काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बुइपाका तीन जना आगामी मंसिर ४ गते हुने प्रदेशसभा सदस्यको चुनावी मैदानमा उत्रिएका छन् ।
नेकपा एमालेबाट पाँचकर्ण राई, नेकपा एकीकृत समाजवादी पार्टीबाट वीरबलकाजी राई र जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई प्रदेशसभा ‘क’मा उम्मेदवार बनेका हुन् ।
एकै वडाका तीन नेताले गत आइतबार आ आफ्नो राजनीतिक दलबाट र्यालीसहित दलबलका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । पाँचकर्ण र राकेश साविकको बुइपा गाविस वडा नं २ का स्थायी बासिन्दा हुन् भने, वीरबलकाजी साविकको बुइपा १ का हुन् ।
पाँचकर्ण काका र राकेश नातामा भतिजा हुन् । बुइपाबाट तीन नेता प्रदेशसभा सदस्यका लागि उम्मेदवार भएपछि आफन्तकै मत बाँडिने अनुमान गरिएको छ ।
एकै वडाका तीन नेताले टिकट पाउनुलाई दलहरूले संयोग भनेका छन् । जिल्लाको सबैभन्दा बढी मतदाता रहेको वडाका तीन नेताले एउटै पदमा उम्मेदवारी दिएपछि कसले बाजी मार्छन् भन्नेबारे निक्कै महत्वका साथ हेरिएको छ ।
उम्मेदवारी दर्तासँगै तीनैजना नेता चुनावी अभियानमा जुटेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा गरी २६ जनाको उम्मेदवारी कायम रहेको जिल्लामा तीन नेतासँगै सबै उम्मेदवारलाई मतदाताको घरमा पुग्ने, चुनावी कार्यक्रमसम्बन्धी योजना बनाउनेलगायतका चटारो सुरु भएको छ ।