काठमाडौँ । कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा छ जना घाइते भएका छन् ।
शुक्रबार साँझ जिल्लाको बाणगंगा नगरपालिका ३ सिउटीमा सो ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको हो । ४ नं तौलिहवा सडक खण्डमा भएको दुर्घटनामा चालक तथा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीयवासी अमर तङनामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए ।
ट्रकले ठक्कर दिँदा सडकमा हिँडिरहेका स्थानीय सागर पाण्डे, राजु चौधरी र कुलबहादुर घर्ती गम्भीर घाइते भएका छन् । उनीहरुको बुटवलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
ट्रकमा सवार थप तीन जना सशस्त्र प्रहरी जवान गोविन्द सुवेदी, जनक चौधरी र प्रेम मल्ल घाइते भएका छन् । उनीहरुको कपिलवस्तु सामूदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ ।
बस्ती नजिकै भएको दुर्घटनालगत्तै स्थानीयबासी र प्रहरीले घाइतेको उद्धार गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।