काठमाडौं- छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट छोटो समयमा नै धेरै व्यक्तिमा सङ्क्रमण गर्ने खालको रहेको बताइएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक चीन र भारतमा देखिएको ‘बी एफ ७’ नामक प्रजातिको नयाँ भेरिएन्ट चाँडै नै अरुमा सार्ने खालको रहेको जनाएको छ। मन्त्रालयकै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले अध्ययनअनुसार कोरोना भाइरसको अरु प्रजातिभन्दा सो भाइरसले धेरै मानिसमा सङ्क्रमण सार्ने बताए।
उनका अनुसार ‘बी एफ ७’ ले अरु भेरिएन्ट भन्दा तीन–चारगुणा बढी सङ्क्रमण सार्ने गर्दछ। ‘चीन र भारतमा यस किसिमको नयाँ भेरिएन्ट फैलिरहेको छ। भारतमा पाँच जनामा देखिएको छ’, उनले भने, ‘भारतमा देखिएकाले हामी सतर्कता अपनाउनु पर्दछ।’
नेपालमा भने ‘बी एफ ७’ नामको नयाँ भेरिएन्ट अझै फेला नपरेको मन्त्रालयले जनाएको छ। एक महिनामा देशका विभिन्न ठाउँबाट सङ्कलन गरिएको ४८ नमुनाको जिन सिक्वेन्सिन गर्दा ‘बी एफ ७’ नामक प्रजातिको भेरिएन्ट फेला नपरेको हो।
मन्त्रालयले नयाँ भेरिएन्ट को जोखिम हुन नदिनका लागि नेपाल–भारत सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने यात्रुको ज्वरो नाप्ने, शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षण र जीन सिक्वेन्सिङ गर्ने कार्य गरिरहेको छ।