काठमाडाैं- दाङका २६ वर्षीय राजेश थापा (नाम परिवर्तन)को जीवन सुखमय बितिरहेको थियो। गाउँकै स्कुलमा बुवा शिक्षक थिए। बुवाकै जागिरमा परिवार धानिएको थियो। दुःख, सुख जे भए पनि गाउँ-ठाउँमै मिहिनेत गरी जीवन चलाउनुपर्छ भन्ने विश्वास राख्थे।
राजेशको छिमेकमै एक काका बस्छन्। उनका छोरा अमेरिका छन्। उनले राजेशलाई आफ्नो छोरोको उमेरको भएर पनि नेपालमा यत्रो समय केही गर्न नसकेको भनिरहन्थे। र, आफ्नो छोराले महिनामै ५-७ लाख कमाउने फुटानी लडाउँथे।
घाँटी हेरी हाँड निल्नु भनेझैं बुवाको सरकारी जागिरमा निर्वाह हुदै आएका राजेशलाई आफ्नो खल्तीमा सुक्का पैसा नहुँदा छिमेकी मुलुक भारतमा जाने आँट पनि थिएन। अमेरिका त झनै टाढाको विषय थियो।
उसो त, सबैले अमेरिकालाई सपनाकै देशझैं मान्छन्। त्यहाँको सेवा सुविधा र यहाँ गरेको मिहिनेत यदि त्यहाँ गर्ने हो भने लाखौं कमाउन सकिन्छ भन्ने भ्रम धेरैमा देखिन्छ। त्यही भ्रममा हरकोही अमेरिका जान मरिहत्ते गर्छ।
छिमेकी काकाको बारम्बारको कुराले आफ्नो देश छोड्न रहर नहुँदा नहुँदै पनि आफ्नो आर्थिक स्थिति सुधारका लागि भए पनि राजेशलाई अमेरिका जाने रहर जाग्यो। रहर त जाग्यो जाने कसरी र कहाँबाट पैसा ल्याउने ? समस्या त्यही थियो। ती काकाले आफ्नो छोरोलाई अमेरिका पठाउने दलाललाई आफ्नै भिनाजु भनी एक दिन राजेशलाइ पनि परिचय गराए।
दलालले आफूले धेरै जनालाई अवैध रूपमा अमेरिका उडाइसकेको र अहिले राम्रो कमाइ गर्दै आएको राजेशलाई सुनाए। जाँदा लगानी लागे पनि लागेको ऋण एक वर्षभित्रै तिर्न सकिहालिन्छ भन्ने सुन्दा राजेश त्यस दिनदेखि अमेरिकाको सपना बुन्न थाले। त्यसबारे उनले परिवारमा सल्लाह गरे, सबैको सहमति पनि भयो।
दलालले राजेशलाई अमेरिका पुर्याएवापत २८ लाख रुपैयाँ र तीन महिनाभित्र अमेरिका पुर्याउने कुरा गरेका थिए। शिक्षण पेशा गर्दै आएका राजेशका बुवालाई २८ लाख सानो रकम थिएन। उनले घरजग्गा बैंकमा राखेर ३० लाख रुपैयाँ ऋण लिए।
तीन महिनाभित्र अमेरिका पुगिहालिन्छ, त्यसपछि लगेको ऋण तिर्ने र आफ्नो सुनौलो भविष्यको कल्पना गर्दै राजेश गत ३ साउनमा काठमाडौंबाट दुबईको विमानमा चढे। दुबईमा उनलाई लिन अर्को दलालले पर्खिरहेका थिए। तिनै दलाललाई राजेशले पछ्याए। तीन महिनामा अमेरिका पुर्याउँछु भनेर लगेका दलालले दुई महिनासम्म राजेशलाई दुबईमै राखे।
नेपालबाट दुबईसम्म एक्लै गएका राजेशले त्यहाँ आफूजस्तै करिब १८ जना नेपाली युवासँग भेटे। उनीहरू पनि राजेशले जस्तै अबैध रूपमा अमेरिका जान हिँडेका थिए। र, धेरै दिनदेखि दुबईमै अलपत्र थिए। दुई महिनापछि राजेशसहित सात युवालाई पश्चिम अफ्रिकी मुलुक गाम्बिया लगियो। त्यहाँ उनीहरूलाई ६ महिना राखियो।
