वासिङ्टन- क्षयरोगको अत्यधिक संक्रामक अवस्थामा भेटिएकी एक अमेरिकी महिलाविरुद्ध सरकारले एरेस्ट वारेन्ट जारी गरेको छ। कारण- उनी उपचार गर्न अस्वीकार गरिरहेकी थिइन्।
उनको त्यस प्रवृत्तिलाई नागरिक अधिकारको अपमान मान्दै उनीविरुद्ध एरेस्ट वारेन्ट जारी गरिएको हो। वासिङ्टनस्थित टकोमा-पियर्स काउन्सटीको स्वास्थ्य विभागले प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हो। ४२ वर्षीया ती महिलालाई पियर्स काउन्टीको जेलमा राखिएको छ। र, त्यहीं उनको उपचार गरिने छ।
रोगी र आम नागरिकलाई जोखिममा पार्ने यस्ता घटना उल्लेख्य देखिएको स्वास्थ्य विभागका प्रवक्ता निगेल टर्नर बताउँछन्। र, ती महिलालाई पक्राउ गरेर भविष्यमा अन्य बिरामी आफैं उपचारका लागि राजी हुने अपेक्षा छ।
अदालतबाट गिरफ्तारी वारेन्ट लिएर यस्ता नागरिकलाई पक्राउ गरी उपचार गराउनु आफूहरूको अन्तिम उपाय भएको उनी बताउँछन्। अदालतमा १६ औं पटकको सुनुवाइपछि ती महिलालाई तीन विकल्प दिइएको थियो– औषधी सेवन गर, घरमै बस या जेलमा जाऊ। उनले दुई विकल्प अस्वीकार गरेपछि गिरफ्तारीको वारेन्ट जारी भएको हो।
निगरानी, परीक्षण र उपचारको प्रबन्धका कारण अमेरिकामा क्षयरोग विस्तारै दुर्लभ बनेको छ। तर, गम्भीर अवस्थामा पुगिसकेका बिरामीको लापरवाहीका कारण यसको तीव्र प्रसार हुने जोखिम उत्तिकै छ।
विश्वभर बर्सेनि १ करोड मानिस क्षयरोगबाट संक्रमित हुने गर्छन्। सन् २०२१ मा १६ लाख जनाको मृत्युको कारण क्षयरोग नै थियो। र, विश्वभर मृत्युको १३औं कारण बनेको थियो।
ती महिलाले उपचारका लागि किन अस्वीकार गरेकी हुन् भन्ने स्पष्ट छैन। उनले महिनाभरको उपचार पूरा गर्न अस्वीकार गरेकी थिइन्। ती महिलालाई जनवरी २०२२ मै आफ्नो घरमा अलग्गै बस्न अदालतले आदेश दिएको थियो। उनले त्यो आदेश मानिन्।
बीचमा उनी कार दुर्घटनामा परिन्। र, संक्रमित अवस्थामै उपचारका लागि अस्पताल पुगिन्। त्यसबाट अस्पतालकर्मीहरू नै क्षयरोगको जोखिममा परेका थिए।
पछिल्ला २० वर्षमा टकोमा-पियर्स काउन्टीका अधिकारीहरूले क्षयरोगको उपचार गर्न नमान्ने ती महिलासहित तीन जनामाथि कडा कारवाही माग गर्दै अदालतमा मुद्दा दायर गरेको छ।