पोखरा- पोखरामा सय वर्षको इतिहास बनाएका बालधारा संरक्षण अभावमा मासिने जोखिममा परेका छन्।
विसं १९७७ मा तत्कालीन कमान्डर इन चिफ बबरशम्शेरले आफ्ना नाबालक छोरा बालशम्शेरको स्मृतिमा यी धारा बनाएका थिए। बालशम्शेरको १४ वर्षको उमेरमा निधन भएको थियो। त्यतिबेला पोखरामा पानीको निकै हाहाकार थियो। बबरशम्शेरले आफ्नो छोराको वार्षिक स्मृतिमा पोखरेलीको तिर्खा मेट्न विभिन्न स्थानमा १४ वटा धारा निर्माण गरेको इतिहास रहेको सम्पदाप्रेमी तथा पोखराका पुराना फोटो संकलक सुनिल उलक बताउँछन्।
‘त्यसताका पोखरामा खोलानाला तालतलैयाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता थियो। बबरशम्शेरले १४ वर्षीय छोराको निधन भएपछि उनको सम्झनामा १४ वटा बालधारा बनाएर धेरैको तिर्खा मेटाएका थिए। सबै धारामा एउटै शिलालेख देख्न सकिने भएकाले यसबाट पनि त्यो इतिहास झल्कन्छ,’ उलकले भने।
उनका अनुसार अहिले केही संरक्षण भएका छन् भने केही अतिक्रमणको चपेटामा परेर मासिइसकेका छन्। बालधाराकै पानी खाएर हुर्केको अनुभव सुनाउँदै उलक भन्छन्, ‘यी धाराको पुरातात्त्विक महत्त्व छ। त्यसैले संरक्षण र सम्बर्द्धन गर्नुपर्छ भनेर बालधारा संरक्षण समिति गठन गरी पहल थालेका छौं।’
उलक नै समितिका संयोजक पनि हुन्। बालधाराले पोखराको इतिहासलाई बुझ्न पनि मद्दत पुग्ने उनी बताउँछन्। जुन-जुन वडामा बालधारा छन्, ती ठाउँमा स्थानीयवासी र वडाका जनप्रतिनिधिमार्फत् संरक्षणका लागि पहल गरिएको उनको भनाइ छ। उनका अनुसार भैरवटोल, मोहरियाटोल, नालामुख, पालिखेचोक, बागबजार, भीमसेन टोल, रामकृष्णटोल, सिद्धार्थचोक, सिमलचौर, तेर्सापट्टि, रानीपौवाको शोभा भगवती मन्दिर र दूरसञ्चारअघि, माटेपानीको (पुछारको धारा) साँघुमुखमा बालधारा निर्माण गरिएको थियो।
भैरवटोल, नालामुख, रामकृष्णटोल, सिमलचौर, तेर्सापट्टि र माटेपानीको पुरानोधाराको संरक्षण भएको छ भने बाँकी धारा सम्बन्धित वडामार्फत संरक्षणका लागि पहल भइरहेको छ। साँघुमुखको र दूरसञ्चार अगाडि भने धारा भएको ठाउँ नै मानवीय अतिक्रमणमा परेका छन्। सिद्धार्थचोकमा धाराका केही सामग्री भेटिए पनि त्यही ठाउँमा भवन बनिसकेकाले त्यहाँ पनि बालधारा पुनर्निर्माण असम्भव भएको छ।
पोखरा महानगरपालिका-५ पर्स्याङ बालधारामा आउने पानीको मुहान थियो। त्यस ठाउँलाई धारापानी भनिन्छ। आज पनि त्यो ठाउँ धारापानीले नै परिचित छ। इतिहासको दृश्य बोकेको, त्यतिबेलाको अवस्थालाई अध्ययन गर्न सकिने पुरातात्त्विक महत्त्व बोकेका यस्ता सम्पदाको संरक्षणमा सम्बन्धित निकायले चासो दिन नसक्दा केही बालधारा भएका स्थानमा घर र पर्खालहरू बनेर इतिहास मेटिएको उनको भनाइ छ।