गाम्बिया पुग्नासाथ राजेशलाई त्यहाँ पुर्याउने दलाल सम्पर्कविहीन भइसकेका थिए। दुबईमा रहुन्जेल राजेशको परिवारसँग ती दलाल सम्पर्कमै थिए। र, अमेरिका पुर्याउन मागेको रकम लिइसकेका थिए। गाम्बिया पुग्नासाथ त्यो रकम लिएर नेपालका दलाल फरार भए। त्यसपछि राजेश र अर्का एक युवक गरी दुई जनालाई पैदलमार्ग हुँदै घाना पुर्याइयो। त्यसपछि दुबईबाट गाम्बिया पुर्याएका दलालले घानामा राजेश र अर्का युवकलाई अर्कै दलालको जिम्मा लगाए।
घानामा उनीहरूलाई ३ महिनासम्म बन्धक बनाएर राखियो। उनीहरूको पासपोर्ट खोसियो। घानामा उनीहरूले बिताएका ३ महिना निकै दर्दनाक थिए। एउटा कोठामा बन्द गरी दलालले कुटपिट गर्ने, कहिले खाना दिने त कहिले भोकभोकै राख्ने गर्थे।
त्यसपछि दलालले थप रकम दिएपछि आजाद गरिदिने बताएपछि राजेश र उनीसँगै फसेका युवकले दलाललाई थप पैसा दिए। उनीबाट मुक्त भए। मुक्त भएपछि उनीहरूले आ-आफ्नो परिवारसँग सम्पर्क गर्न पाए। त्यसपछि उनीहरूको परिवारले काठमाडौंस्थित मानव बेचविखन अनुसन्धान ब्युरोमा दलालविरुद्ध उजुरी दर्ता गराए।
राजेशका बुवाले ब्युरोमा उजुरी दर्ता गरेको एक साताभित्र उनको उद्धार भयो। र, उनी स्वदेश फर्किएको एक साता मात्र भयो।
०००
राजेश त एक उदाहरण मात्र हुन्। ठूलो रकम कमाइ हुने लोभमा अवैध बाटो अमेरिका र युरोपेली मुलुक छिर्न खोज्ने थुप्रै नेपाली युवाको कहानी उनकै जस्तो छ। उनीहरू यसरी नै बीच बाटोमा पुगेर दलालको फन्दामा पर्छन्, अनेक यातना बेहोर्छन्। अनि कष्टकर दिन बिताएर स्वदेश फर्किन्छन्।
पछिल्लो समय त अवैध रूपमा युरोप, अमेरिका जान हिँडेका कतिपय युवा त परिवारको सम्पर्कमा पनि आउन सकेका छै्रनन्। त्यस्ता युवाहरू कहाँ जान्छन् र उनीहरूमाथि के हुन्छ भन्ने कसैलाई जानकारी छैन। उनीहरू बेपत्ता बनेका छन्।
अहिले अवैध रूपमा युरोप तथा अमेरिकामा नेपाली युवा जाने क्रम निकै बढेको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोका प्रवक्ता एसपी कृष्णप्रसाद पंगेनी बताउँछन्। भन्छन्, ‘केही दिनअघि दाङका सातजना युवालाई अमेरिका पुर्याउँछु भनेर जनही २५ लाख लिएर ३ महिनासम्म अफ्रिकी मुलुक गाम्बियामा राखेको र त्यहाँबाट घाना पुर्याई बन्धक बनाएको सूचना ब्युरोलाई प्राप्त भएको छ। अमेरिका पुग्ने सपनामा अहिले ती नेपाली युवा घानामा फसिरहेको सूचना छ।’
यस्तै, इथियोपियामा पनि ठूलो संख्यामा खासगरी रुकुम र दाङका युवालाई अमेरिका पुर्याउँछु भनेर दाङ र रुकुमकै दलालले अलपत्रमा छोडेको सूचना प्राप्त भएको एसपी पंगेनी बताउँछन्।
किन जान्छन् ज्यानै जोखिममा पारेर ?
