले रुससामु आत्मसमर्पण नगर्ने बताएका छन्। ‘युक्रेन कूटनीतिक समाधानका लागि सधैँ तयार छ। तर, हामी आत्मसमर्पण गर्ने छैनौँ,’ उनले भने, ‘रुसका शर्तहरू सामु झुक्ने छैनौँ।’
रुससँग वार्ता कति समय चल्छ भन्ने कुनै ठेगान नभएको बताउँदै उनले अन्तिममा जित युक्रेनकै हुने बताए। रुसमाथि अधितम प्रतिबन्ध लगाउनुपर्नेमा उनले जोड दिए। र, युक्रेनलाई ज्यादाभन्दा ज्यादा हतियार उपलब्ध गराउन पश्चिमा मुलुकसँग उनले आग्रह गरे। अन्तर्राष्ट्रिय स्तरमा रुसलाई अलग–थलग बनाउनुपर्नेमा उनले जोड दिए।
रुसले जमिन र आकाश दुवैतर्फबाट युक्रेनमाथि आक्रमण गरिरहेको छ। रिपोर्टहरू अनुसार युक्रेनका सबै प्रमुख शहरहरूलाई रुसले निशाना बनाएको छ।