काठमाडौँ – ‘ओएस नेपाल म्युजिक अवार्ड’को चौथो संस्करण आयोजना हुने भएको छ । ओएस नेपालले विगत ४ वर्षदेखि नियमित आयोजना गर्दै आएको अवार्डको आवेदन खुल्ला गरिएको हो ।
आयोजकले एक विज्ञप्ति जारी गर्दै अवार्डका लागि आवेदन खुल्ला भएको जानकारी गराएको छ।अवार्डमा सहभागी हुन चाहने गीतहरु २०७८ वैशाख २ गतेदेखि ०८० वैशाख २ गतेभित्र बजारमा आएका गीत, सङ्गीतले सहभागिता जनाउन सक्नेछन् ।
साङ्गीतिक स्रष्टाहरुको सृजनालाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको अवार्डमा गीत संगीततर्फ आधुनिक, गजल, पप, लोकपप, लोक, लोकदोहोरी, चलचित्र, राष्ट्रिय भाव, चाड पर्व, भाषाभाषी, भेग विशेष र भजन गीतहरुले भाग लिन पाउने छन् । गीतसँगै म्युजिक भिडियोको टिमले पनि भाग लिने पाउने छन् ।
कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलका अनुसार अवार्ड समारोहमा विभिन्न सम्मान पनि गरिने छ । संगीत, मोडलिङ र फेशनमा आजीवन योगदान दिएकाहरुलाई ‘आजीवन योगदान सम्मान’ र विशेष सम्मान प्रदान गरिनेछ ।
अवार्डमा भाग लिन चाहनेहरुका चैत १ बाटै आगामी ३० चैतसम्म फारम खुला गरिएको अवार्ड संयोजक सरिता भारतीले बताइन् । यो अवार्डमा सहभागी हुन चाहनेहरुले फारम भरेर आगामी वैशाख २ गतेसम्म आयोजकलाई बुझाईसक्नु पर्ने छ ।