मानव तस्करीमा संलग्न गिरोहमार्फत अहिले नेपाली युवा युरोप र अमेरिका जाने क्रम बढ्दो छ। जस्तोसुकै समस्याका बावजुद यो क्रम रोकिएको छैन। रोकिने लक्षण पनि छैन। बेरोजगार युवा ऋण जोहो गरेरै भए पनि अवैध रूपमा युरोप र अमेरिका जान तयार देखिन्छन्।
केही वर्षअघि त्यसरी नै धेरै पैसा खर्च गरेर दलालमार्फत केही युवालाई अवैध रूपमा ल्याटिन अमेरिकी देशहरू ब्राजिल, कोलम्बिया पुगेका थिए। र, त्यहाँबाट पानामा, कोस्टारिका, होन्डुरस, मेक्सिको हुँदै अमेरिका छिरेका थिए। उनीहरूले कठोर यात्रा गर्दै अमेरिका पुग्न सफलता पाएको र त्यहाँ राम्रो कमाइ गर्न थालेको नेपाली युवामाझ प्रचार भएपछि उनीहरूकै सिको गर्दै जान थालेको एसपी पंगेनी बताउँछन्। उनको भनाइमा त्यही विन्दुदेखि नेपाली युवाले अवैध मार्गबाट अमेरिका यात्रा रोज्न थालेको पाइन्छ।
यसको मुख्य कारण स्वदेशमा रोजगारीको अवसर नहुनु नै रहेको एसपी पंगेनीको बुझाइ छ। नेपालमा पढेलेका धेरै युवा बेरोजगार छन्। अमेरिका पुगेपछि त्यहाँ उनीहरूलाई थुनामा राखिन्छ। थुनामुक्त गरेपछि मात्र उनीहरूले रोजगारी पाउने सम्भावना रहन्छ। कतिपयलाई त अमेरिकाले स्वदेश नै फर्काइदिन्छ।
अमेरिकामा राम्रो कमाइ आशामै नेपाली युवा दलाललाई आफ्नो र परिवारको सिरिखुरी सम्पत्ति जिम्मा लगाएर हिँड्छन्। त्यसरी हिँडेका युवा अमेरिका पुग्छन् नै भन्ने हुँदैन। कतिपयले कठोर जंगल र समुद्री मार्गमै जीवन गुमाउँछन्। अमेरिका छिर्न सफलता पाएका भन्दा बाटोमै जीवन गुमाउने युवाको संख्या ठूलो हुन्छ। तर, कतिले जीवन गुमाए भन्ने यकिन तथ्यांक कसैसँग उपलब्ध छैन। सोही कारण नेपाली युवा अवैध मार्गबाट अमेरिका छिर्न हिँड्ने लर्को रोकिएको छैन।
अमेरिका मात्र होइन, युरोपका देशहरू पनि युवाको रोजगारीको प्राथमिकतामा देखिन्छन्। त्यसैले दलालहरू युवालाई अजरबैजान, किर्गिस्तान पुर्याएर पोर्चुगल प्रवेश गराउने भन्दै ठग्न उद्यत रहँदै आएका छन्।
एसपी पंगेनी भन्छन्, ‘अहिले ४० जना नेपाली महिलालाई पोर्चुगल पुर्याउँछु भनी हरेकबाट ३ हजार डलर लिई किर्गिस्तान पुर्याएर भागेको पनि सुन्नमा आएको छ। यसबारे थप अनुसन्धान गरिरहेका छौं।’
बर्सेनि कति युवा अवैध रूपमा विदेशिन्छन् ?
नेपालबाट अमेरिका जान निस्किएका युवा कोही नेपालबाटै त कोही दुबई पुगेर पनि अमेरिका प्रवेश गर्ने अनेकौं मार्गमा भड्किरहेका हुन्छन्। कतिपय भारतको बाटो पनि जाने गर्छन्। त्यसैले बर्सेनि कति युवा अवैध रूपमा बाहिरिन्छन् भन्ने यकिन तथ्यांक मानव बेचविखन अनुसन्धान ब्युरोसँग छैन। तर, ब्युरोले बिचल्लीमा परेका व्यक्तिहरू बारे सूचना पाउनेबित्तिकै उनीहरूको उद्धारमा खटिने गरेको छ। त्यसकारण उद्धार गरेको तथ्यांक भने ब्युरोसँग उपलब्ध छ।
आर्थिक वर्ष ०७५-७६ मा ब्युरोको स्थापना भएको हो। स्थापनाकालदेखि नै ब्युरोले युरोप, अमेरिकामा अवैध रूपमा हिँडेका तर गन्तव्यमा पुग्न नसकी बिचल्लीमा परेका युवाको उद्धार गर्दै आएको छ। आव ०७५-७६ मा ब्युरोको पहलमा २३८ युवाको उद्धार गरिएको थियो। तीमध्यै १७१ पुरुष र ६७ महिला थिए।
यस्तै, आव ०७६-७७ मा ६२ जनाको उद्धार भयो। तीमध्ये ५२ महिला र १० पुरुष छन्। आव ०७७-७८ मा ४४ जनाको उद्धार भयो। तीमध्ये ४२ महिला र २ बालिका थिए। आव ०७८-७९ मा ४८ जनाको उद्धार गरियो। तीमध्ये २४ महिला, २० बालिका, ३ पुरुष र १ बालक थिए।
यस्तै, ०७९-८० मा ९९ जनाको उद्धार गरिएको छ। तीमध्ये ६० महिला, १३ बालिका, १० पुरुष र १६ बालक छन्। यसरी पाँच वर्षमा ब्युरोले ४९१ जनाको उद्धार गरिसकेको छ।
