काठमाडौँ – बुधबार काठमाडौंको असन चोकमा नेवार समुदायले पाहाँचस्ह्रे जात्रा मनाएका छन्।
‘पाहाँ’ भन्नाले अतिथि भनेर बुझिन्छ भने ‘चःह्रे’ भनेको चतुर्दशीलाई भनिने गरिन्छ। यसलाई ‘पिसाच चतुर्दशी’ पनि भन्ने भनिन्छ।
यो जात्रामा असन चोकमा पहिला पहेंलो टोपीले सजिएको एक समूहले आफ्नो काँधमा लुँमधी भद्रकाली बोकेर बाजागाजासहित असन परिसर आइपुगेका छन्।
किम्बदन्तीअनुसार आजको दिन इन्द्रायणी (लुति अजिमा) बाहेक अरू सबै अजिमाहरूलाई खटमा राखेर पूजा गर्न टोल–टोलबाट लिएर जाने गरिन्छ। इन्द्रायणी आफ्नो अरू अजिमा दिदीबहिनीभन्दा निकै गरिब थिइन्। एकदिन दिदी अजिमाले सबैलाई भोज बोलाउँदा इन्द्रायणी अर्थात् लुति अजिमालाई भोज सम्पन्न भएको भोलिपल्ट बोलाइन्छ।
उनलाई हेला गरेर अघिल्लो दिनको खाना दिइन्छ। अपमानित भएर त्यहाँबाट उनी निस्कन्छिन् र बाटोबाट एउटा फर्सी किनेर लान्छिन्। त्यो फर्सी पकाउँदा सुन हुन्छ। त्यसपछि उनी त्यो सहरकै धनी महिला हुन्छिन्।
अर्को वर्ष फेरि दिदी अजिमाले उनलाई भोज बोलाउँदा इन्द्रायणी सम्पन्न भएर जान्छिन्। यसपटक उनको छुट्टै सत्कार गरिन्छ। लुति अजिमाले यो सत्कार आफ्नो धनको लागि मात्र भएको भनेर आफ्ना गरगहरना फुकालेर भोजमाथि राख्छिन्। अनि दिदीहरूलाई कहिले नभेट्ने बाँचासहित बच्चाहरू लिएर बाहिर निस्किन्छिन्। त्यसैले आजको दिन इन्द्रायणीको खट निकालेर पूजा गरिँदैन। उनको बाला चतुर्दशीको दिन छुट्टै पूजा हुन्छ र खट निकालिन्छ।
पाहाँचस्ह्रेको समयमा नेवार समुदायमा भव्य भोज आयोजना गरी आफ्नो चेलीबेटी, आफन्त र इष्टमित्रलाई घरमा बोलाउने चलन पनि छ। यसैले आजको दिन आफ्न्तजनमा माया, प्रेम, सद्भावना र एकता थप मजबुत हुने मान्यता छ।
असन बजारमा लुँमधी आएपछि जात्राको माहौल बन्न थाल्यो। केही समयपछि निलो टोपी लगाएको समूह बाजागाजाका साथमा त्यही आइपुगे। वचुँ भद्रकाली र लुँमधी भद्रकाली देवी सवार खट असन बजार पुगेपछि कंकेश्वरीको प्रतिक्षा सुरु हुन्छ।
वचुँ भद्रकाली, लुँमधि भद्रकाली तथा कंकेश्वरी तीन दिदीबहिनीको भेटघाटको रुपमा पाहाँ चर्हेको न्हि जात्रा मनाउने गरिन्छ। असनमा प्रतिक्षारत दुई देवीको खटलाई कंकेश्वरीको खटले तीन पटक परिक्रमा गरेपछि आगोको ज्वाला (ति प्वा) आदान प्रदान हुन्छ।
त्यसपछि अर्को वर्ष टुँडिखेलमा पुनः भेट गर्ने वाचाका साथ असन जात्रा (न्हि जात्रा) सम्पन्न हुन्छ। यो जात्रालाई स्थानीयले ‘द्यःल्वाकेगु’ जात्रा भन्छन्। पाहाँ चर्हे भित्रकै यो एउटा महत्वपूर्ण जात्रा हो।