काठमाडौं- रसुवाको गोसाईंकुण्ड गाउँपालिका-२ टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह निर्माणले पछिल्लो समय गति लिएको छ।
कोभिड-१९ महामारी र कामदार अभावका कारण निर्माणले गति लिन सकेको थिएन। पछिल्लो समय अवस्था सहज भएसँगै बन्दरगाह निर्माणको कामले गति लिएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए। निर्माण शुरु भएको चार वर्ष बितेको छ। हालसम्म ५५ प्रतिशत काम सम्पन्न भएको गजुरेलले बताए।
चीनको तिब्बतस्थित ‘टिबेट फुली कन्सट्रक्सन ग्रुप लिमिटेड’ले बन्दरगाह निर्माणको जिम्मा पाएको छ। २० नोभेम्बर २०१९ मा शिलान्यास गरी औपचारिक रूपमा काम शुरु भएको थियो। निर्माण शुरु गरिएको ३० महिनाभित्र काम सम्पन्न गर्ने सम्झौता थियो।
कोभिड-१९ महामारी, चिनियाँ कामदार चीनबाट निर्माणस्थलमा आउन नसक्नुलगायत कारण कामले गति लिन सकेन। बन्दरगाह निर्माणको अवधि सकिई अहिले दोस्रोपटक म्याद थपिएको छ। उक्त बन्दरगाह सन् २०२५ सम्ममा निर्माण गरिसक्नुपर्ने सम्झौता छ। सम्झौता अगावै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई तीव्रता दिइएको ‘टिबेट फुली कन्सट्रक्सन ग्रुप लिमिटेड’का म्यानेजर याङ इलीले बताए। याङका अनुसार खोला किनारमा मेसिनरी वाल लगाउने काम सम्पन्न भएको छ।
यस्तै, निर्माणस्थल जाने सडक अन्तिम चरणमा छ। अहिले पार्किङस्थल सम्याउने, गोदामघर निर्माणका लागि फाउन्डेसनको काम सम्पन्न गरी संरचनामा छाना छाउने काम भइरहेको उनले जानकारी दिए। ‘अहिले कामलाई गति दिएका छौं। काम सहज बनाउन सबैको साथ सहयोग पाएका छौं,’ उनले भने, ‘तोकिएको समय अगावै निर्माण सम्पन्न गर्छौं।’
चीन सरकारको सहयोगमा दुई देशको आयात-निर्यात सहज बनाउने उद्देश्यसहित बन्दरगाह निर्माण गरिन लागेको हो। नेपाल र चीनबीच भएको सम्झौताअनुसार चिनियाँ पक्षले सुक्खा बन्दरगाह निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ। उक्त बन्दरगाह निर्माणमा करिब १२ करोड ४० लाख चिनियाँ युआन खर्च हुने अनुमान छ। चीन सरकारको आर्थिक सहयोगमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न बन्दरगाह निर्माणाधीन छ।
८.५ हेक्टरमा निर्माणाधीन बन्दरगाहमा एउटा मुख्य भवन रहने छ। त्यसमा प्रशासनिक कामका लागि भन्सार, क्वारेन्टाइन, बैंक, ल्याब, सुरक्षालगायत कार्यालयहरू रहने रसुवागढी भन्सार कार्यालयले जनाएको छ। ३१५ भन्दा बढी ट्रक र कन्टेनरहरू राख्न सकिने गरी पार्किङस्थल निर्माण हुनेछ।
यस्तै, ७५० वर्गमिटरमा गोदामघर निर्माण हुनेछ। चीन सरकारको सहयोगमा चिनियाँ पक्षले रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह निर्माणको काम शुरु गरेको हो। बन्दरगाह निर्माणको काम सम्पन्न भएपछि अहिले भइरहेको अस्तव्यस्तता हट्ने विश्वास छ।