यस्तै, मानव तस्करी गरेको आरोपमा चार वर्षमा ब्युरोले २१० मुद्दा दर्ता गरेको छ। त्यसमध्ये आव ०७६-७७ मा ३६, ०७७-७८ मा १२०, ०७८-७९ मा २४ र ०७९-८० मा ३० मुद्दा दर्ता भएका छन्।
अमेरिकाबाट मात्रै ०७५-७६ मा ४५ युवालाई उद्धार गरिएको थियो। ०७६-७७ मा ८३, ०७७-७८ मा ३०, ०७८-७९ मा १३ र ०७९-८० मा ६ गरी पाँच वर्षमा १७७ जना युवालाई अमेरिकाबाट उद्धार गरिएको छ। तीमध्ये १७३ पुरुष र ४ जना महिला छन्।
एसपी पंगेनी भन्छन्, ‘अहिले अमेरिका र युरोपेली देश पुगेर दुःख पाएर फर्केका व्यक्तिहरू नै नेपाली युवालाई अवैध रूपमा पठाउने दलाल बनेका छन्। उनीहरू आफैं कुनै समयमा गन्तव्यमा पुग्न नसकी बिचल्लीमा परेर फर्ककाहरू हुन्। आफैं समस्यामा परी फर्केकाहरू नै अन्य सोझासाझा व्यक्तिहरूलाई लुट्न उद्यत देखिन्छन्।’
अवैध रूपमा विकसित मुलुकमा मानव तस्करी गराउने क्रम सन् २००० देखि शुरु भएको देखिन्छ। खासगरी, रोल्पा, रुकुमतिरका युवा माओवादीको सशस्त्र द्वन्द्वको समयमा ल्याटिन अमेरिका पुगेपछि कठिन मार्गबाट अमेरिका छिरेको देखिन्छ। यसरी २-४ जना गएपछि उनीहरूका नातागोता पनि त्यसरी नै जानका थालेको पाइन्छ। र, उनीहरूले पनि अन्य युवालाई अवैध बाटोबाट आउन प्रेरित गरेको पाइएको छ।
पछिल्लो समय त पुरुष मात्र नभई महिलाहरू पनि अवैध बाटो विकसित मुलुक जाने क्रम बढेको छ। अवैध रूपमा अन्य मुलुक जाँदा महिलाहरू यौन हिंसा तथा बेचविखनमा समेत पर्न सक्ने खतरा रहन्छ। तर, यस्ता केसहरू अहिलेसम्म मानव ब्युरोमा दर्ता भएका छैनन्।
युरोप र अमेरिका जान पदमार्ग र समुद्री मार्गको यात्रा गर्ने भएकाले कति त डुंगा पल्टिएर र कोही हिँड्दाहिँड्दै अशक्त भएर बाटोमै मृत्युवरण गरेका घटना पनि छन्।
यी हुन् अवैध बाटो अमेरिका पुर्याइने रुटहरू
अवैध रूपमा अमेरिका जान दलालहरूले विभिन्न रुट प्रयोग गर्छन्। त्यसमध्ये एउटा हो, नेपाल, भारत, इथियोपिया, ब्राजिल, कोलम्बिया, कपुरगाना (कोलम्बियाको विकट क्षेत्र), पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिको।
अर्को रुट नेपालबाट दुबई, पेरिस, ब्राजिल, कोलम्बिया, कपुरगाना, कोस्टारिका, नकारागुवा, होन्डुरस, ग्वाटेमाला। यस्तै, अर्को रुट हो, नेपाल, रुस, ब्राजिल, कोलम्बिया, कपुरगाना, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिको।
यसैगरी, नेपालबाट थाइल्यान्ड, बोलिभिया, ब्राजिल, कोलम्बिया, कपुरगाना, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिको हुँदै पनि अमेरिका पुर्याइने गरेको छ।
यी रुटहरू प्रयोग गरी जाने क्रममा नेपाली युवा बाटोमै पक्राउ पर्ने, बिरामी हुने, हिमपातमा परी मृत्यु हुने, सवारी साधनमा जोखिमयुक्त तरिकाबाट यात्रा गर्दा दुर्घटनामा पर्ने र मृत्यु हुने, समुद्रमा डुंगा पल्टिएर मृत्यु हुने र जंगलमा खानेकुरा नपाई मृत्यु भएका घटना ब्युरोमा दर्ता भएका छन्।
के गर्दै आएको छ ब्युरोले ?
अवैध रूपमा युरोप अमेरिका जाने युवाको जमातलाई रोक्न ब्युरोले मानव ओसारपसारसम्बन्धी घटनाको प्रभावकारी अनुसन्धान गर्दै आएको छ। ओसारपसारमा परेकाहरूको उद्धार तथा संरक्षण गर्ने, ओसारसारको जोखिममा पर्न सक्ने व्यक्तिको पहिचान तथा उद्धार लागि प्रहरी परिचालन गर्ने, मानव ओसारपसारसम्बन्धी सर्ट फिल्म तयार गर्नेलगायत काम ब्युरोले गर्दै आएको छ। तथापि, जबसम्म नागरिक आफैं सचेत हुँदैनन्, तबसम्म ब्युरोले जति प्रयास गर्दा पनि सार्थक नहुने एसपी पंगेनी बताउँछन्।