काठमाडौं- १६ वटा भारतीय औषधि उत्पादक कम्पनीहरूले विश्व स्वास्थ्य संगठनको जीएमपी (गुड म्यानुफ्याक्चरिङ प्राक्टिस) पालना नगरेको बताउँदै औषधि व्यवस्था विभागले सूचना जारी गरेकामा भारतीय दूतावासले आपत्ति जनाएको छ।
भारतीय दूतावासका उच्च अधिकारीहरूले औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईलाई भेटेरै उक्त सूचनाप्रति आपत्ति जनाएका हुन्।
विभागले बुधबार सूचना प्रकाशित गर्दै ती भारतीय कम्पनीले जीएमपी पालना नगरेको बताएको थियो। सूचीमा नाम प्रकाशित गरिएका कम्पनीहरूमध्ये योगगुरु रामदेवको दिव्य फार्मेसी पनि परेको थियो।
यस्तै, गुजरातका ५, उत्तराखण्डका ३, हिमाचलका २, तेलंगनाको १, नागपुरका २, महाराष्ट्रको १, कर्नाटकको १, सिक्किमको एउटा कम्पनीले जीएमपी पालना नगरेको विभागको दाबी छ।
तर, संसारभर आफ्ना कम्पनीले अपनाएको जीएमपी स्वीकृत हुने, नेपालमा भने किन नहुने भन्दै दूतावासका अधिकारीहरूले आपत्ति जनाएका हुन्।
काठमाडौंस्थित भारतीय दूतावासको पोलिटिकल विङ्सका फस्ट सेक्रेटरी नवीन कुमार र कमर्स विङ्सकी सेकेन्ड सेक्रेटरी सुमन शेखरले विभागका महानिर्देशक भट्टराइलाई भेटेरै आपत्ति जनाएको दूतावास उच्च स्रोतले नेपाली हेडलाइनलाई जानकारी दिएको छ।
आफ्ना कम्पनीलेहरूले विश्व स्वास्थ्य संगठनको जीएमपी पालना गरेको जिकिर उनीहरूले गरेका छन्।
विभागका सूचना अधिकारी सन्तोष केसीले भने आफूलाई यस विषयमा जानकारी नभएको बताए। विभागले जारी गरेको सूचनामा ती कम्पनीले जीएमपीका धेरै प्रावधानहरू मध्ये कुन विषयमा त्रुटि देखिएको हो भन्ने खुलाएको छैन। विश्व स्वास्थ्य संगठनको नीतिअनुसार कुनै पनि औषधि उत्पादक कम्पनीले जीएमपीको पूर्ण पालना नगरेको पाइए उसको उत्पादन प्रयोगको लागि पूर्ण सुरक्षित मानिँदैन।