रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमणको घोषणा गरेका छन्। उनले त्यहाँ रहेका युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्न आग्रह पनि गरेका छन्।
रुसको सैन्य कारवाही घोषणासँगै युक्रेनका विभिन्न भागमा विस्फोटको आवाज सुनिएको छ। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले रुसी राष्ट्रपति पुटिनलाई आफ्ना सैनिकलाई रोक्न र शान्ति प्रयास गर्न आग्रह गरेका छन्।
पुटिनको यो घोषणासँगै रूस र युक्रेनको तनाव युद्धको चरणमा प्रवेश गरेको छ। पुटिनले रूसी र युक्रेनी सेनाबीचको लडाइँ अवश्याम्भावी भएको दाबी गरेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले संसारभरका मानिसले युक्रेनका नागरिकका लागि प्रार्थना गरिरहेको उल्लेख गरेका छन्। र, यो अन्यायपूर्ण कदमका लागि पुटिनले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन्।
रुसी राष्ट्रपति पुटिनले आफ्नो मुलुकमाथि सैन्य कारबाहीको घोषणा गरेपछि युक्रेनले व्यावसायिक उडानका लागि आफ्नो आकाश बन्द गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार सुरक्षाको कारण देखाउँदै युक्रेन सरकारले बिहीबार बिहानदेखि उडान बन्द गरेको हो।