२०२२ सालमा पोखरेलीले भोटीखोला योजना आएपछि पानीको सहजता हुन थाल्यो। बालधाराको पानी पनि अन्यत्र लगिएपछि धारामा पानी सुक्न थालेको उनको बुझाइ छ। ऐतिहासिक र पुरातात्त्विक संरचनाको संरक्षण आवश्यक रहेकाले आफूहरूले चासो दिएको उलकले बताए।
पोखराको सौन्दर्यमा पुरातात्त्विक महत्त्व बोकेको धाराको उस्तै शैलीमा संरक्षण सम्वर्द्धन हुनुपर्नेमा त्यसो हुन नसकेको संस्कृतिकर्मी तीर्थ श्रेष्ठ बताउँछन्। भन्छन्, ‘बालधाराको पुरातात्त्विक महत्त्व छ, यस धाराले त्यतिबेला पोखरामा पानीको अभावको अवस्था रहेको पुष्टि गर्छ भने अर्कोतर्फ पानी खुवाउने पुण्य कार्यलाई पनि जोड दिएको बुझ्न सकिन्छ।’ ब्रिटिस शैलीका ती धाराहरू निकै आकर्षक थिए भने मान्छेलाई मात्र नभएर गाईवस्तुलाई पनि पानी खान मिल्ने गरी बनाइएको उनी स्मरण गर्छन्।
पोखरी खनेर, कुवा बनाएर, वरपीपल चौतारो छेउछाउमा मूलको पानी ल्याएर अग्रजहरूले पुण्य कर्म गरेजस्तै बबरशम्शेरले पनि आफ्नो छोराको स्मृतिमा पोखरेलीको प्यास मेटाउन धारामार्फत पोखरेलीलाई पानी खुवाएर पुण्य कमाएको उनले बताए। बालधारा निर्माणले पोखरामा आधुनिक धाराको विकास पनि शुरुवात गरेको थियो। यो धारा बनेपछि खोलानालामा पुगेर पानी बोकेर ल्याउनुपर्ने बाध्यता पनि हटेको थियो।
श्रेष्ठले आफ्नो स्मरणमा भएसम्म १४ वटा मात्र नभएर अझै बढी भएको अनुमान गरे। ‘यसका बारेमा थप अनुसन्धान गर्न सकिन्छ,’ उनले भने। खानेपानी संस्थानले यी धारामा आउने मुहानलाई लिएर सार्वजनिक स्थानमा पानी वितरण गरे पनि बालधाराको संरक्षणमा चासो नदेखाएको उनको भनाइ छ। बढ्दो शहरीकरणले घर-घरमा पानीको धारा आएर सार्वजनिक धाराको महत्त्व घटे पनि बालधारा पुरातात्त्विक महत्त्व भएकाले संरक्षण आवश्यक रहेको ‘बालधारा संरक्षण अभियान समिति’का सदस्य तथा राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिका निर्वतमान अध्यक्ष विष्णुहरि अधिकारी बताउँछन्।
साँघुमुखमा रहेको धाराको पानि खाएर हुर्केको स्मरण गर्दै अग्रज फोटो पत्रकार विश्व शाक्य त्यतिबेला पोखरेलीको तिर्खा मेटाएको बालधारा एउटा इतिहासको चित्र भएकाले यसको संरक्षणमा स्थानीयवासी र सरोकारवालाहरूले पहल गर्नुपर्ने बताउँछन्।
‘हामीले पानी खाएर हुर्केको साँघुमुखको त्यो बालधारा खोइ कता छ ? अहिले त साँघुमुख भन्ने नाम पनि उच्चारण भएको सुनिँदैन, इतिहास बोकेका ठाउँका नाम र संरचनालाई सम्पदा संरक्षणकर्मीले विशेष चासो दिएर जोगाउनुपर्ने हो,’ उनले भने।